Home / Feature Breaking news / स्मार्ट सिटीका कुरा गर्ने कार्यालयमा विद्युत काटिदा कहाँ लुके : नेता गिरी

स्मार्ट सिटीका कुरा गर्ने कार्यालयमा विद्युत काटिदा कहाँ लुके : नेता गिरी

दाङ,१५ बैशाख । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दीपक गिरीले स्मार्ट सिटीका कुरा गर्नेहरु विद्युत महशुल तिर्न नसकेर उपमहानगरपालिकाको विद्युत काटिदा लुकेको बताएका छन् ।

नेपाल प्रेस युनियन र प्रेस सेन्टर नेपालले संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता गिरीले विद्युत महशुल तिर्न नसकेर स्थानीय सरकारको विद्युत काटिदा जनताको बदनाम भएको बताए । ‘एउटा सामन्य नागरिकलाई विद्युत महशुल कहिले तिर्ने भन्ने थाहा हुन्छ ? तर हाम्रो स्थानीय सरकारलाई त्यो थाहा हुँदैन’,पूर्वमन्त्री गिरीले भने,‘स्थानीय सरकारको कार्यालयमा लाइन काटिदा न थाहा पाउने जनप्रतिनिधिबाट कसरी विकास सम्भव हुन्छ ?’

त्यसैगरी नेता गिरीले कुइरेपानी–घोराही–तुलसीपुर फोरलेन सडक कस्का कारण अलपत्र परेको छ भन्दै जनतालाई प्रश्न गर्न आग्रह गरेका छन् । निर्माण व्यवसायीको लापरवाहीका कारण जिल्लाको मुख्य सडक अलपत्र पर्दा जनताले सास्ती खेप्नु परेको भन्दै सडक निर्माणमा भएको ढिलासुस्ती बारे बोल्न आग्रह गरे ।

‘इण्डियन ठेकेदारले निर्माणको जिम्मा पाएको फोरलेन सडकको जिम्मा कसरी नेपाली निर्माण व्यवसायीको हातमा आयो र किन ढिलाई भैरहेको छ ?’,नेता गिरीले भने,‘ यसतर्फ गम्भीर रुपमा सोच्न आवश्यक छ ।’ उनले अहिले सडक निर्माणको काम भैरहेको बहना गर्ने र कालो सूचीबाट बच्नका लागि २÷४ वटा जेसीवी र स्काभेटर सडकमा काम गरेर जस्तो देखाएर नाटक गर्ने काम भैरहेको आरोप लगाएका हुन ।

नेता गिरीले लोकतन्त्रको रक्षाका लागि गठबन्धनलाई वलियो बनाउनुपर्नेमा जोड दिएका थिए । उनले द्वन्द्वकालीन कुरा विर्सेर स्थानीय तह निर्वाचनमा नेता तथा कार्यकर्ताहरुलाई गठबन्धनका उम्मेदवारलाई जिताउन लाग्न समेत आग्रह गरेका थिए । पत्रकार सम्मेलन प्रेस युनियन दाङका कार्यवाहक अध्यक्ष नारायण खड्काको अध्यक्षतामा भएको थियो । कार्यक्रमको सन्चालन प्रेस सेन्टर नेपाल दाङका अध्यक्ष पाण्डव शर्माले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*