Home / Feature Breaking news / विज्ञहरुले किन भने यो वर्षको मनसुनमा धेरै क्षति हुन्छ भनेर ?

विज्ञहरुले किन भने यो वर्षको मनसुनमा धेरै क्षति हुन्छ भनेर ?

५ असार, काठमाडौं । सरकारले नै यो वर्षको मनसुनमा अन्य वर्षहरुमाभन्दा धेरै जनधनको क्षति हुन सक्ने प्रक्षेपण मनसुन सुरु हुनुभन्दा अघि नै सार्वजनिक गरेको थियो । नभन्दै मनसुन सुरु भएलगत्तै सिन्धुपाल्चोक, मनाङ लगायतका जिल्लामा आएको बाढीपहिरोले व्यापक क्षति पुर्‍यायो ।

यस वर्ष झन् ठूलो विपत्ति आउन सक्छ भन्नु पछाडिका कारणहरु यी हुन्:

१. आगलागीका घटना

गत वर्ष सुक्खायाममा व्यापक आगलागीका घटना भए । २०७७ कात्तिकदेखि चैत महिनाको बीचमा ७३ जिल्लामा २ हजार ७ सय १३ वटा आगलागीका घटना भए । जबकी २०७६ सालमा यही पाँच महिनाको बीचमा ४० जिल्लाका १८८ स्थानमा आगलागीका घटना भएका थिए । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलका अनुसार २०७७ सालमा क्षेत्रफलको हिसाबले पोहोरभन्दा २० गुणा बढी भूभागमा डढेलो लागेको सरकारी तथ्यांक छ । यी आगलागीका घटनाबाट साना ठूला रुखबिरुवा, झाडी र बुट्यानहरु सखाप भएका छन् । प्राधिकरणका प्रमुख पोखरेल भन्छन्, ‘पहाडको रूखपात र पानी सोस्न सक्ने क्षमता डढेलोले घटाइदिएको छ । त्यसैले यस वर्षको मनसुनमा विपदका घटना वृद्धि हुनसक्ने आंकलन गरिएको छ ।’

२. बढी पानी पर्ने पूर्वानुमान

मौसमविदहरुले यस वर्षको मनसुनमा देशको अधिकांश भागमा सरदरभन्दा धेरै पानी पर्ने प्रक्षेपण मनसुन सुरु नहुँदै सार्वजनिक गरेका थिए । यस वर्ष नेपालमा मनसुन भित्रिएपछि वर्षाको मापनलाई हेर्ने हो भने वर्षभरी पर्ने पानी पाँच दिनमै परेको छ ।

नेपालमा जेठ २८ गतेदेखि मनसुन सुरु भएको थियो र दुई दिनमै मनसुनी प्रणाली देशभर फैलिएको थियो । मनसुन सुरु भएदेखि असार १ गतेको बीचमा म्याग्दीको घोरेपानी, स्याङ्जाको स्याङ्जा र चापाकोट, कास्कीको लुम्ले र पाल्पाको गण्डाकोटमा २ सय मिलिमिटरभन्दा बढी पानी परेको जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद डा. इन्दिरा कँडेल बताउँछिन् । मनाङमा वर्षभरिमा सरदर ३९५ मिलिमिटर पानी पर्दछ ।

मनसुन अवधिको चार महिनामा मात्रै सरदर २३४ मिलिमिटर वर्षा भएको रेकर्ड छ । जल तथा मौसम विज्ञान विभागका प्रवक्ता विक्रम श्रेष्ठका अनुसार मुस्ताङमा मनसुन अवधिभर सरदर २७१ मिलिमिटर पानी परेको रेकर्ड मौसम विज्ञान विभागसँग छ तर त्यसको ३० प्रतिशतभन्दा बढी पानी दुई दिनकै अवधिमा परेको छ ।

मनाङ जिल्लामा पि्रमनसुन अवधिमै पनि अन्य वर्षहरुको तुलनामा बढी पानी परेको थियो । हिउँ पनि धेरै परेको थियो । त्यसैले त्यहाँको जमिन कमजोर भयो र यस वर्षको मनसुन सुरु हुनासाथ विपत्ती निम्तायो । असार सुरुकै वर्षाका कारण मनाङमा मात्रै एक हजार भन्दा बढी व्यक्ति विस्थापित भएको जिल्ला प्रशासन कार्यालयको तथ्यांक छ ।

३. कोरोना संक्रमणको महामारी

कोरोना भाइरसको दोस्रो लहरले यस वर्ष नेपाल पनि नराम्रोसँग प्रभावित भयो । असार ३ गतेसम्म पनि ७५ जिल्लामा निषेधाज्ञा जारी रहनुले संक्रमणको जोखिम कायमै रहेको थाहा हुन्छ । वर्षायाममा पनि कोरोना संक्रमणको दोस्रो लहरको प्रभाव कायमै रहने देखिएको छ । बाढी, पहिरो, डुबान लगायतको पूर्वतयारी र प्रतिकार्य कोरोना संक्रमणले प्रभावित हुने चिन्ता सरकारी अधिकारीहरुलाई छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव राजेन्द्र शर्मा भन्छन्, ‘उद्धार, पुनःस्थापना र प्रतिकार्यका अरु क्रियाकलापनहरु कोभिड-१९ को सम्भावित संक्रमणबाट जोगिएर गर्नुपर्ने चुनौती छ । बाढी र डुबानको अत्यधिक जोखिम रहेका जिल्लाहरु नै कोभिडको पनि धेरै जोखिममा छन् ।’

राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण तयार पारेको सम्भावित जोखिमको सूची अनुसार २३ जिल्लाका १७ लाख बासिन्दा बाढीबाट र २६ जिल्लाका १ लाख २० हजार बासिन्दा पहिरोबाट प्रभावित हुने अनुमान छ । प्राधिकरणका अनुसार २०६८ साल वैशाख १ देखि २०७७ चैत ३१ सम्मको अवधिमा पहिरोबाट १२ सय ५ जनाले ज्यान गुमाए भने २९७ जना बेपत्ता भएको तथ्यांक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*