Home / Feature Breaking news / मावि झिङ्नीमा मनोसामाजिक सचेतना

मावि झिङ्नीमा मनोसामाजिक सचेतना

घोराही, ३ चैत

घोराही उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको मावि झिङ्नीमा मनोसामाजिक सचेतना कार्यक्रम शुक्रवार सम्पन्न भएको छ । नेपाल महिला सामुदायिक सेवा केन्द्रको आयोजनामा विद्यार्थी र शिक्षकहरुकालागी मनोसामाजिक सचेतना कार्यक्रम आयोजना गरिएको हो ।

नेपाल महिला सामुदायिक सेवा केन्द्र र नागरिक आवाज ललितपुरको सहकार्यमा दाङ जिल्लामा सञ्चालित महिला शान्ति र सुरक्षा कार्यक्रम अन्तरगत विद्यालयमा आयोजना गरिएको मनोसामाजिक सम्बन्धी सचेतना कार्यक्रममा ९० जना शिक्षक तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
नेपाल महिला सामुदायिक सेवा केन्द्रका अध्यक्ष कल्पना न्यौपानेको अध्यक्षता एवं विद्यालयका प्रधानाध्यापक श्रीकुमार पोख्रेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा महिला शान्ति र सुरक्षा कार्यक्रमका मनोसामाजिक मनोविमर्शकर्ता लक्ष्मी ढकालले मनोसामाजिकका बारेमा जानकारी गराउनुभएको थियो ।

शिक्षक तथा विद्यार्थीहरुलाई मनोसामाजिक भनेको के हो, मनोसामाजिक समस्या, मनोसामाजिक समस्याका लक्षणहरु, मनोसामाजिक समस्यासँग सामना गर्ने उपायहरुका बारेमा ढकालले जानकारी गराउनुभएको थियो । त्यस अवसरमा सहभागी शिक्षक र विद्यार्थीहरुलाई माईण्ड फुलनेश अभ्यास पनि गराईएको थियो ।

कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक श्रीकुमार पोख्रेलले मानसिक समस्याको बारेमा मानिसहरु जानकार हुन नसकेकाले मानसिक समस्याले समाजमा जडो गाडीसकेको बताउनुभयो । उहाँले हरेक विद्यालयका शिक्षकहरुलाई मनोसामाजिक समस्याका बारेमा जानकारी हुन आवश्यक भएकाले यस्ता कार्यक्रमहरु हरेक विद्यालयमा सञ्चालन गनुृपर्ने बताउनुभयो ।

‘जब कुनै पनि विषयमा शिक्षक जानकार हुन्छ तबमात्र उसले आफ्ना विद्यार्थीहरुलाई ज्ञान दिन सक्छ’ प्रधानाध्यापक पोख्रेलले भन्नुभयो– ‘त्यसैले हरेक विद्यालयका शिक्षकहरु मानसिक समस्याका बारेमा जानकार हुन आवश्यक छ ।’ उहाँले विद्यार्थीहरुले सिकेको ज्ञान घरपरिवार र समाजमा बाढ्न सक्ने भएकाले उनीहरुलाई मनोसामाजिक समस्याका बारेमा जानकारी गराउन पनि आवश्यक रहेको बताउनुभयो । शारिरिक समस्या भएपनि सहज रुपमा जिवनयापन गर्न सक्ने तर मानसिक समस्या भएमा जिवन यापन गर्न नै अप्ठेरो हुने भएकाले यस विषयमा सबै जानकार हुनुपर्ने उहाँको भनाई थियो ।

कार्यक्रममा सहभागीहरुले बालबालिकाहरुमा विविध कारणले मानसिक समस्या देखिने भएकाले अभिभावकहरु पनि सचेत हुनुपर्ने बताएका थिए । शिक्षक र अभिभावकहरुले बालबालिकाहरुको भावना बुझ्न सकेमा उनीहरुको पढाईमा सुधार हुन सक्ने वक्ताहरुको भनाई थियो ।

कार्यक्रममा नेपाल महिला सामुदायिक सेवा केन्द्रका उपाध्यक्ष विष्णु गिरी, विद्यार्थीहरु अशोक विश्वकर्मा, सम्झना शर्माले मन्तव्य राख्नुभएको थियो । महिला शान्ति र सुरक्षा कार्यक्रमका प्रशासनिक सहायक सरस्वति चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण कार्यक्रम प्रमुख रमेश के.सीले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*