Home / Feature Breaking news / स्थानीय तह निर्वाचन आज : घर आगनको सरकार चुन्दै मतदाता

स्थानीय तह निर्वाचन आज : घर आगनको सरकार चुन्दै मतदाता

दाङ, ३० वैशाख । आज शुक्रवार स्थानीय सरकार चुन्ने ऐतिहासिक दिन अर्थात् स्थानीय तह निर्वाचन २०७९ । नेपालको संघात्मक संविधानले व्यवस्था गरेका तीन तहका सरकारमध्ये सबैभन्दा बलियो सरकारको नेतृत्व चुन्न जनता आतुर छन् । यो ऐतिहासिक अवसरलाई व्यवस्थित र सुरक्षित बनाउन निर्वाचन आयोगले सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

जिल्लाका दश पालिका र एक सयवटा वडामध्ये ९९ वटा वडामा वैशाख ३० गतेका दिन निर्वाचन हुँदैछ । निर्वाचनको तयारीका सम्पू्र्ण काम पूरा भएको निर्वाचन आयोगले जनाएको छ । तुलसीपुर उपमहानगरपालिका—१७ मा भने जेठ ३ गते निर्वाचन हुने आयोगले बताएको छ । निर्वाचन कार्यालयले निर्वाचनका लागि आवश्यक पर्ने सामग्रीहरू मतदान केन्द्रमा पुगिसकेको जनाएको छ ।

जिल्लाका सबै पालिकामा निर्वाचनका सबै सामग्री पु¥याउने काम भइसकेको छ । मतदान केन्द्रमा पुगेका प्रतिनिधिहरूले मतदानका लागि आवश्यक पर्ने सम्पूर्ण तयारी गर्न थालिसकेका छन् । मतदान स्थललाई व्यवस्थित गर्नका लागि डोरी लगाउने, तारबार गर्नेजस्ता काम भइरहेको छ । जिल्लामा रहेका ९९ वटा वडाका मतदान केन्द्रमा तयारी गरिएको छ ।

निर्वाचनका लागि आवश्यक पर्ने सामग्री सहित पुगेका कर्मचारीले मतदान स्थल निर्माण गरिरहेका छन् । निर्वाचनको सुरक्षाका लागि तीन तहको सुरक्षा व्यवस्था मिलाइएको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ । निर्वाचनको पहिलो घेरामा नेपाल प्रहरीको नेतृत्वमा म्यादी प्रहरीको सुरक्षा परिचालन रहनेछ । यस्तै सशस्त्र र नेपाली सेनाले दोस्रो र तेस्रो घेराको सुरक्षा दिनेछन् ।

दाङ जिल्लामा एक सय ५३ स्थानमा मतदान स्थल रहेका छन् । ती स्थलमा चार सय ६१ वटा केन्द्र रहने छन् । जिल्लामा सबैभन्दा ठूलो केन्द्रका रूपमा घोराही उपमहानगरपालिकाको वडा नं. १५ मा रहेको काठेकोहल केन्द्र रहेको छ । जहाँ करिब १० हजार मतदाता रहेका छन् भने १० वटा मतदान केन्द्र रहेका छन् ।

हरेक गाउँपालिकामा दुई जना प्रहरी निरीक्षक सहितको सुरक्षाकर्मी रहेका छन् । त्यस्तै नगरपालिकामा डिएस्पीसहित प्रहरी निरीक्षकको जिम्मामा पठाइएको छ । उनीहरूको साथमा नेपाली सेना, सशस्त्र र म्यादी प्रहरीहरू समेत खटिएका छन् । मतपत्र, मतपेटिकासहित मतदानका लागि आवश्यक पर्ने सामग्रीसहित कर्मचारी र सुरक्षाकर्मीहरू जिम्मा पाएका मतदान स्थलमा गइसकेको मुख्य निर्वाचन अधिकृत न्यायाधीश रितेन्द्र थापाले जानकारी दिए ।

निर्वाचनको दिनमा पालिका प्रमुखका उम्मेदवारले चारपाङ्ग्रे एउटा गाडी पास लिएर मात्रै प्रयोग गर्न पाउने र पालिकाभन्दा बाहिर जान नपाउने भएकाले सोहीअनुसार कडाई गरिने पनि उनले जानकारी दिए । यसैगरी निर्वाचनमा मतदान गर्न नसक्नेहरूको विषयमा एकाघरमा एक जनाले भोट हाल्न पाउने, त्यसो हुन नसके निजले इच्छाएको व्यक्तिले भोट हाल्दिने र त्यो पनि हुन नसके मतदान अधिकृतले भोट हाल्ने व्यवस्था गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*