Home / Feature Breaking news / दुर्इ दिनमै सकिए संस्थानका खसीबोका

दुर्इ दिनमै सकिए संस्थानका खसीबोका

काठमण्डौ,२९ असोज । सरकारले दशैँका अवसरमा उपत्यकामा बिक्री गर्न ल्याएको ३०७ वटै खसीबोका बिक्री भएको छ ।

नेपाल खाद्य संस्थानले मकवानपुरबाट ३०७ वटा खसीबोका खरिद गरेर ल्याएको थियो । दाङलगायत पश्चिमी जिल्लाबाट करिब हजार खसीबोका खरिद गर्ने लक्ष्य राखिए पनि संस्थानले पश्चिमी क्षेत्रबाट खसीबोका खरिद गर्न नसकेपछि मकवानपुरबाट ल्याएको हो ।

निजी क्षेत्रका व्यापारीले कृषकलाई उच्च मूल्य दिएका कारण लक्ष्यअनुसारको खसीबोका खरिद गर्न नसकिएको संस्थानका प्रवक्ता शङ्करप्रसाद सापकोटाले जानकारी दिए । संस्थानले सोमबार बिहानसम्म ६५० च्याङ्ग्रा बिक्री गरिसकेको छ । मुस्ताङबाट ९२० च्याङ्ग्रा खरिद गरी ल्याइएको थियो ।

खसीबोका प्रतिकिलो ५०० र च्याङ्ग्रा प्रतिकिलो ७०० रूपैयाँमा बिक्री वितरण गरिएको संस्थानले जनाएको छ । थापाथलीस्थित संस्थानको धान गोदामबाट ती खासीबोका, च्याङ्ग्रा सर्वसाधारणका लागि बिक्री गरिएको थियो ।

यसअघिका वर्षमा खसीबोका तथा च्याङ्ग्रा बिरामी परेर संस्थानलाई नोक्सान हुने गरे पनि यसपटक भने कुनै पनि चौपाया बिरामी नपरेको प्रवक्ता सापकोटाले बताए ।

संस्थानले मुस्ताङबाट च्याङ्ग्रा प्रतिकिलो ५२५ रूपैयाँ र मकवानपुरबाट खसीबोका प्रतिकिलो ४३० मा खरिद गरेर ल्याएको थियो । मङ्गलबार साँझसम्म च्याङ्ग्रा बिक्री गरेर सक्ने लक्ष्य संस्थानको छ ।

बाँकी च्याङ्ग्रा बिक्री गरेपछि मात्र आर्थिक कारोवारको तथ्याङ्क सार्वजनिक गरिने संस्थानले जनाएको छ । संस्थानले गत शुक्रबारदेखि खसीबोका तथा च्याङ्ग्राको बिक्री सुरु गरेको थियो ।

निजी क्षेत्रका व्यापारीको एकाधिकार तोड्न सरकारले बर्सेनि संस्थानमार्फत खसीबोका तथा च्याङ्ग्रा खरिद गरी बिक्री वितरण गर्ने गरेको छ । बजारमा सरकारको उपस्थिति नहुँदा निजी क्षेत्रका व्यापारीले चाडपर्वको मौकाछोपी उपभोक्तालाई चर्को मूल्यमा खसीबोका तथा च्याङ्ग्रा बिक्री वितरण गर्दै आएको पाइन्छ ।

संस्थानको खसीबोका सकिएपछि निजी क्षेत्रका व्यापारीबाट उपभोक्ता ठगिनु नपरोस् भन्ने उद्देश्यले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खसी बजारको अनुगमनालाई तीव्रता दिएको छ । विभागका महानिर्देशक योगेन्द्र गौचनले अस्वभाविक मूल्य राखेर खसीबोका बिक्री गरेको पाइए व्यापारीलाई कडा कारवाही हुने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*