Home / Feature Breaking news / जनताको आवश्यकता अनुसार विकास : अधिकारी

जनताको आवश्यकता अनुसार विकास : अधिकारी

गढवा गाउँपालिकाको वडा नं. १ भौगोलिक रुपमा विकट वडाका रुपमा रहेको छ । पूर्वमा लुम्विनी प्रदेशको राजधानीको प्रदेशद्धारका रुपमा रहेपनि वडा नं. १ विकासका पूर्वाधारका दृष्टिले विकट छ । ५८ वर्गफिट भूगोलमा फैलिएको वडामा ३ हजार बढी घर परिवार रहेका छन् ।

भौगोलिक रुपमा विकासका लागि विकट वडाका रुपमा हरेको वडामा स्थानीय तहमा जनप्रतिनिधिहरु आएपछि के के परिवर्तन भएका छन भनेर  गढवा गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष एव गाउँपालिका प्रवक्ता समेत रहेका बाबुराम अधिकारीसँग गरिएको कुराकानी ।

 तपाई वडाध्यक्षका रूपमा निर्वाचित भएपछिको चार वर्ष कस्तो रह्यो ?

 समग्रमा चार वर्ष राम्रै भएको छ । सकारात्मक रूपमै कामलाई अघि बढाएका छौँ । काम गर्दा केही कठिनाई र अप्ठेराहरू आए पनि जनताको चाहना र आवश्यकतालाई मध्यनजर गर्दै वडाको विकासका लागि काम गरिरहेका छौँ । चार वर्षको अवधिमा जनताका लागि अत्यावश्यक विकासका पूर्वाधारहरूका रूपमा रहेका सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, विद्युतलगायतका क्षेत्रमा धेरै नै काम गरेहका छौँ ।

वडाको बजेट मात्रले विकास गर्न सम्भव छैन । त्यसैले गाउँपालिका, प्रदेश सरकारसँगै यस क्षेत्रबाट निर्वाचित जनप्रतिनिधिहरूको पहलमा वडामा धेरै विकास निर्माणका काम भएका छन् । जसले गर्दा मलाई वडाको विकासका लागि धेरै काम गरेको छुझैँ लागेको छ ।

 चार वर्षको अवधिमा वडाको विकासका लागि के–के काम गर्नुभयो ?

 अहिले हामी चार वर्ष पूरा गरेर पाँच वर्षमा प्रवेश गरेका छौँ । चार वर्षको अवधिमा वडाको विकासका लागि धेरै काम भएका छन् । सीमित बजेट र स्रोत साधनका वावजुद पनि हामी जनप्रतिनिधिका रूपमा वडामा आए पनि विकासका पूर्वाधारका रूपमा सडक, शिक्षा, खानेपानी, स्वास्थ्य, बिजुलीलगायतको विकाससँगै जनताको जीवनस्तरलाई परिवर्तन गर्ने गरी धेरै काम भएका छन् ।

हामी वडामा जनप्रतिनिधिका रूपमा निर्वाचित हुँदा वडाका प्रत्येक बस्तीहरूमा सडक सुविधा थिएन । एक गाग्री खानेपानी ल्याउनका लागि घण्टौसम्म लाइनमा बस्नुपर्ने बाध्यता थियो । वडामा स्तरीय स्वास्थ्य सुविधा थिएन । विद्युतको समस्या थियो । शिक्षाका लागि राम्रो विद्यालय थिएन । तर, अहिले हामीले सबै बस्तीहरूमा पुग्नका लागि सडकको ट्रयाक खोलेका छौँ । विद्युतको समस्या समाधान गरेका छौँ । सबै बस्तीमा विद्युत पुगेको छ ।

बत्ती बाल्नका लागि भोल्टेज नपुग्ने समस्या हटाएका छौँ । खानेपानीका लागि ठूलो लगानी गरेका छौँ । प्रदेश सरकारसँगै गाउँपालिका र वडाले समेत खानेपानीका लागि बजेट विनियोजन गरेर प्रत्येकका घर–घरमा धारा जडान गर्दैछौँ । कतिपय घरहरूमा पानी पुगिसकेको छ । कतिपय योजनाहरू अहिले पनि निर्माणका क्रममा रहेकाले यो आर्थिक वर्षभित्र वडाका सबै जनताले खानेपानी पाउनेमा म ढुक्क छु ।

शिक्षाका लागि जनता माध्यमिक विद्यालय कालाकाँटे यस वर्ष गाउँपालिकाको उत्कृष्ट विद्यालयका रूपमा पुरस्कृत भएको छ । सिंचाइका लागि नाला निर्माण समेत गरेका छौँ । यो हिसाबले भन्दा हामीले चार वर्षको अवधिमा जनताको चाहना र मागअनुसार धेरै विकास निर्माणका काम गरेका छौँ । थप यस वर्ष गर्दै छौँ ।

 यस आर्थिक वर्षमा के–के काम गर्दै हुनुहुन्छ ?

