Home / समाचार / असहाय ज्येष्ठ नागरिक लक्ष्मीप्रसादलाई खाद्यान्न सहयोग

असहाय ज्येष्ठ नागरिक लक्ष्मीप्रसादलाई खाद्यान्न सहयोग

दाङ, ३ फागुन । घोराही उपमहानगरपालिका वडा नं. ४ का अध्यक्ष भीमबहादुर सार्कीले विपन्न जेष्ठ नागरिकलाई खाद्यान्न सहयोग गरेका छन् । घोराही उपमहानगरपालिका–१ सल्लीकोट माले बस्दै आएका ७४ वर्षीय लक्ष्मीप्रसाद तिवारीलाई खाद्यान्न तथा लत्ता कपडा सहयोग गरेका हुन् ।

शारीरिकरुपमा अशक्त अवस्था रहेका तिवारीलाई वडा अध्यक्ष सार्कीले आफ्नै खर्चमा खाद्यान्न तथा ओढ्नलाई ब्ल्याङ्केट सहयोग गरेका हुन् । चुहिने छाना भएको जीर्ण घरमा बस्दै आएका तिवारीलाई तीन बोरा चामल, पाँच लिटर टेल, दल, नून र एउटा ब्ल्याङ्केट सहयोग गरेका हुन् । खाद्यान्न सहयोग गर्दै वडा अध्यक्ष सार्कीले शारीरिक अशक्त परिवारका लागि घर निर्माण गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । ‘गरिव तथा विपन्न परिवारलाई सहयोग गर्ने स्थानीय सकारको दायित्व हो ।

त्यो दायित्व म पूरा गर्न चाहन्छु’, वडा अध्यक्ष सार्कीले भने– ‘सके सबैसँग सल्लाह गरेर सहयोग जुटाएर घर निर्माण गरौँला, नभए व्यक्तिगत रुपमा भए पनि मैले घर बनाइदिनेछु ।’ तिवारीका तीन छोराहरुमध्ये माइला छोरा गत चैतमा अर्जुन खोलाले बगाएर मृत्यु भएको थियो । जेठो र कान्छो छोराले बेवास्ता गरेपछि उनी माइली बुहारीसँग बस्दै आएको बताए । एक्लै भएपछि केही समय तेरौटेमा रहेको बृद्धाश्रममा बसेका उनी अहिले आफ्नै घरमा बस्दै आएका छन् ।

तर घरमा भएका कपडा, भाडालगायतका सामग्रीहरु गत कार्तिक महिनामा आगोमा जलेपछि पकाउने भाडा समेत नभएको बुहारी बसन्ती तिवारीले बताइन् । ‘श्रीमानको मृत्युपछि म माइतमा बस्थे । ससुरा बृद्धाश्रम जानु भएको थियो’, उनले भनिन्– ‘घरमा कोही हेर्ने नभएपछि घरका सामान जेठाजुको घरमा राख्नदिनुभएको थियो । तर ती सामान सबै आगोले जलेछन् ।’ आगोले जलेपछि घरमा पकाउने अन्नदेखि भाडाकुँडासमेत नबचेको उनले बताइन् । उनले सहयोग गरिदिन समेत सबैलाई आग्रह गरेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*