Home / Feature Breaking news / अनुदानबारे थाहै पाउँदैनन् ‘कृषक’

अनुदानबारे थाहै पाउँदैनन् ‘कृषक’

अमरराज आचार्य

दाङ, २२ मंसिर । जिल्लाका कृषकहरुले सरकारले दिने अनुदानका बारेमा आफूहरुले जानकारीसमेत नपाउने गरेको गुनासो गरेका छन् । सरकारले ल्याउने अनुदान टाँठाबाँठाहरुले नै पाउने गरेको उनीहरुले बताए । बबई गाउँपालिका वडा नंंं. २ ट्वाङखोला निवासी अनिशजंग केसीले व्यावसायिकरुपमा बाख्रापालन गर्न थालेको २ वर्ष बढी भयो । रोजगारका लागि विदेश गएका उनी विदेशभन्दा आफ्नै ठाउँमा केही गर्नुपर्छ भनेर ललित बाख्रा फर्म दर्ता गरेर व्यावसायिकरुपमा बाख्रा पालन सुरु गरेका हुन् ।

विदेशमा राम्रो काम पाउन नसकेपछि आफ्नै देशमा काम गर्ने सोच बनाएर अगाडि बढेको उनी बताउँछन् । ‘अरुभन्दा हाम्रो क्षेत्रमा बाख्रा पालनको सम्भावना राम्रो देखेर यस क्षेत्रमा अगाडि बढेको हुँ’, उनले भने । उनले अहिले ४२ वटा बाख्रा पालन गरिरहेका छन् । उनले १० वटाबाट बाख्रापालन सुरु गरेका थिए । उनीसँगै उनको ५ जनाको परिवार बाख्रापालनमा संलग्न हँुदै आएका छन् । अहिले बाख्रापालनबाट वार्षिक डेढ लाखसम्म आम्दानी हुन थालेको केसी बताउँछन् । आम्दानीबाट घर खर्च चलाउने उनले बताए ।

सरकारले कृषकहरुका लागि अनुदान दिन्छ भन्ने सुनेको तर आफूले अहिलेसम्म अनुदानका बारेमा जानकारी समेत नपाएको उनले बताए । ‘सरकारले दिने अनुदानका बारेमा अहिलेसम्म जानकारी पाएको छैन’, उनले भने । बाख्रा पालनसम्बन्धी जानकारी नहुँदा समस्या पर्ने गरेको उनले बताए । ‘प्राविधिक ज्ञान नहुँदा धेरै समस्या भोग्नु परेको छ’, उनले भने– ‘नजिक पशु प्राविधिक नहुँदा टाढासम्म जानुपर्ने बाध्यता छ ।’

घोराही उपमहानगरपालिका वडा नं. ३ मसोटखोला निवासी बलबहादुर पुनले पनि करिब ३ वर्ष पहिलेदेखि व्यावसायिकरुपमा बाख्रापालन सुरु गरेका छन् । उनले शुभ लक्ष्मी बाख्रापालन फर्म दर्ता गरेर व्यावसायिकरुपमा बाख्रापालन सुरु गरेका हुन् । रोजगारका लागि करिब ६ वर्ष विदेशमा बिताएका थिए । आफ्नै देशमा केही गर्नुपर्छ भनेर बाख्रापालनमा लागेको उनी बताउँछन् । ‘विदेशमाभन्दा आफ्नै देशमा रमाउनुपर्छ भनेर बाख्रापालन व्यवसाय सुरु गरेको हुँ’, पुनले भने । उनले १० लाख लगानीबाट बाख्रापालन सुरु गरेका थिए । अहिले उनले ४० वटा बाख्रा पालिरहेका छन् । ‘जंगल क्षेत्रमा अन्य व्यवसायभन्दा बाख्रापालन उपयुक्त भएकाले बाख्रा पालन व्यवसायलाई अगाडि बढाएको हुँ’, पुनले भने ।

