Home / Feature Breaking news / फोहर खरिद गर्दै घोराही उपमहानगरपालिका

फोहर खरिद गर्दै घोराही उपमहानगरपालिका

अमरराज आचार्य

दाङ, ३ वैशाख । घोराही उपमहानगरपालिकाले नगरलाई सफा सुग्घर बनाउने र फोहरजन्य बस्तुलाई पुनप्र्रशोधन गर्ने अभियानअनुरुप फोहर खरिद सुरु गरेको छ । नयाँ बर्ष २०७८ को अवसर पारेर उपमहानगरपालिकाले फोहरजन्य बस्तुलाई प्रतिकिलो अधिकतम २० रुपैयाँसम्म भुक्तानी दिने गरेको छ । थोरै मात्र सदुपयोग हुन सक्ने फोहरको प्रतिकिलो मूल्य भने २ रुपैयाँ प्रतिकिलो तोकेको जनाएको छ ।

घोराही उपमहानगरपालिकाले करिब डेढ दशक अघिदेखि नै फोहरलाई मोहरमा परिणत गर्ने उद्घोष गरेको थियो । गल्ने फोहरबाट वायो ग्यास र जैविक मल उत्पादन गर्ने र नगल्ने प्लाष्टिकजन्य फोहरलाइ पुनर्प्रशोधन गर्ने नीति लिएको थियो । त्यसैअनुरुप प्राङ्गारिक मलसँगै वायोग्यास वितरणको तयारी पनि घोराही उपमहानगरपालिकाले थालिसकेको छ । फोहरलाई मोहर बनाउने अभियानअन्र्तगत फोहर वस्तु खरिद गर्न सुरु गरिएको घोराही उप महानगरपालिका वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक तथा वडा नं. १४ का वडाध्यक्ष शक्तिराम डाँगीले जानकारी दिए ।

उपमहानगरपालिकाले प्लाष्टिकको बोत्तलसहित नरम पोलिथिन एक किलोलाई १० रुपैयाँ, कपडा प्रतिकेजी ५ रुपैयाँ, सूर्तीजन्य प्लाष्टिकको फोहर प्रतिकेजी २ रुपैयाँ, गत्ता, कापीसहित बर्गीकरण अनुसारका फोहरलाई १० देखि २० रुपैयाँ प्रतिकिलोमा खरिद गरिने डाँगीले बताए । यसरी खरिद गरिएको गल्ने फोहरलाई ल्याण्डफिल साइडमा रहेको बायो ग्यासमा प्रयोग गरिने र नगल्ने फोहरलाई उद्योगहरुसँग समन्वय गरेर बिक्री गरिने घोराही उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले जानकारी दिए ।

नगल्ने फोहरहरु विशेष गरी प्लाष्टिक र सीसाका वस्तुहरु उद्योगमा पठाइने छ । यसका लागि उद्योगसँग सम्झौता गरिने छ । अहिले सम्झौताका लागि छलफल भइरहेको उनको भनाइ रहेको छ । ‘अहिले खरिद गरेर संकलन गरेर एक स्थानमा राखिने छ त्यसपछि बिक्री गर्नेछौं’, प्रमुख प्रशासकीय अधिकृत केसीले भने । खरिद गरिएको फोहर राख्नका लागि समेत स्थान बनाइ सकिएको उनको उनको भनाइ रहेको छ ।

फोहर खरिदका लागि उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०७७÷०७८ मा ६ लाख बजेट विनियोजन गरेको छ । अघिल्लो वर्षदेखि नै फोहर खरिद गर्ने योजना गरे पनि कोभिडका कारण गत वर्ष यस प्रकारको कार्यक्रम सुरु हुन नसकेको उपमहानगरपालिकाले जनाएको छ । टोल टोलसम्म पुगेर फोहर खरिद गर्ने योजना रहेको संयोजक डाँगी बताउँछन् । ‘आफूले गरेको फोहर आफै व्यवस्थापनका लागि यस अभियानले सहयोग पु¥याउने छ’, उनले भने ।

उपमहानगरपालिकाले टोल टोलसम्म सचेतना फैलाउनका लागि ३ जना सरसफाइ स्वयंसेवक समेत परिचालन गर्ने भएको छ । उनीहरुले टोल टोलमा पुगेर फोहर उपमहानगरपालिकालाई बिक्री गर्नुस् भनेर आग्रह गर्नेछन् । फोहर नगरपालिकाले खरिद गरिदिने भएपछि नगरवासीहरुले जताततै फोहर नफाल्ने नगपालिकाको अपेक्षा रहेको छ । ‘फोहर पनि बिक्री गरेर पैसा आउने भएपछि जताजतै फोहर हुने छैन’, संयोजक डाँगीले भने । सवारीका साधनले गाडीबाट फोहर फाल्न नदिएर निश्चित स्थानमा फोहर जम्मा गरेर नगरपालिकालाई बिक्री गर्न सक्नेछन् ।

जताजतै फोहर नभएपछि वातावरण समेत सुन्दर तथा सफा हुनेछ । सफा शहर निर्माण भएमा पर्यटकीय क्षेत्रको रुपमा समेत विकास हुनेछ । नाला, तथा सडकमा फालेको फोहर खेतवासीसम्म पुग्ने छैन । जसले गर्दा उत्पादनमा समेत बृद्धि हुने उनले बताए । जसले गर्दा यस क्षेत्रको आर्थिक विकास तथा अन्य विकासले समेत गति लिने छ ।

फोहर जलाएर हुने बायु प्रदूषणसमेत कम हुनेछ । उपमहानगरले फोहर खरिद गरिदिएपछि फोहर व्यववस्थापमा समेत सहयोग मिल्ने अपेक्षा लिइएको छ भने नगरवासीले आफैले फोहर व्यवस्थापन गरेमा सरसफाइको लागि तिर्दै आएको शुल्क पनि घट्ने उनी बताउँछन् । ‘हामीले दैनिकरुपमा फोहर उठाउन जानु परेन भने सरसफाइ शुल्क पनि कम हुन्छ’, संयोजक डाँगीले भने ।

यसले नगरवासीलाई थोरै भए पनि सहयोग पुग्ने छ । ‘दैनिक फोहर उठाउन गाडी पठाइदिनुस् भनेर खवर गर्नुभन्दा फोहर छुट्टाएर खरिद गर्न आउनु भन्ने भन्न सक्नुपर्दछ यसले नागरिक र नगरपालिका दुबैलाई फाइदा पुग्नेछ’, उनले भने । नगरपालिकाले थालेको यस प्रकारको योजना सफल बनाउन नगरवासीको सहयोग आवश्यक पर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*