Home / Feature Breaking news / उत्पादन बढाउन बाख्रा तथा बंगुर बितरण गरिने

उत्पादन बढाउन बाख्रा तथा बंगुर बितरण गरिने

अमरराज आचार्य

दाङ, १३ बैशाख । घोराही उपमहानगरपालिकाले बाख्रा तथा बंगुरमा आत्मनिर्भर बनाउन कृषकहरुलाई बाख्रा र बंगुर वितरण गर्ने भएको छ । उपमहानगरपालिकाले संघीय सरकार तथा घोराही उपमहानगरपालिकाको सहयोगमा बाख्रा र बंगुर वितरण गर्न थालेको हो । यसमा कृषकको लागत सहभागितासमेत रहने भएको छ । जसले गर्दा कृषकहरुको पनि अपनत्व हुने विश्वास उपमहानगरपालिकाले लिएको छ ।

बाख्रा, बोका तथा बंगुर वितरण गर्ने कार्यक्रम उपमहानगरपालिकाले पहिलोपटक सञ्चालन गर्न लागेकोे घोराही उपमहानगरपालिका पशु विकास शाखाका प्रमुख जीवराज पौडेलले जानकारी दिए । उपमहानगपालिकाले चालु आर्थिक वर्ष २०७७÷०७८ बाट यस प्रकारको कार्यक्रम सुरु गर्दैछ । उपमहानगरपालिकाले यस प्रकारको सहयोग कृषक समूहलाई प्रदान गर्ने उनले बताए । ‘नगरको वडा नं. १ मा रहेका ५ वटा कृषक समूहलाई बाख्रा तथा बोका वितरण गरिने छ’, पौडेलले भने । वडा नं. १ लाई उपमहानगपालिकाले बाख्रा पकेट क्षेत्रको रुपमा अगाडि सारेको छ ।

कृषकहरुलाई बाख्रा वितरण गर्नका लागि अहिले घोराही उपमहानगरपालिकाले बाख्रा तथा बोका खरिदका लागि सार्वजनिक सूचना प्रकाशन गरेको छ । चालु आर्थिक वर्षमा कृषकलाई ५ वटा बोयर बोका र १ सय ७४ वटा बाख्रा वितरण गरिने भएको छ । ‘बाखा प्रवद्र्धन कार्यक्रम अन्र्तगत बाखा तथा बोयर बोका वितरण गर्न थालिएको हो’, पौडेलले भने । बाखा प्रवद्र्धन कार्यक्रमले घोराही उपमहानगरपालिकालाई खसी तथा बाख्राको मासुमा आत्मनिर्भर बनाउन सहयोग पुग्ने अपेक्षा लिइएको छ । बाख्रा तथा खसीको मासुमा आत्मनिर्भर हुन नसक्दा अहिले बाहिरबाट ल्याउनुपर्ने बाध्यता रहेको छ । जसले गर्दा रकमसमेत बाहिर जाने गरेको छ ।

व्यावसायिकरुपमा बाख्रापालन भएमा धेरैले रोजगारसमेत पाउन सक्नेछन् । जसले गर्दा नागरिकको आर्थिक स्थितिमा सुधार ल्याउन सहयोग पुग्ने छ । बाख्रा तथा बोयर बोका खरिदका लागि घोराही उपमहानगरपालिकाले १९ लाख ९० हजारको ठेक्कासमेत आह्वान गरिसकेको छ । त्यस्तै कृषकको ३ लाख बढी रकम खर्च हुने उनको भनाइ रहेको छ । यसरी खरिद गरिने बाखा तथा बोका २० केजीभन्दा माथि ३५ केजीसम्मको हुनुपर्ने पशु विकास शाखाका प्रमुख पौडेल बताए । खरिद गरिने बाख्रा तथा बोका निरोगी भएको प्रमाण–पत्रसहितको हुनुपर्ने उनी बताउँछन् ।

४ सय ८० वटा बंगुर वितरण गरिदै

यसै गरेर घोराही उपमहानगरपालिकाले बगुर प्रबद्र्धन कार्यक्रमअन्र्तगत चालु आर्थिक वर्षमा ४ सय ८० वटा बंगुर वितरण गर्ने भएको छ । उपमहानगरपालिकाका वडा नं. २, ३, ४, १३, १६ र १७ नम्वर वडामा वितरण गरिने पशु विकास शाखाका प्रमुख पौडेलले जानकारी दिए । यसका लागि करिब २४ लाख खर्च हुने उनको भनाइ रहेको छ । यसमा कृषको लागत पनि रहेन भएको छ ।

‘उपमहानगपालिका र कृषकहरुको लागत साझेदारीमा वितरण गरिनेछ’ प्रमुख पौडेलले भने । यस प्रकारको कार्यक्रमले घोराहीलाई मासुमा आत्मनिर्भर बनाउन सहयोग पुग्ने उनको भनाइ छ । अहिले कुखुराको मासु र अण्डामा घोराही उपमहानगरपालिका आत्मनिर्भर रहेको उपमहानगरपालिकाले जनाएको छ । अन्य क्षेत्रमा पनि आत्मनिर्भर बनाउन उपमहानगरपालिका लागिपरेको उनको भनाइ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*