Home / विचार / महामारीमा मानसिक स्वास्थ्य र तनाब व्यवस्थापन

महामारीमा मानसिक स्वास्थ्य र तनाब व्यवस्थापन

लक्ष्मी ढकाल धिताल
कोभिड–१९ ले सबैतिर आतंक फैलाएको छ ।विश्व स्वास्थ्य संगठनले कोरोना महामारीका कारण डिप्रेसन, एन्जाइटी, डिसअर्डरजस्ता मानसिक स्वास्थ्य समस्या बढी मद्यपान तथा आत्महत्याको संख्यामा वृद्धि हुने भविष्यवाणी गरिसकेको छ ।
हाम्रो मुलुकमा भने मानसिक स्वास्थ्य समस्याबारे जनमानसमा नकारात्मक सोच/बुझाइ छ र सरकारले पनि मानसिक समस्याको रोकथाम र उपचारमा अपेक्षित प्राथमिकता दिन सकेको छैन ।
यस विषयमा बढी सचेतता किन अत्यावश्यक छ भने, कोरोना महामारी तथा लामो समयको लकडाउनले गर्दा आम मानिसको मनोविज्ञान, पारिवारिक जीवन, सामाजिक क्रियाकलाप, व्यवसाय, रोजगारी लगायतमा उब्जेको अत्यन्त प्रतिकूल परिस्थितिका कारण आउने दिनमा आत्महत्या दर वृद्धि हुँदै जान्छ ।
आत्महत्या मानसिक स्वास्थ्य समस्या हो । मानसिक तनाव सबैजसो व्यक्तिलाई हुने गर्छ, मात्रा घटीबढीको मात्र कुरा हो । कसैमा यो निदान भएको हुन्छ त कसैमा नभएको अवस्थामा । अहिलेको विषम परिस्थितिले सबैमा तनाव ह्वात्तै बढाइदिएको छ । बाहिरी वातावरणमा उत्पन्न तनावलाई वहन गर्न असमर्थ हुँदै गएपछि व्यक्तिविशेष आत्महत्यातर्फ उत्प्रेरित हुन थाल्छ । अनि योजनाबद्ध रूपमा अथवा आवेशमा आएर आत्महत्या गर्ने गर्छ । आत्महत्या बढीजसो युवा र पुरुषले गर्ने गरेका छन् ।
हाम्रो देशमा मानसिक स्वास्थ्यबाहेक गरिबी, बेरोजगारी, परीक्षामा असफलता, सम्बन्धविच्छेद, आर्थिक समस्या, सामाजिक विभेद, लैंगिक एवं यौनजन्य हिंसा, वैदेशिक रोजगारीको बाध्यताजस्ता सामाजिक समस्याहरूले पनि व्यक्तिविशेषमा तनाव बढाउने गरेका छन् । यसबारे समयमै परामर्श गर्न नसक्नाले र अहिले कोरोना त्रास थपिएकाले पनि आत्महत्याको जोखिम बढिरहेको हो ।
तनाव व्यवस्थापन
अहिलेको अप्ठ्यारो अवस्थामा हामीले आफ्नो तनावको व्यवस्थापन सकारात्मक तवरले गर्नु जरुरी छ । नकारात्मक समाचारहरूमा मन नलगाई आवश्यक जानकारी र अपडेटका लागि विश्वसनीय समाचार स्रोतहरू (जस्तै— विश्व स्वास्थ्य संगठन वा स्वास्थ्य मन्त्रालय) मा भर पर्नु उपयुक्त हुन्छ ।
पहिलेदेखि मानसिक स्वास्थ्य समस्या, विशेषतः डिप्रेसन, भएका व्यक्तिहरूले नियमित रूपमा चिकित्सक अथवा परामर्शविद्को सहयोग लिनुपर्छ । मृत्युबारे कुरा गर्ने, मर्न खोज्ने वा डोरी अथवा कीटनाशक औषधि साथमा राख्ने, अब आफू बाँच्नुको कुनै सार छैन भन्ने महसुस गर्नेजस्ता आत्महत्याको चेतावनीका संकेत भएकाहरूलाई परिवार वा आफन्तले सहयोग गरिरहनुपर्छ । सकिन्छ भने उनीहरूको आधारभूत आवश्यकतामा सघाउ पुर्याउनुपर्छ । उनीहरूलाई सक्रिय जीवनयापनका लागि सुझाव दिनुपर्छ । शारीरिक व्यायाम, मनोरञ्जनका लागि खेलकुद वा नाचगानमा प्रेरित गर्नुपर्छ । घरको सरसफाइमा व्यस्त राख्नुपर्छ ।
तालिका बनाएर नियमित दिनचर्यामा बस्न लगाउनुपर्छ । दिउँसो होइन, राति मात्र सुत्ने प्रेरणा दिनुपर्छ । अनलाइन पाठ्यक्रम, रचनात्मक क्रियाकलापमा व्यस्त राख्नुपर्छ । तनाव कम गर्न योगाभ्यास वा ध्यान गर्न लगाउनुपर्छ । युट्युबमा हेर्दै ‘रिल्याक्सेसन’ व्यायाम पनि गराउन सकिन्छ । अथवा, त्यस्ता व्यक्तिमा कुनै नयाँ रुचि जागेको भए पनि त्यसमा मद्दत गर्नुपर्छ । सामाजिक दूरी कायम राख्दै विभिन्न सञ्चारका माध्यमबाट आफन्त र साथीभाइसँग संवादमा रहन लगाउनुपर्छ ।
अत्यधिक तनाव वहन गर्न कठिनाइ परेको भए नेपालमै पनि उपलब्ध टेलिमेडिसिन, अनलाइन वा हटलाइनमार्फत सेवा उपलब्ध गराउनुपर्छ । सकिन्छ भने चिकित्सक, मनोचिकित्सक वा मनोविद्हरूबाट परामर्श दिलाउनुपर्छ ।
वास्तवमा आत्महत्या रोकथामका लागि राज्यकै दायित्व महत्त्वपूर्ण हुन्छ । राज्यले आत्महत्याको कारण र रोकथामबारे जनचेतनामूलक कार्यक्रम र चौबीसै घण्टा हटलाइन तथा काउन्सेलिङ सेवा सुचारु गरी सातै प्रदेश तथा स्थानीय निकायसम्म सेवा दिन सके कोरोना
महामारीका कारण कमजोर मनोविज्ञान
विकसित भइराखेका दाजुभाइ–दिदीबहिनीलाई आत्महत्या गर्नबाट रोक्न सकिन्छ । यसका लागि आम नेपाली पनि सचेत हुनुपर्छ । हामीले आआफ्नो क्षेत्रबाट सकारात्मक भूमिका वहन गर्न सके आत्महत्याजस्तो अकाल मृत्युबाट अहिलेको युवा पिँढीलाई बचाउन सक्छौं । कोरोना महामारीपछि पनि हाम्रो शारीरिक, मानसिक र सामाजिक स्वास्थ्य राम्रै रहोस् भन्नका लागि यो चुनौतीलाई डटेर सामाना गर्ने मनोविज्ञानको विकास गरौं । समग्रमा राष्ट्र र विश्वकै कल्याणमा योगदान पुर्याउन सक्ने कार्यमा जुटौं ।
(मनोविमर्शकर्ता)
नेपाल महिला सामुदायिक सेवा केन्द्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*