Home / Feature Breaking news / रेल सञ्चालन अझै अन्योलमा

रेल सञ्चालन अझै अन्योलमा

काठमाडौँ,१७ कार्तिक । जयनगर–कुर्था खण्डमा चलाउन एक वर्षअघि भारतबाट दुई वटा रेल सेट तामझामकासाथ नेपाल भित्राइयो । तर अहिलेसम्म रेल कहिले चल्छ ? कुनै टुंगो छैन ।

हतारिएर रेल ल्याउँदा अहिले थन्क्याएर राखिएको छ । रेल चलाउन कानुन न कर्मचारी केही पनि छैन । २०७७ असोजमा ल्याइएका रेल सेटको साढे सात महिनादेखि प्राविधिक जाँच समेत हुन सकेको छैन । नेपाल रेलवे कम्पनीका महाप्रबन्धक नीरञ्जन झाकाअनुसार अहिले कसरी र कहिले रेल चलाउने भनेर मन्त्रालय र विभागसँग छलफलकै क्रममा छ ।

‘रेल चलाउने तयारीमै लागेका छौं,’ महाप्रबन्धक झाले भने, ‘सबै तयारी पूरा भए आगामी पुस दोस्रो साताबाट रेल चलाउने योजना हो ।’ अहिले जयनगरदेखि कुर्थासम्मको ३४ दशमलव ९ किलोमिटरमा रेल चलाउनेगरी तयारी हो । उक्त दूरीमा चल्ने रेलको भाडादर पनि निर्धारण भइसकेको छैन । ‘तिहार पछाडी भाडादर निर्धारण गरिने छ,’ झाले भने, ‘केही संरचनाहरु पनि मर्मत गर्नुपर्ने छ ।’

भारत सरकारकातर्फबाट परियोजना कार्यान्वयन निकाय इरकान इन्टरनेसनल लिमिटेडले भौतिक संरचना निर्माण गरेर हस्तान्तरण गरी सकेको छ । केही संरचना बिग्रिएका छन् । त्यसको मर्मत सम्भारको काम पनि इरकानले नै गर्ने छ ।

‘इरकानले मंसिर दोस्रो हप्तासम्म जहाँ–जहाँ जे बिग्रिएको छ, त्यो बनाउने सहमति भएको छ, ’ उनले भने, ‘अन्य बाँकी रहेका समस्या पनि समाधान गरी चलाउने तयारीमा छौं ।’ कार्यालय सञ्चालनका लागि रेल विभागले बनाएको भवनको निर्माण पूरा भएको छैन । फिनिसिङको चरणमा रहेको उनले बताए । छठपछि कर्मचारी व्यवस्थापनको काम सुरु हुने छ । करारमा राख्‍न लोकसेवा आयोगले पहिला नै रोकेको उनको भनाइ छ ।

‘यसअघिका महाप्रबन्धक गुरु भट्टराईले विज्ञापन नै खुलाएर कर्मचारी माग गरेका थिए,’ महाप्रबन्धक झाले भने, ‘करारमा नियुक्ती गर्न पाइदैँन भनेर लोकसेवाले रोकेको हो ।’ आयोगका अध्यक्षलाई भेटेर कर्मचारी भर्नाको प्रक्रिया अगाडी बढाइदिन आग्रह गरेको उनको भनाइ छ । रेललाई अहिले पालले छोपेर राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*