Home / Feature Breaking news / विद्यालयमा माघ १५ सम्म हिउँदे बिदा दिन सिफारिस

विद्यालयमा माघ १५ सम्म हिउँदे बिदा दिन सिफारिस

कोरोनाभाइरसको संक्रमण बढ्दै गएपछि सरकारले माघ १५ गतेसम्म विद्यालयमा हिउँदे बिदा दिन सिफारिस गरिएको छ।

आइतबार बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसिसी) को व्यवस्थापन समितिको बैठकको बैठकले देशभरिका १० कक्षासम्मका विद्यालयमा माघ १५ सम्म हिउँदे बिदा दिन संघीय मामिला मन्त्रालयलाई सिफारस गरेको सिसिएमसिसीकी प्रवक्ता  सुनिता नेपालले जानकारी दिइन्।

‘धेरै विद्यालयमा अहिले हिउँदे बिदा छ। त्यो हिउँदे बिदा माघ १५ सम्म पुर्‍याउनु भन्ने सिफारिस गरेका छौं,’ नेपालले भनिन्,‘कलेजहरूमा परीक्षालगायत कार्यक्रम सञ्चालन भइरहेको भए मापदण्ड पालना गर्न भनेका छौं। ’

आजको बैठक प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ पनि सहभागी थिए। कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका प्रमुख रामप्रसाद थपलियाले बैठकले विभिन्न १३ वटा सिफारिस गरेको जानकारी दिए।

आजको बैठकले सिनेमा हल, पार्कलगायत सार्वजनिक स्थानमा जाँदा अनिवार्य रूपमा खोप लगाएको प्रमाण देखाउनु पर्ने व्यवस्था लागू गर्न पनि गृह मन्त्रालयलाई सिफारिस गरेको छ।

‘माघ ३ गतेदेखि सार्वजनिक स्थानमा प्रवेश गर्दा खोप लगाएको प्रमाण अनिवार्य देखाउन सिफारिस गरेका छौं,’ प्रवक्ता नेपालले भनिन्।

सहसचिव नेपालका अनुसार राजनीतिक दलहरूलाई ठूला भेला-कार्यक्रम नगर्न र विभिन्न संघ-संस्थालाई महोत्सवलगायत भीड हुने कार्यक्रम नगर्न पनि आह्वान गरिएको छ।

यसअघि नै पूर्वनिर्धारित कार्यक्रम भए  स्थानीय प्रशासनको अनुमतिमा मात्रै कार्यक्रम गर्ने व्यवस्था गर्न पनि गृह मन्त्रालयलाई सिफारिस गरिएको छ।

व्यवस्थापन  समिति बैठक स्मार्ट लकडाउनको कार्यविधि अनुसार आफ्नो जिल्लाको अवस्था हेरेर थप कदम चाल्ने जिम्मा प्रमुख जिल्ला अधिकारीलाई दिन पनि भनेको छ।

नेपालमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण फेरि तीव्र गतिमा फैलिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*