Home / Feature Breaking news / नयाँ बस्तीका पुरानै समस्या

नयाँ बस्तीका पुरानै समस्या

दाङ, १३ चैत । घोराही उपमहानगरपालिका वडा नं. ११ नयाँ बस्ती निवासी राधा गन्धर्वलाई गर्मी मौसम सुरु भएसँगै खानेपानीको समस्याले सताउने गर्छ । घर नजिकै गाउँमा कुवा भए पनि गर्मीमा समयमा कुवामा पानी सुक्ने भएकाले गन्धर्वले बर्सेनी खानेपानीको समस्या भोग्र्दै आएकी छिन् ।

गर्मीमा कुवामा पानी सुक्ने भएकाले उनलाई कि राति नै उठेर पानी भर्नुपर्ने हुन्छ नत्र खोला गएर पानी ल्याउनुपर्ने बाध्यता हुन्छ । ‘गाउँमा कुवा त छ, तर गर्मी समयमा पानी सुक्छ’, उनले भनिन्– ‘अब त कुवामा पानी भर्नलाई पनि अरु नउठ्दै विहानै उठ्नुपर्छ । कि खोलाको जरुवामा जानुपर्छ ।’ घरमा खाना बनाउनेदेखि खानलाई, कपडा धुनसँगै नुहाउनका लागि पानी आवश्यक परे पनि पानीको समस्या हुने गरेको उनले बताइन् । गाउँमा खानेपानीको लागि ट्याङ्की निर्माण हुन थाले पनि ढिलाई भएको बताइन् । उनी गाउँमा खानेपानीको समस्या भएकाले चाँडै निर्माण हुन सके सजिलो हुने बताउँछिन् ।

नयाँ बस्तीकै राजु गन्धर्वको परिवारले पत्रेखोलामा जरुवा बनाएर पानी खाँदै आएको छ । गाउँमा खानेपानीको सुविधा नहुँदा आफ्नो परिवारले खोलाको पानी खाने गरेको बताए । ‘गाउँमा कुवा त छन्, तर ती कुवामा पानी सबैलाई पुग्दैन’, राजुले भने– ‘जसले गर्दा आफूलगायत अधिकांश परिवारले खोलामा जरुवा बनाएर पानी खाने गरेका छौं ।’ उनले गाउँका अधिकांश घर–परिवारले खोलामा रहेको जरुवाकै पानी खाने गरेको बताए । उनले खानी समस्या समाधानका लागि गाउँमा ट्याङ्की निर्माण हुन थालेको भए पनि निर्माणमा ढिलाई भएको बताए ।

‘खानेपानीको लागि काम सुरु भएको तीन बर्ष भयो, अहिलेसम्म ट्याङ्की निर्माण भएको छ’, गन्धर्वले भने– ‘पानी आउँछ भन्छन् तर अझैसम्म बस्तीमा पाइप विस्तार भएको छैन ।’ उनले खानेपानीको काम चाँडै भए गन्धर्व गाउँसँगै नयाँ बस्तीमा रहेको आधारभूत विद्यालयमा समेत खानेपानीको सुविधा पुग्ने बताए ।
घोराही–तुलसीपुर सडकअन्तर्गत पत्रेखोलाको उत्तरतर्फको डाँडामा रहेको गन्धर्व समुदायले विभिन्न खाले समस्याहरु भोग्दै आएका छन् ।

करिब १ सय ५० घर–परिवारहरु बसोवास गर्दै आएका उनीहरुले अहिले पनि खानेपानी, शिक्षा, सिँचाई, स्वास्थ्यलगायतका समस्याहरु भोग्दै आएका छन् । केही बर्षअघिसम्म बासको समेत समस्या भोग्दै आएका गन्धर्व समुदायलाई सरकारले जनता आवास कार्यक्रमअन्तर्गत घर निर्माण गरिदिएपछि आवासको समस्या हटेको उनीहरुको भनाइ छ । तर गाउँमा खानेपानी, स्वास्थ्य, जग्गा जमिन नहुँदा अन्नपातलगायतको समस्या भने भोग्दै आएका छन् । पहिले गाउँघरमा गीत गाएर आएको पैसाले जीविका चलाउने गरे पनि पछिल्लो समय गाउँघरमा गीत गाउने चलन हराएपछि उनीहरुलाई समेत समस्या भएको छ ।

गीत गाउने प्रचलन हराएपछि पछिल्लो समय उक्त गाउँका अधिकांश रोजगारीका लागि काठमाडौं, भक्तपुरलगायतका ठाउँहरुमा रहेका इटाभट्टाहरुमा काम गर्न जाने गरेका कारण बालबालिकाहरुले पढ्न समेत नपाउने अवस्था रहेको घोराही उपमहानगरपालिका–११ की वडा सदस्यसमेत रहेकी बिमला गन्धर्वले बताइन् । ‘गन्धर्व समुदायको बसोवास रहेको नयाँ बस्तीमा पहिलेको तुलनामा केही परिवर्तन भए पनि अहिले पनि धेरै समस्याहरु छन्’, वडा सदस्य गन्धर्वले भनिन्– ‘समस्याहरु विस्तारै समाधान हुँदै जानेछन् ।’

उनले गाउँमा खानेपानीको ट्याङ्की निर्माण भएपछि स्थानीयको ठूलो समस्या हट्ने बताइन् । ‘गाउँमा खानेपानी समस्या समाधानका लागि कुवा खनिएका छन् तर कतिपय कुवाहरु गर्मीमा सुक्ने हुँदा पानीको समस्या हुने गरेको छ’, उनले भनिन्– ‘खानेपानीको ट्याङ्की निर्माण भइरहेकाले चाँडै यो समस्या हट्नेछ ।’ त्यसैगरी घोराही उपमहानगरपालिका वडा नं. ११ का वडाध्यक्ष कुलबहादुर लामिछानेले खानेपानीको समस्या समाधानका लागि काम भइरहेको बताए । नयाँबस्तीमा रहेको खानेपानी समस्या समाधानकै लागि घोराही उपमहानगरपालिकाबाट खानेपानीको योजना पारेर समस्या समाधानका लागि आफूले पहल गरिरहेको बताए ।

‘नयाँमा रहेको घर–परिवारहरुको समस्या समाधानका लागि खानेपानीको ट्याङ्की निर्माणको काम भएको छ, मुहानबाट ट्याङ्कीसम्म पाइप विस्तार पनि गरिएको छ’, वडाध्यक्ष लामिछानेले भने– ‘अब ट्याङ्कीबाट उपभोक्ताहरुको घर–घरमा पाइप विस्तारपछि पानी सबैले पाउनेछन् ।’ त्यसका लागि बजेटको कमी भए पनि आफू जति सक्यो चाँडै काम सक्ने गरी लागिरहेको समेत बताए । वडाध्यक्ष लामछिानेले खानेपानीको ट्याङ्की निर्माण, मोटर खरिद र पाइप विस्तारलगायतका काममा करिब २३ लाख रुपैयाँ खर्च भइसकेको समेत बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*