Home / Feature Breaking news / व्यवसायीक कृषि पशुपालनमा जोडिदै कृषक

व्यवसायीक कृषि पशुपालनमा जोडिदै कृषक

लिलाधर वली
दाङ, १६ माघ । लुम्बिनी प्रदेश राजधानीको केन्द्रमा रहेको राप्ती गाउँपालिकाले किसानहरूलाई आर्थिक रूपमा समृद्ध बनाउनका लागी विभिन्न प्रयास गरिरहेको छ । भौतिक पूर्वाधार र मानवीय विकास सँगसँगै अगाडि बढाइरहेको गाउँपालिकाले कृषिलाई आधुनिकीकरण गर्दै पालिकालाई समृद्ध बनाउनका लागि कृषिमा लगानी गरिरहेको छ ।

पालिकाले कृषिमा लगानी गर्न थालेपछि पहिले परम्परागत रूपमा धान, मकैजस्ता बालीको खेती गर्ने किसानहरू पछिल्लो आधुनिक कृषि प्रणालीमा जोडिएर व्यावसायिक कृषिमा अभ्यस्त बन्दै आएका छन् । गुजारामुखी कृषिबाट माथि उठेर निर्यातमुखी कृषिको प्रबद्र्धन गर्नु उनीहरूको सपना बनेको छ । आफूले उत्पादन गरेका कृषि उपजको बजारीकरणमा समेत उनीहरू योजना बुनिरहेका छन् । मुलुकले यो आर्थिक वर्षमा मात्रै कम्तिमा ८४ अर्ब रूपैयाँ बराबरको कृषिजन्य उत्पादन आयात गरिरहेको अवस्थामा राप्तीको उत्पादनले केही मात्रामा भए पनि कृषिजन्य वस्तुको आयातलाई कम गर्ने सपना राप्तीका किसानहरूको छ ।

कृषि र पशुपालनमा लागेका किसानहरूलाई पालिकाले प्राविधिक सहयोगदेखि यन्त्र तथा उपकरण सहयोग गर्दै आएको छ । जसले गर्दा किसानहरूले थोरै जमिनमा पनि कम मिहिनेत र लगानीमा राम्रो प्रतिफल हासिल गर्दै आएका छन् । आफ्नो माटोमा मिहिनेत गरेर आर्थिक रूपमा सक्षम बन्न खोजेका किसानहरूलाई गाउँपालिकाले तालिम, बिउविजनदेखि प्राविधिक ज्ञान समेत दिँदै आएको छ ।

नागरिकको नजिकको सरकारका रूपमा रहेको स्थानीय सरकारले सहयोग गरेपछि किसानहरू पशुपालन, बिउ उत्पादन, माछापालनदेखि तरकारी उत्पादनलगायतका कृषि व्यवसायमा आकर्षित भएका छन् । उनीहरूमध्यका एक हुन राप्ती गाउँपालिका वडा नं. ६ मझेरिया निवासी श्यामदेव चौधरी । परम्परागत रूपमा बाख्रापालन गर्दै आएका चौधरीले डेढ वर्षदेखि बाख्रा खोर निर्माण गरेर व्यावसायिक रूपमा पशुपंक्षी पालनमा लागेका छन् । पाँच लाख रूपैयाँ खर्च गरेर खोर निर्माण गरेका चौधरीले अहिले २९ वटा बाख्राहरू पालिरहेको बताए ।

‘घरमा सुरुमा दुई÷चारवटा बाख्राहरू पाल्ने गरेको थिए, धेरै पाल्न सकेको थिएनँ’, उनले भने, ‘ पालिकाले तालिमसँगै बाख्रापालनका लागि प्राविधिक सहयोग गरेपछि बाख्रापालन गर्न थालेको छु ।’ उनले प्राविधिक सहयोगसँगै विभिन्न समयमा तालिम, घाँसको बिउ उत्पादनमा समेत सहयोग गर्ने गरेको बताए । उनले उन्नत जातका बाख्रासहित बोयर बोकाबाट सन्तान उत्पादन गरेर व्यवसायलाई बढाउँदै लग्ने लक्ष्य रहेको चौधरी बताए । उनले बाख्रासँगै बंगुर, कुखुरासमेत पाल्दै आएका छन् ।

राप्तीगाउँपालिका वडा नं. ६ पत्थरगढवा निवासी प्रेम चौधरी बिउ उत्पादनसँगै बंगुरपालन गर्दै आएका छन् । राप्ती बंगुरपालन कृषक समूहका माध्यमबाट चौधरीले व्यवसायलाई आधुनिकीकरण मात्रै गरेका छैनन् उनी राप्तीमा नमूना कृषकका रूपमा समेत परिचित छन् । समूहमार्फत् बंगुरपालन गर्दै आएका चौधरीलाई गाउँपालिकाले प्राविधिक सहयोग गर्दै आएको बताउँछन् । त्यस्तै चौधरीले राजमा, धान, गहूुलगायतका बालीहरूको बिउ उत्पादन गर्ने गरेका छन् । उनले बिउ उत्पादनका लागि डेढ विगाह जमिनमा राजमा खेती गरेको बताए । पालिकाले बिउ उत्पादन गर्ने किसानलाई ५० प्रतिशत अनुदानमा दिने गरेको र बँगुर पालनलाई समूहमार्फत् रकम सहयोग गर्ने गरेको छ ।

