Home / Feature Breaking news / राप्ती समाज युकेले दाङ्गमा पठायो तीन थान अक्सिजन कन्सनट्रेटर

राप्ती समाज युकेले दाङ्गमा पठायो तीन थान अक्सिजन कन्सनट्रेटर

दाङ, ४ असार

बेलायतमा बसोबास गर्ने राप्तीवासीहरुको संस्था, राप्ती समाज युके, ले दाङ्गका तीन ओटा  स्वास्थ्य केन्द्रहरुमा अक्सिजन कन्सनट्रेटरहरु वितरण गरेको छ।

देउखुरीस्थित लमही अस्पताललाई प्रदान गरिएको एक थान  अक्सिजन कन्सनट्रेटर लमही नगरपालिकाका मेयर कुल बहादुर केसी तथा अस्पतालकी डा रंजितालाइ हस्तान्तरण गरिएको थियो।

त्यस्तै देउखुरीकै राजपुर स्वास्थ्य केन्द्रका लागि प्रदान गरिएको एक थान अक्सिजन कन्सनट्रेटर  राजपुर नगरपालिकाका उपमेयर धनपति यादव तथा स्वास्थ्य केन्द्रकी  इनचार्ज कमला रोकालाइ हस्तान्तरण गरिएको थियो।

थप एक थान अक्सिजन कन्सनट्रेटर पश्चिम दाङ्गस्थित बंगलाचुली गाउँपालिकाका अध्यक्ष भक्त बहादुर जीसी तथा स्वास्थ्य केन्द्रका  इनचार्ज भक्त जीसीलाई  हस्तान्तरण गरिएको थियो।

यसै गरी लायन्स क्लब अफ घोराही सिटीको तर्फबाट  मास्क, स्यानी टाइजर, पीपीइ सेट तथा पन्जा लगायतका स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरिएको थियो।

“नेपालमा अक्सिजनको अभाव व्यहोरिरहेका कोभिडका  बिरामीहरुलाई  मदत पुगोस भन्ने उद्देश्यले हामीले आफ्ना सदस्यहरुबाट सहयोग संकलन गरेका थियौं।  हामीले गरेको सहयोग कोभिडबाट  अत्यधिक प्रभावित जिल्लाहरु मध्ये एक, दाङ्ग, मा पुगीसकेको र कोभिड पीडितहरुले सेवा प्राप्त गर्न थाली सकेको थाहा पाउँदा हामीलाई निकै खुसी लागेको छ,”  राप्ती समाज युकेका अध्यक्ष हिक्मत सिं रोकाले भने ।  समाजले साबिकको राप्ति अञ्चलका  अरु जिल्लामा पनि यस्तै स्वास्थ्य सामग्रीहरु सहयोग गर्ने बारे विचार भै रहेको पनि उनले बताए।

त्यसै गरी राप्ती समाज युकेका सचिव काउन्सिलर दिनेश खड्काले स्थापना काल देखि नै राप्ती समाजले नेपालमा भूकम्प, आगलागी जस्ता घटनाका पीडितहरुलाई मदत गर्दै आएको बताए ।  “सिङ्गै विश्व कोभिडबाट पीडित भैरहेको बेला आफ्नो जन्मभूमिको लागि सानो भए पनि सहयोग गर्न पाउँदा हामीलाई खुसी लागेको छ,” उनले भने ।

राप्ती समाज युकेले प्रदान गरेका ती  अक्सिजन कन्सनट्रेटरहरु स्वास्थ्य केन्द्रहरुसम्म पुराउने कामको संयोजन  जाल्पा सामुदायिक लघुवित्त वित्तिय संस्थाका लुम्बिनी प्रदेश प्रमुख पवन योगीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*