Home / Feature Breaking news / ‘समृद्धिको आधार कोइलाबास नाका’

‘समृद्धिको आधार कोइलाबास नाका’

अमरराज आचार्य
गढवा, २० मंसिर । दाङ जिल्लाको समग्र आर्थिक समृद्धिको आधार कोइलाबास सीमा नाकाको सञ्चालन भएकाले यसलाई चाँडो सञ्चालनमा ल्याउन आवश्यक रहेको व्यावसायिक नेतृत्वहरुले बताएका छन् । उनीहरुले कोइलाबास नाकाको सञ्चालनले दाङको देउखुरी मात्र नभएर समग्र राप्तीको समृद्धि जोडिएको पनि उनीहरुको अभिव्यक्ति थियो ।

देउखुरीको गढवा उद्योग वाणिज्य संघको साधारणसभामा व्यावसायिक नेतृत्वहरुको यस्तो अभिव्यक्ति थियो । जिल्लामा आर्थिक गतिविधि बढाउनका लागि सीमा नाका कोइलाबास सञ्चालनमा व्यवसायीहरु आतुर रहेको बताउँदै उनीहरुले यसमा राज्य पनि सक्रिय भएर भारत सरकारसँग पहल गर्नुपर्ने पनि सुझाव थियो । जिल्लाको समग्र विकासका लागि राज्यसँग सहकार्य गर्न निजी क्षेत्र तयार रहेको व्यावसायिक नेतृत्वले बताएका छन् । निजी क्षेत्रहरुले समग्र क्षेत्रको विकास नहुँदासम्म देशको विकास हुन नसक्ने भएकाले राज्यसँग सहकार्य गरेर जान आफूहरु तयार रहेको बताएका हुन् ।

देउखुरीमा रहेको गढवा उद्योग वाणिज्य संघको छैठौँ बार्षिक साधारणसभामा बोल्ने बक्ताहरुले यस्तो बताएका हुन् । सहकार्य गर्ने वातावरण राज्यले बनाउनुपर्ने उनीहरुको भनाइ रहेको थियो । अहिले पनि राज्यले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन हुन नसकेको उनीहरुले बताएका थिए । नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष बालकृष्ण सुवेदीले राज्य जहिले पनि उद्योगी व्यापारीहरूलाई दबाउने काम गरेको बताए । ‘हामीलाई राज्यले निचोर्ने काम मात्र गरेको छ’, सुवेदीले भने– ‘यस्ता काम तत्काल राज्यबाट रोकिनुपर्दछ ।’

राज्यले निजी क्षेत्रलाई सहयोगीको रुपमा अझै पनि हेर्न नसकेको सुवेदीको अभिव्यक्ति थियो । निजी क्षेत्र आफ्नो क्षेत्रको मात्र नभई सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको समेत उनले बताए । निजी क्षेत्रको विकासका लागि एकताबद्ध हुनुपर्ने सुवेदीको सुझाव थियो । ‘हाम्रो समस्याको समाधान हामीले नै गर्ने हो, राज्यले गर्दैन यसका लागि एकताबद्ध हुन आवश्यक छ’, सुवेदीले भने । गढवा गाउँपालिकाका उपाध्यक्ष शान्ति चौधरीले विकासका लागि राज्यको मात्र भर पर्न नहुने बताइन् । राज्य एक्लैले गरेर मात्र हँुदैन सबैको सहयोग आवश्यक पर्ने उनको भनाइ रहेको थियो । ‘सबै आ–आफ्नो क्षेत्रबाट अगाडि बढ्नुपर्दछ’, उनले भनिन् । गाउँपालिका निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको समेत उनको भनाइ थियो ।

दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकीले कोभिडका कारण व्यवसायीहरु थला परेको बताए । थला परेको व्यवसायलाई अगाडि बढाउन राज्यले सहयोग गर्नुपर्ने उनको भनाइ रहेको छ । जिल्लाको विकासका लागि कोइलावास नाका सञ्चालनका लागि आफूहरुले निरन्तर पहल गर्दै आएको उनले बताए । कोइलाबास नाका सञ्चालनमा आए यस क्षेत्रको विकासमा सहयोग पुग्ने उनले बताए । प्रदेशको राजधानी देउखुरीबाट काम कारबाही अगाडि बढाउन पनि सबै उद्योग वाणिज्य संघ एकताबद्ध भएर लाग्नुपर्ने बुढाथोकीको भनाइ थियो ।

तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेले दर्ताविना सञ्चालन हुने घुमन्ते व्यवसायीहरुलाई नियन्त्रणमा ल्याउनुपर्ने बताए । यसका लागि राज्यले पहल गर्नुपर्ने उनको भनाइ थियो । नियन्त्रणमा लिन नसक्दा राज्यलाई धेरै घाटा भएको उनले बताए । अवैधरुपमा सञ्चालन भएका व्यवसायीहरुलाई नियन्त्रणमा लिन नसक्दा वैधरुपमा सञ्चालनमा रहेका व्यवसायीहरुलाई धेरै समस्यामा परेको चालिसेले बताए । कार्यक्रममा बोल्ने बक्ताहरुले जिल्लाको विकासका लागि योजना बनाएर निजी क्षेत्र अगाडि बढ्नुपर्ने बताएका थिए । सबै मिलेर अगाडि बढेमा विकास गर्ने सकिने उनीहरुको भनाइ रहेको थियो ।

कार्यक्रममा गढवा उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष युबराज पोख्रेल, संघका सल्लाहकारहरु उमाकान्त पन्त, रामदास यादव, देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष खगेश्वर खनाल, राप्ती उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष बाबुराम थापा, सिसहनियाँ उद्योग बाणिज्य संघका अध्यक्ष पूर्णबहादुर बुढाथोकी, होटल व्यवसायी संघ गढवाका अध्यक्ष दयाराम थापा, नेकपा एमाले गढवा गाउँ कमिटी सचिवालय सदस्य चूडामणि पौडेल, नेकपा एकीकृत समाजवादी पार्टीका राधेश्याम थारू कुमाल, राष्ट्रिय जनमोर्चाका कपिलदेव खनाल, राष्ट्रिय समाजवादी पार्टीका मोहबद अली, देउखुरी साहित्य तथा सांस्कृतिक मञ्चका अध्यक्ष हरिप्रसाद पोख्रेल, नागरिक समाज गढवाका अध्यक्ष मोहनकुमार पाण्डे, चेतनशील महिला केन्द्र समाजका अध्यक्ष सकुन्तला डिसीलगायतले भनाइ राखेका थिए ।

कार्यक्रममा संघका सचिव मधा न्यौपानेले बार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष खुमानन्द पोख्रेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यस अवसरमा संघलाई स्थापनाकालदेखि महत्वपूर्ण योगदान पु¥याएको भन्दै संघका निर्वतमान अध्यक्ष रबिलाल आचार्य, उत्कृष्ट तथा कुशल व्यवसायी कृष्ण बस्नेत, पूर्ण छात्रवृत्तिमा एमबीबीएस अध्ययनका लागि नाम निकाल्न सफल दिप्सन आचार्य र सुदीन भुसाललाई प्रमाण–पत्र तथा दोसल्ला ओढाएर सम्मान गरिएको थियो । कार्यक्रम संघका अध्यक्ष खिमबहादुर बुढाको अध्यक्षतामा भएको थियो । संघका निवर्तमान अध्यक्ष रविलाल आचार्यको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण संघका वाणिज्य उपाध्यक्ष ओमप्रकाश बस्यालले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*