Home / Feature Breaking news / खुलेन कोइलाबास नाका…

खुलेन कोइलाबास नाका…

अमरराज आचार्य

दाङ, ६ माघ । चैत महिनादेखि बन्द भएको कोइलाबास नाका हालसम्म खुल्न सकेको छैन । कोरोना संक्रमण फैलन नदिनका लागि सरकारले गरेको लकडाउनसँगै बन्द भएको नाका हालसम्म पनि खुल्न नसकेको हो ।

सरकारले सबै क्षेत्र खुल्ला गरिसके पनि जिल्लाको भारतसँग जोडिएको नाका भने खुल्न सकेको छैन । नाका बन्द हुँदा कोइलाबासवासीहरुले धेरै समस्या भोग्नुपरेको गढवा गाउँपालिकाका वडा नं. ८ का अध्यक्ष सद्धाम सिद्धीकीले बताए । नाका बन्द हुँदा आवत–जावत गर्न समेत पाएका छैनन् । सरकारले सबै नाकासँगै कोइलावास नाका पनि बन्द गरेको र हालसम्म खुल्ला नगरेको अध्यक्ष सिद्धीकी बताउँछन् ।

भारतले आफ्नो तर्फबाट खुल्ला गरे पनि नेपाल सरकारले नाका खुल्ला नगरेको उनको भनाइ रहेको छ । सबै कुरामा भारतै निर्भर रहेका स्थानीय बासिन्दाहरुलाई नाका बन्द हुँदा धेरै समस्या भएको अध्यक्ष सिद्धीकी बताउँछन् । भारततर्फ जान नपाएपछि स्थानीयहरु गढवा बजार तथा लमही बजार जाने गरेको उनले बताए ।

कोइलावासबाट लमही आउनका लागि ३४ किलोमिटर रहेको छ । अहिले खाद्यान्न, कपडा, तेल, नुन, चिनी, सावुन–सलाईलगायतका आवश्यक पर्ने सम्पूर्ण सामग्री ल्याउन लमही बजारसम्म आउनुपर्ने बाध्यता रहेको छ । कोइलाबासका स्थानीय बासिन्दाहरु सम्पूर्ण कुरामा भारतमा भर पर्ने गरेका थिए । कोइलाबासदेखि लमही आउनभन्दा भारतको बजार गएर समान ल्याउन आफूहरुलाई सहज हुने एक स्थानीय बासिन्दाले बताए ।

‘हामीलाई गढवा, लमही पुग्नुभन्दा भारतको बजार गएर सामान ल्याउँदा छिटो र सहज हुने गर्दछ’, उनले भने । तर अहिले भारतमा गएर सामान ल्याउन नपाएको उनले बताए । स्थानीय बासिन्दाहरुले नाका खुलेमा आफूहरुलाई सहज हुने बताउँछन् । सरकारले सबै क्षेत्र खुल्ला गरिसके पनि कोइलाबास नाका खुल्ला नगरेको उनीहरु बताउँछन् ।

जिल्लाका विभिन्न स्थानबाट घुम्न आउनेहरु नाकाको गेटसम्म पुगेर फर्कने गरेका छन् । आफ्नो जिल्लाको सीमा हँुदै भारतसम्म घुम्न आउनेहरु दुई देशको गेट हेरेर फर्कने गरेको वडा अध्यक्ष सिद्धीकी बताउँछन् । लमहीदेखि कोइलावाससम्म बाटो पिच भएपछि पछिल्लो समय कोइलावास आन्तरिक पर्यटनको रोजाइँको स्थानसमेत बनेको छ । अहिले दैनिक जिल्ला तथा जिल्ला बाहिरका नागरिकहरु कोइलावाससम्म पुग्ने गरेका छन् ।

पहाड हेर्न आउने आउन पाएनन्

भारतबाट पहाड हेर्नको लागि विद्यार्थीहरु कोइलावाससम्म आउने गर्दथे । तर यस वर्ष भने भारतबाट विद्यार्थीहरु आउन नपाएको वडा अध्यक्ष सिद्धिकीले बताए । यस सिजनमा चहल–पहल हुने कोइलावास अहिले सुनसानजस्तै रहेको उनको भनाइ छ । केही नेपालीहरु आउने भएकाले केही मात्रामा चहल–पहल हुने गरेको उनको भनाइ छ ।

‘नाका बन्द हुँदा भारतबाट पहाड हेर्न भनेर आउनेहरु आउन सकेका छैनन्’, अध्यक्ष सिद्धिकीले बताए । नेपालबाट भारत जान पाउने र भारतबाट नेपालमा आउन पाउने भएमा धेरै भारतीय पर्यटकहरु आउने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*