 यो वर्ष हामी जनप्रतिनिधिको अन्तिम वर्ष हो । त्यो हिसाबले वडामा छुट्टै विकास निर्माणका काम गर्ने अवस्था छैन । कोरोना भाइरसका कारण विगत दुई वर्षदेखि धेरै गर्नुपर्ने कामहरू पनि राम्रोसँग हुन सकिरहेका छैनन् । त्यसैले गर्दा चुनाबी प्रतिबद्धताअनुसार जनतासँग गरेका वाचा र जनताका आवश्यकता अनुसारका बाँकी रहेका योजनाहरूलाई यस वर्ष बजेटमा पारेर काम गर्दै छौँ ।

अरू विगतका बाँकी रहेका र गर्नुपर्ने योजनाहरू छन् । लुम्बिनी प्रदेशको राजधानीका लागि प्रदेश सरकारले हाम्रो वडालाई पनि छनोट गरेकाले अहिले वडामा ठूला विकास निर्माणका कार्यहरू गर्न नपाउने अवस्था छ । प्रदेश सरकारले गुरूयोजना निर्माण गरे पनि प्रदेश सरकारले नै विकासलाई अघि बढाउने आशा छ ।

 वडामा विकासको काम गरिरहँदा जनताको चाहना कस्तो पाउनुभयो ?

 गढवा गाउँपालिकाको १ नम्बर वडा भौगोलिक रूपमा विकट वडा हो । त्यसमा पनि विपन्न परिवारहरूको बसोवास रहेको क्षेत्र हो । चौधरी, कुमाल र दलितहरूको मुख्य बाहुल्यता रहेको छ । देश लामो समयसम्म जनप्रतिनिधिविहीन भएको अवस्थामा हामी जनताको प्रतिनिधिहरूका रूपमा आएका हौँ ।

हामीले चुनावमा जनताको घरदैलोमा जाँदा पनि उहाँहरूले गाउँमा सडक सुविधा हुनुप¥यो, बिरामी हुँदा उपचार गर्ने अस्पताल हुनुपर्छ, बालबालिकालाई पढाउनलाई राम्रो विद्यालय, खानेपानीको व्यवस्था, बाल्ने बिजुली बत्ती र खेतीका लागि सिंचाइको माग गर्नुभएको थियो । त्यहीअनुसार हामीले काम गरिरहेका छौँ । सबै वडामा नपुगे पनि धेरै वडामा विकासका पूर्वाधारहरू पु¥याएका छौँ । विद्यालयलाई सुधार गरेर गाउँपालिकाकै नमुना विद्यालय बनाएका छौँ । अस्पताल निर्माण गर्न नसके पनि कुनै ठाउँमा स्वास्थ्यचौकी त कुनै ठाउँमा सहरी स्वास्थ्य केन्द्र स्थापना गरेका छौँ ।

यसैगरी किसानको माग अनुसार कृषि पेशालाई भरपर्दाे र आय आर्जन गर्ने पेशाका रूपमा विकासका लागि किसानलाई तालिम, उन्नत जातको बिउ, पशुहरू वितरण गर्ने गर्दै आएका छौँ । कतिपय ठाउँमा पक्की पुल र झोलुङ्गे पुलको पनि माग गर्नुभएको छ । त्यी योजनाहरू हामीले गर्न सम्भव नभएकाले गाउँपालिका, प्रदेश सरकार र संसद्सँग समेत पहलका लागि कुरा गर्ने गरेका छौँ । यो भन्दा जनताले केही ठूला योजनाहरू माग्नुभएको छैन ।

 यो अवधिमा वडाको समृद्धि र जनताको जीवनस्तरलाई माथि ल्याउने केही काम गर्नुभयो ?

 पक्कै पनि हामीले वडाको समृद्धि र जनताको जीवन स्तरमा परिवर्तन ल्याउनकै लागि काम गरेका छौँ । हाम्रो वडा कृषि र पशुपालनका लागि सम्भावना भएको क्षेत्र हो । कृषि र पशुपालनलाई पेशालाई आधुनिकीकरण पेशाका रूपमा विकास गर्नका लागि किसानलाई विभिन्न समयमा तालिम दिने र उन्नत जातका बिउविजन दिने काम गरेका छौँ । सिंचाइको व्यवस्था मिलाएका छौँ ।

