Home / Feature Breaking news / ऐतिहासिक भोटेमेला लाग्ने

ऐतिहासिक भोटेमेला लाग्ने

तुलसीपुर, १७ फागुन । कुनै बेला दाङमा भोटेको मेला चर्चित थियो । जुम्लालगायतका क्षेत्रबाट भोटेहरु यहाँ आएर बस्ने र उनीहरुले नाच–गान र रमाइलो गर्नुका साथै घोडा दौड प्रतियोगिता गर्ने गरेका थिए । विशेषगरी शिवरात्रिदेखि शुरु हुने यो मेला दाङदेखि छिमेकी जिल्लाका मानिसहरुको लागि चर्चित मेलाको रुपमा लिने गरिथ्यो ।

भोटे–मेलाको त्यो जेरी, मिठाई अनि हिमालका जडिबुटीहरु नकिन्ने र नखाने कोही थिएनन् । त्यतिबेला प्रशस्त खाली जमिन र त्यसैमा भोटेहरुले घोडा चराउने र घोडा दौडका साथै धेरै जमघट हुँदै गर्दा–गर्दै पछि यो मेला चर्चित हुँदै गएको जानकार स्थानीय जोगेन्द्र विश्वकर्मा बताउँछन् । यहाँ रोल्पा, रुकुम, सल्यानलगायत छिमेकी भारतका व्यापारीहरु पनि यहाँ ६÷७ दिनसम्म व्यापार गर्न आउने गरेको उनी बताउँछन् । भोटेको मेला कुुनै बेला शिवरात्रिदेखि लाग्थ्यो । भोटेहरुले त्यहाँ एक किसिमको पर्वको रुपमा विभिन्न गतिविधिहरु गर्ने गरेका थिए ।

भोटे मेलामा घोडा दौडको प्रतियोगितामा प्रथम हुनेलाई उनीहरुले उपाधिसमेत दिने गरेको विश्वकर्मा बताउँछन् । धेरैजसो मानिस त्यहाँ घोडाहरु हेर्न पनि आउने गर्दथे । त्यस्तै विभिन्न लोक भाकाहरु पनि त्यहाँ प्रस्तुत हुने गरेका थिए । तर पछिल्लो समयमा ऐतिहासिक भोटेको मेला लाग्नै छोड्यो ।

‘ऐतिहासिक मेला द्वन्द्वकालपछि बन्द नै भयो । तर पछिल्लो समयमा स्थानीय वडाले भने ऐतिहासिक भोटेको मेलालाई जीवित बनाउने काम गरेको छ, गत बर्षदेखि पुनः भोटेमेला लाग्न शुरु भएको छ । पहिलेको जस्तो महत्वपूर्ण र रोचक नभए पनि इतिहासलाई भने फेरि फर्काउन शुरु गरिएको छ ।

यसैबीच दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ स्थित कालाखोलामा आन्तरिक पर्यटन प्रवद्र्धनका लागि ऐतिहासिक भोटे मेला–२०७७ हुने भएको छ । तुलसीपुर एक्सप्रेस प्रा.लि.को आयोजना तथा रानीघाट युवा क्लवको सह–आयोजना एवं तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ को संरक्षणमा उक्त मेला हुन लागेको हो । ऐतिहासिक भोटे मेला यही फागुन २६ गतेदेखि चैत २ गतेसम्म सञ्चालन हुन लागेको आइतवार तुलसीपुरमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ ।

मेला संरक्षण समितिका अध्यक्ष एवं वडा नं. ७ का अध्यक्ष टोपबहादुर केसीले दाङमा लाग्ने मेलामध्ये भोटे मेला पुरानो र महत्वपूर्ण मेलाको रुपमा लिने गरिएको भन्दै त्यसको सुरुवात गरिएको बताए । बर्षौ पहिलेदेखि लाग्दै आएको भोटे मेला तत्कालीन माओवादी सशस्त्र द्वन्द्व चरम उत्कर्षमा पुगेको समयमा वि.सं. २०५६ सालदेखि लाग्न छोडेको थियो । ‘हिमालका मानिसहरु यहाँ घोडा तथा विभिन्न जडिबुटी ल्याएर व्यापारका लागि आउथे’, केसीले भने– ‘त्यसले हिमाल र तराईलाई जोड्ने काम गर्दथ्यो ।’

भोटे मेला कहिलेदेखि लाग्न थालेको हो भन्ने एकिनका साथ भन्न सक्ने अवस्था नभए तापनि पुरानो परम्परालाई निरन्तरता दिन र पर्यटन प्रवद्र्धनमा सघाउ पुगोस् भनेर गत वर्षदेखि पुनः भोटे मेला सञ्चालन गर्न लागेको केसीले जानकारी दिए । भोटे मेला सास्ंकृतिक समिति संयोजक दीपक कुमालले मेलामा लोक दोहरी प्रतियोगिता, घोडादौड प्रतियोगिता आयोजना गरिने र विजेतालाई पुरस्कार प्रदान गरिने जानकारी दिए । उनका अनुसार यस वर्ष तुलसीपुर उद्योग वाणिज्य संघको सहकार्यमा विभिन्न उद्योगका स्टलहरु राखिने छ ।

मेलामा गायक पुष्कल शर्मा, गायिका भूमिका गिरी, सिर्जु अधिकारी, गायक देवेन्द्र बस्नेत, गोबिन्द मधुर आचार्य, बाल कलाकार आयुसा गौतम, सचिन परियारलगायतका कलाकारहरुको सहभागिता रहने सांस्कृतिक समिति सदस्य प्रेम विवश घर्तीले जानकारी दिएका छन् । उनका अनुसार ६ दिनसम्म सञ्चालन हुने मेलामा स्थानीय कलाकारहरुलाई विशेष स्थान दिइने छ ।

मेलामा विभिन्न जातजातिका भेषभूषासहितको झाँकी जुलुस पनि निकाल्ने मेला आयोजक तुलसीपुर एक्सप्रेस प्रा.लि.का अध्यक्ष दोर्ण आचार्यले जानकारी दिए । साथै उक्त मेलामा आउने दर्शकले मास्क अनिवार्य लगाउनुपर्ने छ । पत्रकार सम्मेलन रिपोर्टस् क्लव दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*