Home / Feature Breaking news / स्थानीय सरकारप्रति जनताको आशा छ : प्रधानमन्त्री देउवा

स्थानीय सरकारप्रति जनताको आशा छ : प्रधानमन्त्री देउवा

राप्ती गाउँपालिकाको भवन
देउखुरी, २६ चैत । प्रधानमन्त्री शेरबहादुर देउवाले राप्ती गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गरेका छन् । राप्ती गाउँपालिकाको लालमटियामा ८ करोड ४४ लाख ८१ हजार ६ सय ३६ रूपैयाँमा निर्माण भएको चारतले भवनकोे शुक्रवार भर्चुअलका माध्यमबाट प्रधानमन्त्री देउवाले उद्घाटन गरेका हुन् । चारतले भवनमा दुईवटा सभाहलसहित सुविधासम्पन्न ४४ वटा कोठाहरू रहेका छन् ।

नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले स्थानीय सरकारबाट जनताले धेरै आशा गर्ने गरेको भन्दै स्थानीय तहलाई जनताको आशा पूरा गर्ने गरी काम गर्न आग्रह गरेका छन् । ‘स्थानीय सरकार जनताको घरदैलोको सरकार हो, त्यसैले घरदैलोको सरकारबाट धेरै आशा गरेका हुन्छन्’, प्रधानमन्त्री देउवाले भने, ‘जनताको चाहनाअनुसार स्थानीय सरकारले काम गर्नु पर्छ ।’

उनले संघीयतासँगै सिंहदरबारको अधिकार गाउँ–गाउँमा गएको भन्दै गाउँमा गएको अधिकारलाई सही रूपमा प्रयोग गरेर जनतालाई छिटो र सहज रूपमा सेवा दिन आग्रह गरे । तर, कतिपय ठाउँमा पूर्वाधार अभावका कारण सेवा प्रवाहमा समस्या हुने गरेको समेत बताए । ‘सेवा प्रवाहका लागि सुविधासम्पन्न भवन आवश्यक पर्छ तर सबै स्थानीय तहमा भवन छैनन्’, प्रधानमन्त्री देउवाले भने, ‘राप्ती गाउँपालिकाले सुविधासम्पन्न भवन निर्माण गरेको छ, त्यसका लागि पालिकालाई धन्यावाद दिन चाहान्छु ।’ उनले सुविधा सम्पन्न भवनबाट जनतालाई सर्वशुलभ रूपमा गुणस्तरीय सेवा छिटो र छरितो रूपमा प्रवाह गर्नमा ध्यान दिन आग्रह गरेका थिए ।

कार्यक्रममा लुम्बिनी प्रदेशका परिवार, कल्याण तथा जनसंख्या मन्त्री इन्द्रजित चौधरीले स्थानीय तहले जनतालाई घरदैलोमै सरकारको अनुभूति गराउने गरी काम गर्नुपर्ने बताए । संघीयता कार्यान्वयनको पहिलो कार्यकाल सकिँदै गर्दा जनताले घरदैलोमा सरकारको अनुभूति गर्ने गरी स्थानीय तहहरूले काम गर्नुपर्ने भन्दै त्यसको अनुभूति राप्ती गाउँपालिकाले जनतालाई गराएको बताए ।

प्रदेशदेखि स्थानीय पालिकाहरूको पहिलो कार्यकाल पूर्वाधारको जग बसाल्नमै सकिएको भन्दै अबको कार्यकालले जनतालाई विकासको अनुभूति गराउने समेत चौधरीले बताए । ‘स्थानीय तहदेखि प्रदेश सरकारहरूको पहिलो कार्यकाल पूर्वाधार निर्माण गरेर जग बसाल्नमै सकिएको छ’, मन्त्री चौधरीले भने, ‘अबको कार्यकालमा विकासको अनुभूति गर्न पाउने छन्, त्यसमा जनप्रतिनिधिहरूको ध्यान जानेछ ।’ स्थानीय सरकारमार्फत् केन्द्रको अधिकार जनताको घरदैलोमा आएको भन्दै मन्त्री चौधरीले जनताले आफ्नो अधिकारको उपभोग गर्ने गरी काम गर्न आग्रह गरेका थिए । साथै उनले प्रदेशको राजधानीका रूपमा रहेको पालिकाले देखिने गरी काम गर्नुपर्ने समेत बताए ।

राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीको अध्यक्षतामा भएको कार्यक्रमकमा बोल्ने अन्य वक्ताहरूले प्रदेशको राजधानीका रूपमा रहेको राप्तीको विकासका लागि सबैका बीचमा एकता आवश्यक रहेको बताएका थिए । जनतालाई सेवा प्रवाह गर्नका लागि स्तरीय प्रशासनिक भवन नहुँदा सेवा प्रवाहमा समस्या हुने गरेको भन्दै नयाँ भवन निर्माणले सहज हुने बताएका थिए । आन्तरिक राजस्व वृद्धि गर्दै, प्राकृतिक स्रोत र साधनको सही सदुपयोग गर्नसके जनतालाई सेवा दिन सहज हुने सुवेदीले बताए ।

त्यस्तै उनले संघीयता कार्यान्वयनका लागि तीनै तहका सरकार बीच सहकार्य आवश्यक रहेको धारणा राखेका थिए । प्रदेश राजधानीका रूपमा रहेको राप्ती उपत्यकाको विकाससँगै राजधानी ल्याउनका लागि सबैको प्रतिनिधित्व हुने गरी राजधानी सरोकार समिति बनाएर स्थायी राजधानीमा प्रदेशका मन्त्रालयलगायतका संरचना ल्याउन दबाब आवश्यक रहेको कुरामा उनले जोड दिएका थिए ।

कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य तथा संसदीय मामिला समितिकी सभापति दामा शर्मा, संविधानसभा सदस्य सुशीला चौधरी, प्रदेशसभा सदस्य रेवतीरमण शर्मा, लुम्बिनी प्रदेशका मुख्यमन्त्रीका प्रमुख सल्लाहकार अमरबहादुर डाँगी, राप्ती गाउँपालिका अध्यक्ष लोकराज केसी, राप्ती गाउँपालिका प्रवक्ता विद्याशरण चौधरी, राप्ती गाउँपालिका वडा नं. १ का अध्यक्ष ताराबहादुर डिसीलगायतले बोलेका थिए । राप्ती गाउँपालिका प्रशासकीय अधिकृत शोभाराम रिजालले भवनका बारेमा सबैलाई जानकारी गराएका थिए ।

राप्ती गाउँपालिका उपाध्यक्ष जगदम्बा चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण शिवा, युवा तथा खेलकुद शाखाका प्रमुख विश्वास विश्वकर्माले गरेका थिए । कार्यक्रममा बालबालिकाहरूले नृत्य समेत प्रस्तुत गरेका थिए । कार्यक्रममा भवन निर्माणमा सहयोग गर्ने विभिन्न निकायलाई सम्मान गरिएको थियो । कौशिल बस्नेत÷नवसिर्जनशील÷स्टेट जेभी काठमाडौंले भवन निर्माण गरेको हो । २०७६ पुस २५ गते सम्झौता गरेको कम्पनीले २०७८ मंसिर २६ गते निर्माण सम्पन्न गरेको थियो । सुविधासम्पन्न अपाङ्गमैत्री भवनमा लिफ्टको समेत सुविधा रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*