Home / Feature Breaking news / शेखरको विज्ञप्ति : आर्थिक चलखेल गरेर टिकट वितरण गर्दा इमान्दार कार्यकर्ता पीडामा
फाईल तस्वीर

शेखरको विज्ञप्ति : आर्थिक चलखेल गरेर टिकट वितरण गर्दा इमान्दार कार्यकर्ता पीडामा

पाली कांग्रेसका नेता डा. शेखर कोइरालाले स्थानीय तह निर्वाचनका लागि पार्टीले गरेको टिकट वितरणप्रति असन्तुष्टि जनाएका छन् । बुधबार विज्ञप्तिमार्फत टिकट वितरण कार्यमा जिम्मेवारी पाएकाहरूले कार्यकर्ताहरूप्रति समानरूपले न्याय गर्न नसकेको बताएका हुन् ।

टिकट वितरणमा पार्टीले न्याय गर्न नसक्दा जीवनभर कांग्रेसको सिद्धान्त, मूल्य-पद्धति र आदर्शप्रति समर्पित नेता-कार्यकर्ता अन्य पार्टीमा ओत लाग्न पुगेको उनको भनाइ छ । स्वतन्त्र उमेदवारको रूपमा चुनावी मैदानमा जान बाध्य नेता-कार्यकर्तालाई उनले कांग्रेसको मुल प्रवाहमा फर्किन आग्रह गरेका छन् ।

 

‘टिकट वितरणमा एउटा मापदण्ड बनाइ अगाडि बढ्दा सबैप्रति न्याय गर्न सकिने छ भनी हामीले बारम्बार केन्द्रीय समिति, कार्यसम्पादन समिति र सामूहिकरूपमा साथीहरूबीच उठाएका थियौँ, तर हाम्रो कुरा ध्यानपूर्वक सुनिएन,’ विज्ञप्तिमा भनिएको छ, ‘अहिले दुःखको साथ भन्नुपर्छ टिकट वितरण कार्यमा जिम्मेवारी पाएका साथीहरूले पार्टी कार्यकर्ताहरूप्रति समानरूपले न्याय गर्न सक्नुभएन ।’

त्यस्तै टिकट वितरणमा आर्थिक चलखेल र अनियमितताका कुराहरू सार्वजनिक भइरहेको कोइरालाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*