Home / Feature Breaking news / स्थानीय तह निर्वाचन : प्रमुख पदमा जिल्लाभर ११ महिला उम्मेद्वार

स्थानीय तह निर्वाचन : प्रमुख पदमा जिल्लाभर ११ महिला उम्मेद्वार

लिलाधर वली
दाङ, १५ बैशाख । स्थानीय तह निर्वाचनका लागि दाङ जिल्लाभर ११ जना महिलाहरुले प्रमुख पदमा उम्मेदवारी दर्ता गराएका छन् । जिल्लाका दश स्थानीयमध्ये ६ स्थानीय तहहरुमा ११ जना महिलाहरुले प्रमुखमा उम्मेदवारी दर्ता गराएका हुन् । निर्वाचन कार्यालयका अनुसार दश स्थानीय तहका प्रमुखका लागि विभिन्न पार्टी र स्वतन्त्र गरी ८७ जनाको उम्मेदवारी परेको छ ।

नेपाली कांग्रेस, एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत साना दल र स्वतन्त्र गरी ११ जना महिलाले प्रमुखमा दाबी गर्दै उम्मेदवारी दर्ता गराएको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ । प्रमुख पदमा नेपाली कांग्रेस पार्टीबाट एकजना, एकीकृत समाजवादीबाट दुई जना, मंगोल नेशनल अर्गनाईजेशनबाट तीन जना, नागरिक उन्मुक्ति पार्टीबाट दुई जना, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दुईजना र एक जना महिलाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएको प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले बताए ।

नेपाली कांग्रेसबाट राप्ती गाउँपालिकाको अध्यक्षमा जगदम्बाकुमारी चौधरीेले उम्मेदवारी दर्ता गराएकी छिन् । उनी २०७४ सालको स्थानीय तह निर्वाचनमा उपाध्यक्षमा निर्वाचित भएकी थिइन् । त्यसैगरी राप्ती गाउँपालिकामा एकीकृत समाजवादीबाट सीता नेपालीको उम्मेदवारी परेको छ । राप्ती गाउँपालिका अध्यक्षका लागि ४ जनाको उम्मेदवारी परेको छ । एकीकृत समाजवादीले लमही नगरपालिकामा शान्ता घिमिरेलाई उम्मेदवारी बनाएको छ । लमहीको प्रमुखका लागि उम्मेदवारी दर्ता गराउने ८ उम्मेदवारमध्ये घिमिरे एक्ली महिला हुन् ।

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीबाट घोराही उपमहानगरपालिकाको प्रमुखमा सरिता देवकोटा र तुलसीपुर उपमहानगरपालिकाको प्रमुखमा जगधनी चौधरी, मंगोल नेशनल अर्गनाइजेशनबाट घोराही उपमहानगरपालिकामा कल्पना चौधरी, तुलसीपुर उपमहानगरपालिकामा जया घर्तीमगर र बंगलाचुली गाउँपालिकामा गीताकुमारी पुन, नागरिक उन्मुक्ति पार्टीबाट घोराही उपमहानगरपालिकामा शान्ता चौधरी र तुलसीपुर उपमहानगरपालिकाको प्रमुखमा प्रभा चौधरी र दंगीशरण गाउँपालिकाको अध्यक्षमा स्वतन्त्ररुपमा आशा केसीले उम्मेदवारी दर्ता गराएको निर्वाचन कार्यालयले जनाएको छ ।

घोराही उपमहानगरपालिकाको प्रमुखमा १५ जना, तुलसीपुर उपमहानगरपालिकाको प्रमुखमा १२ जना, दंगीशरण गाउँपालिकाको अध्यक्षमा दशजना र बंगलाचुली गाउँपालिकाको प्रमुखमा ४ जनाको उम्मेदवारी परेको छ । लामो समयदेखि शिक्षा क्षेत्रमा संलग्न देवकोटालाई राप्रपाले घोराहीको प्रमुखमा निर्वाचन लड्न उम्मेदवार बनाउने भएपछि केही दिनअघि मात्रै कांग्रेस छोडेर राप्रपामा प्रवेश गरेकी थिइन् ।