सरकारले अनुदान दिने भनेको सुनेको तर अहिलेसम्म अनुदानका लागि जानकारीसमेत नपाएको उनी बताउँछन् । ‘हामीले अनुदानका बारेमा खवरसम्म पाउँदैनौँ’, पुनले भने । आफूहरुको क्षेत्रमा फोन समेत राम्रोसँग नलाग्ने गरेको उनले बताए । अनुदान दिँदा फिल्डमा पुगेर वास्तविकरुपमा कृषकलाई प्रदान गरिनुपर्ने पुन बताउँछन् । सरकारले कृषकलाई सहजरुपमा ऋण प्रदान गर्ने व्यवस्था गरिदिनुपर्ने उनको माग छ । ‘सहुलीयत ऋणका लागि धेरै प्रयास गरे पनि पाउन सकिएन’, पुनले भने ।

घोराही उपमहानगरपालिका वडा नं. ११ खैरा निवासी निर्मला डिसीले २० वर्षदेखि व्यावसायिकरुपमा बाख्रापालन गर्दै आएकी छिन् । उनले निर्मला बाख्रा पालन फर्म दर्ता गरेर बाख्रापालन गर्दै आएको बताइन् । तर अहिलेसम्म उनले कुनै पनि सरकारी अनुदान पाउन नसकेको बताइन् । राज्यले दिने अनुदान वास्तविक कृषकलाई प्रदान गरिनुपर्ने उनले बताइन् । ‘राज्यले प्रदान गर्ने अनुदान वास्तविक कृषकले पाउँदैनन्’, उनले भनिन् । अनुदानमा पाइने ऋणका लागि धेरैपटक प्रयास गरे पनि पाउन नसकेको उनी बताउँछिन् । ‘कृषकले अनुदानमा ऋण नै पाउँदैनन्’, डिसीले भनिन्– ‘अनुदान वास्तविक कृषकले पाएमा उनीहरुलाई हौसला मिल्न जान्छ ।’

घोराही उपमहानगरपालिका वडा नं. ३ रनघरा निवासी प्रेमबहादुर बुढाले पनि विगत ४ वर्षदेखि व्यावसायिकरुपमा बाख्रापालन व्यवसाय गरिरहेका छन् । उनले पनि सरकारी निकायबाट हालसम्म सहयोग पाउन नसकेको बताए । ‘कागजी प्रक्रिया पु¥याउनेले अनुदान पाउने गरेका छन्’, उनले भने । बास्तिवक कृषकलाई राज्यले ल्याउने कार्यक्रमका बारेमा जानकारीसमेत नदिने गरेको उनको आरोप छ । बाख्रापालनमा प्राविधिक ज्ञान नहुँदा धेरै समस्या भोग्नुपरेको उनको भनाइ छ । बाख्राहरु बिरामी तथा अन्य प्राविधिक समस्या परेमा धेरै टाढा जानुपर्ने बाध्यता रहेको पनि उनले बताए ।

बाख्रापालक महासंघ दाङको अध्यक्षमा : वली

नेपाल बाख्रापालक महासंघ दाङको अध्यक्षमा दिपेन्द्र वली चयन भएका छन् । महासंघको पहिलो जिल्ला अधिवेशनले वलीको नेतृत्वमा नयाँ समिति चयन गरेको हो । जसको उपाध्यक्षमा रामबहादुर मल्ल, सचिवमा मोहनकुमार चौधरी, सहसचिवमा निर्मला डिसी, कोषाध्यक्ष गौरीकला रोका छन् ।

समितिका सदस्यहरुमा राजु केसी, महेन्द्र आचार्य, शारदा पौडेल, गीताकुमारी चौधरी, भविया चौधरी, शरदजित वली, गेमबहादुर वली, शरद केसी, कुमार भण्डारी, हिमबहादुर भण्डारी, काशीराम न्यौपाने, जयकुमारी डाँगी, दिलीप बुढाथोकी र मिनु गिरी छन् । अधिवेशन जिल्ला अध्यक्ष खुसल घिमिरेको अध्यक्षतामा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*