घोराही, ३ साउन
परियार सेवा समाज दाङको जिल्ला सम्मेलन साउन ७ गते घोराहीमा हुने भएको छ । सम्मेलन संयोजक केशव नेपाली परियारले सात गते शनिवार घोराहीमा परियार सेवा समाजको प्रथम जिल्ला सम्मेलन गर्न लागिएको जानकारी दिए । उनका अनुसार घोराही स्थित दाङ जिल्ला उद्योग वाणिज्य संघको सभाकक्षमा सम्मेलन हुने छ ।
दुईसय भन्दा बढि परियार समुदायका प्रतिनीधिहरु सहभागी हुने उक्त सम्मेलनले परियार् सेवा समाजको दाङ जिल्ला नेतृत्व समेत चयन गर्ने छ । जिल्ला समिति चयन संगै वडा तहमा पनि संयोजक तोकेर संगठनलाई बिस्तार गरिने समेत संयोजक केशव नेपाली परियारले जानकारी दिए । ‘हामीहरु परियार सेवा समाजलाई बिस्तार गरेर जिल्लाभरी कै परियार समुदायका नागरिकहरुलाई संगठीत गर्ने अभियानमा छौँ,’ संयोजक नेपालीले भने ‘जिल्ला सम्मेलन मुख्यतः यहि बिषयमै केन्द्रीत हुने छ ।’ सम्मेलनमा परियार समुदायको अहिलेको अवस्था, समस्या पहिचान र समाधान तथा परियार समुदायलाई मुलधारमा ल्याउनका लागि रणनीति अपनाउन वृहत छलफल गरिने छ । ‘
साँच्चै भन्नु हुन्छ भने परियार समुदायका नागरिकहरु अहिले हरेक क्षेत्रमा पछाडी परिरहेको अवस्था छ,’संयोजक नेपालीले भने ‘मेरो पहलमा जिल्ला सम्मेलन गरेर यहाँका परियार समुदायका नागरिकहरुको बृहत्तर भलाईका लागि सम्मेलनै गरेर यो बिषयलाई जोडतोडले उठाउन खोजेको हुँ ।’ उनले यो सम्मेलन परियार समुदायका लागि निकै फलदायि हुने समेत दाबी गरे । नेपालीका अनुसार परियार समुदायका युवाहरु रोजगार अभावमा पलायन भएको समस्या मुख्य रुपमा रहेको छ । युवाहरुलाई स्वदेशमै रोजगार दिलाउनका लागि के कस्ता रणनीति अपनाउने भन्ने बिषयमा पनि सम्मेलन केन्द्रीत हुने छ । यसैगरि सम्मेलनमा जिल्लाका परियार समुदायका ५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान पनि गरिने छ ।
जिल्ला सम्मेलनका लागि परियार सेवा समाजका केन्द्रीय अध्यक्ष मेजर बल वहादुर सुन्दास आप्रा र महासचिव धर्म परियार पनि आउनु हुने नेपालीले जानकारी दिए । घोराहीमा हुने उक्त सम्मेलनमा सहभागी हुन संयोजक नेपालीले सम्पूर्ण परियार समुदायका नागरिकहरुलाई आह्वान समेत गरेका छन् ।
RaptiSandesh RaptiSandesh