प्रमुख र उपप्रमुखमा २० जनाको स्वतन्त्र उम्मेदवारी

स्थानीय तह निर्वाचनका लागि जिल्लाका दश स्थानीय तहमध्ये ९ स्थानीय तहको प्रमुख र उपप्रमुख पदमा २० जनाको स्वतन्त्र उम्मेदवारी परेको छ । प्रदेश निर्वाचन कार्यालयका अनुसार घोराहीको प्रमुखमा ३ र उप्रमुखमा १, तुलसीपुर उपमहानगरपालिकाको प्रमुखमा १ र उपप्रमुखमा २, दंगीशरण गाउँपालिकाको अध्यक्षमा ४, राप्ती गाउँपालिका र गढवा गाउँपालिकाको अध्यक्षमा २÷२ र उपाध्यक्षमा १, लमही नगरपालिकाको प्रमुख, राजपुर गाउँपालिका र शान्तिनगर गाउँपालिकाको प्रमुखमा १÷१ र बबई गाउँपालिकाको उपप्रमुखमा १ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

जिल्लाका दश स्थानीय तहमा ५ सय २० पदका लागि २ हजार ४ सय १२ जनाको उम्मेदवारी परेको छ । सबैभन्दा धेरै तुलसीपुर उपमहानगरपालिकामा ५ सय ३२ जना, घोराही उपमहानगरपालिकामा ४ सय ४० जना, दंगीशरण गाउँपालिकामा १६२ जना, बबई गाउँपालिकामा १ सय ५७ जना, राजपुर गाउँपालिमा १ सय ८८ जना, राप्ती गाउँपालिकामा २ सय ३३ जना, गढवा गाउँपालिकामा १ सय ९५ जना, लमही नगरपालिकामा १ सय ४७ जना, शान्तिनगर गाउँपालिकामा १ सय ३६ जना र बंगलाचुली गाउँपालिकामा १ सय १५ जनाले उम्मेदवारी दर्ता गराएको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।

वडाअध्यक्षदेखि सबै एमालेका महिला उम्मेदवार

गढवा गाउँपालिका ५ मा नेकपा एमालेले वडा अध्यक्षसहित सबै पदमा महिला उम्मेदवार बनाएको छ । वडा अध्यक्षमा सीता थापा, महिला सदस्यमा वर्षा पाण्डे, दलित महिला सदस्यमा जिवी विक, खुल्ला सदस्यमा शान्ति चौधरी र प्रतिमा चौधरी उम्मेदवार छन् । जिल्लाका १ सय वडामा सबै महिला उम्मेदवार भएको एक मात्र वडा हो ।

जनप्रतिनिधिविहीन वडा

यसैविच घोराही उपमहानगरपालिका–१८ मा २०७४ सालमा निर्वाचित पाँच जना जनप्रतिनिधिहरु पुन : निर्वाचनमा लड्नका लागि उम्मेदवारी दर्ता गरेपछि वडा जनप्रतिनिधि विहिन भएको छ । वडा अध्यक्ष भरतमणि अर्याल, सदस्यहरु कृष्णप्रसाद घर्ती, बुद्धिप्रकाश चौधरी, लैया चौधरी र दीपा नेपालीले जनप्रतिनिधिबाट बैशाख ११ गते राजीनामा दिएर पुनः उम्मेदवारी दर्ता गराएपछि वडा जनप्रतिनिधि विहिन भएको निमित्त वडा सचिव सुवास चौधरीले बताए । वडामा जनप्रतिनिधि नभएपछि सम्पूर्ण काम कर्मचारीबाटै हुन थालेका हो । अर्यालसहितका सदस्यहरु नेकपा एमालेबाट २०७४ सालमा वडामा निर्वाचित भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*