कागती, किवी खेतीका लागि समेत वडाले किसानलाई प्रोत्साहन गर्दै आएको छ । यसैगरी पर्यटकीय रूपमा समेत हाम्रो वडा सम्भावनायुक्त वडा हो । कुलपानी पर्यटकीय क्षेत्र देउखुरी क्षेत्रकै राम्रो र आकर्षक ठाउँ हो । यसको विकासका लागि काम भइरहेको छ । यसैगरी दाङमै माटोका भाँडाहरू हाम्रो वडामा रहेका कुमाल समुदायले बनाउने काम गर्नुहुन्छ ।

उहाँको पेशालाई आधुनिकीकरणसँगै नयाँ पुस्तालाई उक्त पेशामा आकर्षण गर्नका लागि धेरै काम हामीले गरिरहेका छौँ । हाम्रो वडामा नदीजन्य पदार्थसँग सम्बन्धित धेरै वडाहरू पनि रहेका छन् । यसैगरी युवा, महिलालगायतका लक्षितवर्गका लागि समेत वडाले विभिन्न कार्यक्रम गर्दै आएको छ ।

 वडामा विकास निर्माणका काम गर्दा के–कस्ता चुनौतीहरू भोग्नप¥यो ?

 लामो समय रिक्त रहेको स्थानमा जनप्रतिनिधिका रूपमा आएर विकास निर्माणका कामहरू गर्दा सामन्य खालका चुनौतीहरू नआउने कुरा भएन । तर जनताको आवश्यकता र चाहनाका लागि गर्नुपर्ने भएकाले हामीले काम गर्दा त्यस्ता अप्ठेराहरू भोग्नुपर्ने अवस्था त आएनन् । तर ठूलो वडामा धेरै काम गर्दा सुरुका वर्षहरूमा कठिनाई धेरै नै भयो ।

ती कठिनाईलाई जनतासँग सल्लाह गर्दै अर्काे वर्षलाई सिकाइका रूपमा लिँदै काम गरेकाले धेरै कठिनाइ भने भएनन् । त्यसैले पहिलो वर्ष हाम्रा लागि सिकाइको वर्ष नै भयो । त्यसपछिका वर्षहरूमा विकास निर्माणका कामहरू गर्दा खासै समस्या आएका छैनन्् । किनकि जनताका लागि जनताले उठाएका विकास निर्माणका योजनाहरूलाई नै हामीले प्राथमिकतामा दिने गरेकाले होला ।

 लुम्बिनी प्रदेशको राजधानी दाङ तोकिएपछि गढवा गाउँपालिका अन्तर्गत रहेको तपाईंको वडा पनि प्रदेश सरकारले राजधानी बनाउने वडाका रूपमा हेरेको छ । प्रदेश सरकारले छनोट गरेपछि केही काम गरेको छ, तपाईको वडामा ?

 लुम्बिनी प्रदेश सरकारले प्रदेशको राजधानी दाङ सार्ने निर्णय गरेपछि प्रदेश राजधानी बनाउनका लागि राप्ती गाउँपालिकासँगै हाम्रो वडालाई पनि छनोट गरेको छ । हाम्रो वडा दाङको पूर्वी सीमामा रहेको अर्घाखाँची र कपिलवस्तु जिल्लासँग जोडिएको क्षेत्र भएकाले पनि प्रदेश सरकारले राजधानीका लागि छनोट गरेको हुनुपर्छ ।

छनोट गरेपछि अहिले लालमटियामा रहेको प्रदेश पूर्वाधार विकास प्राधिकरणले प्रदेश सरकार कस्तो बनाउने र कसरी बनाउने भन्ने बारेमा अध्ययन गरिरहेको छ । त्यही अनुसार प्रदेशका संरचनाहरू निर्माण हुने होलान् । तर अहिले हाम्रो वडातिर संरचनाको काम भएको छैन ।

 अन्त्यमा केही भन्न चाहानुहुन्छ ?

 मैले माथि नै धेरै कुरा भनिसकेको छु । हामी वडाको विकासका लागि जनप्रतिनिधिका रूपमा निर्वाचित भएपछि हालसम्म सीमित बजेटबाट पनि सडक, शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत, सिंचाइलगायतका क्षेत्रहरूमा महत्वपूर्ण कामहरू गरेका छौँ ।

जनताका असीमित चाहनाहरू हुने भएकाले जनतालाई यी काम पर्याप्त नहुन सक्छन् । यसैले आगामी दिनहरूमा पनि जनताको पक्षमा काम गर्नेछु । अन्त्यमा मलाई मेरा व्यक्तिगत र वडाको विकासका चार वर्षको अवधिमा गरेका काम र आगामी योजनाहरूको बारेमा कुरा राख्न दिने तपाई र यसपत्रिकालाई समेत धेरै–धेरै धन्यावाद ज्ञापन गर्दछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*