पत्थरगढवाकै विष्णु चौधरीले तरकारी खेतीसँगै माछापालन गर्ने गरेका छन् । परम्परागत रूपमा खेती गर्दै आएका चौधरीले पछिल्लो समय व्यावसायिक रूपमा तरकारी खेती गर्दै राम्रो आम्दानी समेत लिने गरेका छन् । उनलाई पालिकाले तरकारी खेतीका लागि बिउविजनदेखि तालिमलगायतका प्राविधिक सहयोग गर्ने गरेको छ । कृषि व्यवसायमा पालिकाले सहयोग गर्नथालेपछि व्यवसाय गर्न सहजता भएको उनले बताए ।

‘तरकारी खेती पहिलेदेखि नै गर्दै आएको थिएँ तर त्यसबाट राम्रो आम्दानी भएको थिएन’, उनले भने, ‘तर पछि गाउँपालिकाबाट तालिमसँगै परम्परागत रूपमा गर्दै आएको व्यवसायलाई छोडेर आधुनिक खेती गर्न थालेपछि राम्रो हुन थाल्यो ।’ उनले व्यावसायिक रूपमा टमाटर, गोपीखेतीसँगै माछापालन गर्दै आएको बताए । जसबाट राम्रो आम्दानी लिने गरेको उनी बताउँछन् ।

यसरी किसानले उत्पादन गरेका तरकारी लिन व्यवसायीहरू बारीमै पुग्ने गरेका छन् । पालिकाले पशुपालन तथा तरकारी खेतीका लागि पकेट क्षेत्र नै निर्माण गरेको छ । बँगुरपालन फस्टाउँदै गएपछि लुम्बिनी प्रदेश सरकारले राप्ती गाउँपालिकालाई बँगुरको पकेट क्षेत्र घोषणा गरेको छ । गाउँपालिकाले स्र्माट कृषि कार्यक्रममा समेत ठूलो लगानी गर्दै आएको छ । स्मार्ट कृषि गाउँका लागि गत वर्ष १० लाख रूपैयाँ एउटै गाउँमा लगानी गरेको पालिकाले यस वर्ष सोहीअनुसार गर्न थालेको छ । प्रदेश सरकार र गाउँपालिकाको सहयोग पाएपछि स्मार्ट कृषि गाउँ सिङ्गेका किसानहरू गाई, भैँसी र बाख्रापालनमार्फत् व्यावसायिक कृषक बन्न थालेका छन् ।

सिंगेका ५० घरपरिवार स्मार्ट कृषि गाउँमा समेटिएका छन् । जसमा १० घर भैँसी तथा गाईपालन र बाँकी ४० घर बाख्रापालनमा छन् । जसमा भैँसीपालन गर्ने किसानले कम्तिमा पाँचवटा माउँ गाई तथा भैँसी पाल्नुपर्ने र बाख्रापालन गर्ने किसानले न्यूनतम दशवटा माउँबाख्रा पालन गर्नुपर्ने छ ।

स्मार्ट कृषि गाउँका किसानलाई गोठ निर्माण तालिम, बजारीकरणमा सरकारले सहयोग गर्न थालेपछि किसानहरू दुग्ध व्यवसायी बन्नथालेका छन् । गाउँपालिकाको पशुपंक्षी शाखाले निःशुल्क भ्याक्सिन, कृत्रिम गर्भाधानदेखि प्रविधि हस्तान्तरणसम्मका कार्य गरिरहेको छ । साना किसानमा मात्र नभइ ठूला र्फम खोलेर व्यवसाय गरिरहेका कृषकहरूसम्म पनि गाउँपालिकाका कार्यक्रममा पुग्ने गरेका छन् ।

विपन्नवर्गलाई कृषि व्यवसायतर्फ आकर्षिक गर्न तथा कृषिकार्य गर्दै आएकाहरूलाई व्यावसायिक बनाउन कृषि शाखामार्फत् विभिन्न पूर्ण र पचास प्रतिशत अनुदानका कार्यक्रम, विउविजन वितरणजस्ता काम भइरहेको राप्ती गाउँपालिका कृषि तथा पशुपंक्षी शाखा प्रमुख शेरबहादुर हमालले बताए । उनले पालिकाले विउ उत्पादनदेखि किसानहरूलाई प्राविधिक पशुपालनमा लागेका कृृषकलाई सहयोग गर्दै आएको बताए ।

राप्ती गाउँपालिका कृषि शाखा प्रमुख सिमा भट्टले कृषिमा आधुनिकीकरण गर्न किसानलाई पालिकाले विभिन्न यन्त्र, हाते टेक्टर, सानो मिललगायतका सामग्री सहयोग गरेको बताइन् । उनले किसानलाई तालिमसँगै बिउविजन सहयोग गर्ने र किसानले उत्पादन गरेको टिपेक्सलगायतका जातका बिउ समेत पालिकाले किनेर सहयोग गर्ने गरेको बताइन् ।

उनकाअनुसार ४० वटा समूहगत फर्म र करिब एक सय बढी व्यक्तिगत रूपमा कृषि फर्म दर्ता गरेर किसानहरू व्यवसाय लागेको बताइन् । गाउँपालिकाले किसानलाई व्यावसायिक बनाउन तालिमदेखि व्यावसायिक योजना निर्माण गर्न किसानलाई सहयोग गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*