Home / Feature Breaking news / प्रतिनिधि सभा विघटन मुद्दामा आज पेसी, फैसला आउन सक्ने

प्रतिनिधि सभा विघटन मुद्दामा आज पेसी, फैसला आउन सक्ने

प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले आज फैसला दिन सक्ने सम्भावना छ।

दुबै पक्षको बहस सकिइसकेको मुद्दामा संवैधानिक इजलासले यसअघि असार २१ गते आजका लागि पेसी तोकेको थियो। रिट निवेदकको बहस, सरकारी वकिलको बहस, रिट निवेदकको जवाफी बहस र एमिकस क्युरीका सदस्यहरूको राय दिने प्रक्रिया सबै सकिइसकेकाले आजको इजलासबाट फैसला आउने सम्भावना बढेको हो।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूले संविधानको धारा ७६ को ५ बमोजिम प्रतिनिधि सभाका बहुमत सदस्यको हस्ताक्षर बुझाउँदा पनि राष्ट्रपति विद्यादेवी भण्डारीले आफूलाई प्रधानमन्त्री नियुक्त नगरेको र संसदले सरकार दिने अवस्था हुँदाहुँदै सरकारको सिफारिसमा प्रतिनिधि सभा विघटन गरेको भन्दै रिट हालेका थिए। देउवाको रिटमा नेकपा एमालेका २३ जनासहित प्रतिनिधि सभाका १४६ जना सदस्यले अदालतमै उपस्थित भएर  हस्ताक्षर गरेका थिए।

त्यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक प्रतिनिधि सभा विघटन गर्दै मध्यावधि निर्वाचन घोषणा गरेका थिए।

यो मुद्दामा सर्वोच्च अदालतले दिने फैसलाले देशको भावी राजनीति कसरी अगाडि बढ्छ भन्ने कुरा निहित भएकाले अदालतको फैसलाप्रति आमचासो छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*