Home / Feature Breaking news / सहायक प्रअको शोकमा मावि लमडरुवा

सहायक प्रअको शोकमा मावि लमडरुवा

 छवि पुरी
दाङ, १६ फागुन । घोराही उपमहानगरपालिका–१० लमडरुवास्थित जनजागृति माध्यमिक विद्यालयको प्राङ्गणमा पुग्दा वातावरण स्तब्ध थियो । पढाइमा व्यस्त हुने विद्यार्थी र पढाउन तल्लीन हुने शिक्षकहरु भावुक थिए ।

विद्यार्थी सबैका आँखा मात्रै होइन आफ्नै सहकर्मी शिक्षक श्रीधर घिमिरेलाई अप्रत्यासितरुपमा गुमाउनुपर्दा शिक्षक कर्मचारीका पनि आँखा रसाएका थिए । आइतबार दिउँसो १ बजेको समयमा घोराही उपमहानगरपालिका वडा नं. १० मा रहेको जनजागृति मावि लमडरुवाको दृश्य हो, यो ।

विद्यालयले कुशल शिक्षक गुमाउनुको पीडा एकातिर थियो भने विद्यार्थीहरु पनि आफ्नो प्रिय शिक्षकलाई अब कहिले पनि जिज्ञासा राख्ने, नजानेको कुरा सोध्ने अनि आफ्नो अभिभावक सरह शिक्षक कक्षा कोठामा नपाउँदा गहभरी आँशु राखेर शोकसभामा सहभागी भएका थिए । जनजागृति माविमा अंग्रेजी विषय अध्यापन गर्दै आएका सहायक प्रअसमेत रहेका घिमिरेको बिहीबार फागुन १४ गते राति असामयिक र अकल्पनीय मृत्यु भएपछि विद्यालयले आयोजना गरेको शोकसभा आफैमा कारुणिक थियो ।

शोकसभामा बोल्ने शिक्षकहरुको बोली फुटिरहेको थिएन । स्वर कापिरहेको थियो । २०४५ सालमा स्थापित सो विद्यालयको स्तर माथि उठाउन, प्रशासनिक कामकाजलाई निकै प्रभावकारी बनाउन सफल भएका भएका शिक्षक घिमिरेलाई गुमाउँदाको पीडासँगै उनको योगदान शिक्षक विद्यार्थीहरुले स्मरण गरिरहेका छन् ।

२०६० सालमा निजी स्रोतबाट सेवा प्रारम्भ गरेका घिमिरेले १७ वर्षको अवधिमा थुप्रै नीतिगत सुधारमात्रै होइन विद्यार्थीहरुको शैक्षिकस्तर सुधारमा योगदान दिएको विद्यालयका प्रधानाध्यापक यमबहादुर डिसीले बताए । नियमितरुपमा अध्ययन गराउँदै आएका घिमिरेले २०६४ जेठ २ गते राहत शिक्षकका रुपमा विद्यालयमा काम शुरु गरेका थिए ।

२०७५ सालको नयाँ शैक्षिक सत्रबाट विद्यालयको सहायक प्रधानाध्यापकको जिम्मेवारी सम्हालेका घिमिरेले विद्यालयबाट थुप्रै विद्यार्थी उत्पादन गरेका छन् । अहिले सोही विद्यालयमा पनि उनका विद्यार्थीहरुले अध्यापन गराइरहेका छन् । विद्यालय व्यवस्थापन समिति अध्यक्ष बलबहादुर पुनको अध्यक्षतामा भएको शोकसभामा शिक्षिका लक्ष्मी न्यौपाने, विनिता बुढाथोकी, निवर्तमान प्रधानाध्यापक खगुलाल न्यौपाने, शिक्षक अभिभावक संघ लिला भट्ट र प्रधानाध्यापक यमबहादुर डिसीले आफ्ना अशल सहकर्मी गुमाउँदाको पीडा असह्य रहेको बताएका थिए ।

विद्यालयमा आयोजित शोकसभाको सहजीकरण विद्यालयका शिक्षक बुद्धिराम शर्माले गरेका थिए । विद्यालय परिवारले सोमबार प्रमुख जिल्ला अधिकारीसमक्ष घटनाको सत्य–तथ्य छानबिनका लागि तदारुकता दिन र न्यायपूर्ण कामका लागि पहल गरिनदिन माग गर्दै ज्ञापन–पत्र बुझाउने भएको छ ।

सहायक प्रधानाध्यापक घिमिरे फागुन १४ गते बिहान आफ्नै घरको आँगनमा मृत अवस्थामा फेला परेका थिए । घरको आँगनमै मृत भेटिएका आफ्ना सहकर्मी शिक्षकको मृत्यु हुनुमा कसैको हात हुनसक्ने भन्दै घटनाको बृहत अनुसन्धान हुनुपर्ने विद्यालयका शिक्षकहरुले माग गरेका छन् । हत्या गरेको हुनसक्ने शंकास्पद प्रमाण भेटिएको भन्दै उनीहरुले प्रहरी प्रशासनलाई तथ्य प्रमाणलाई आधार बनाएर अनुसन्धान गरी चित्त–बुझ्दो न्याय दिन माग गरेका छन् ।

विद्यालयको प्रधानाध्यापक डिसीका अनुसार घटना भएको घरको शौचालयमा प्रयोग हुने ब्रसमा रगत लागेको तथा बाथरुममा पनि रगत देखिएको छ भने फलामको रडमा पनि रगत पोतिएको भेटिएकाले घटना रहस्यमय रहेको छ । प्रहरीले ती तथ्य प्रमाण संकलन गरी अनुसन्धानका लागि लगेको परिवारले जानकारी दिएको छ ।

घिमिरेको मृत्यु घरको भ्mयालबाट खसेर निधन भएको प्रहरीले प्रारम्भिक जानकारी दिएको छ । तर यसको आधिकारिक रिपोर्ट आउन बाँकी छ । पोष्टमार्टम रिपोर्ट र घटनाको विस्तृत अध्ययनपश्चात् मात्रै यकिन कुरा भन्न मिल्ने प्रहरीको भनाइ छ । घटना भएको दिन घिमिरे घरमा एक्लै भएकाले पनि घटनाको बारेमा गहन अध्ययन भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*