Home / Feature Breaking news / उड म्युजियम प्लस ग्रिनपार्क

उड म्युजियम प्लस ग्रिनपार्क

खेमराज रिजाल
देउखुरी, २८ मंसिर । देउखुरीको कुलपानी सामुदायिक वनले एउटा अभियान ल्याएको छ, काष्ठकला संग्रहालय र ग्रिन पार्क । त्यसै अनुरुप त्यहाँ लडिया, ढिँकी, खुर्पेटा, तोरी पेल्ने कोललगायत सबै काष्ठजन्य सामग्रीहरुबाट निर्मित सामग्रीहरु प्रदर्शनमा ल्याएको छ । किनकि त्यो एउटा काष्ठकला संग्रहालय हो ।

कुलपानी सामुदायिक वनका अध्यक्ष नवराज शर्माले यसलाई सहयोग गर्न प्रदेश सरकार, संघीय सरकार, सञ्चारकर्मी एवं स्थानीय वन समुदाय एवं सामुदायिक वन महासंघलाई समेत सामूहिक रुपमा आग्रह गरेका छन् । बोटिङको व्यवस्थापन भइसकेको छ, जरायोका काष्ठकलाका चित्रहरु छन्, मृगका चित्रहरु छन्, बाख्रा चरिरहेका चित्र छन् । विश्वकर्माले बनाएका चित्र तथा कलाकृतिहरु छन् ।

विद्युत सेवा समेत पुगिसकेको अवस्थामा त्यहाँ विद्युतीय पानीका फोहरा देखिने दृश्य पनि देखिएको छ । यसले देखाएको छ, कुलपानी सामुदायिक वनले गरेको वनजन्य उद्यम र संस्कृतिको उजागर। त्यसैले काष्ठ संग्रहालयमार्फत् सो सामुदायिक वनले सबैको ध्यानाकर्षण गर्न चाहेको छ । यस अघि सुरु भएको कम्तिमा एक दर्जनभन्दा बढी वन समूहको साझेदारीमा चलेको काष्ठ उद्योगलाई यहाँको वन कार्यालयले यो र त्यो वहानामा उद्योगका रुपमा चल्न दिएन ।

घरेलु कार्यालयलाई अनुरोध गरे पनि उद्योगका रुपमा चल्न स्वीकृति दिएन । त्यसैले त्यहाँका वन समुहको उद्देश्यमा अझै पनि धक्का लागिरहेको छ । किनकि राज्यका सबै स्थानीय पालिकाले वन ऐन र वन नीति बनाउनसकेका छैनन् । तुलसीपुर उपमहानगरपालिकाले भने वन ऐन बनाइसकेको छ । सामाजिक अभियानमा लाग्दालाग्दै कुलपानी सामुदायिक वनमा धेरै अवरोध भए पनि पछिल्लो समयमा काष्ठकला म्युजियमको उद्घाटन तथा त्यसमा वन महासंघको सहयोग प्राप्त भएको छ ।

वन महासंघका केन्द्रीय सचिव ठाकुर भण्डारीले तीन लाख रुपैयाँ सहयोग गरे अनि थप सहयोगको पनि पहल गर्ने अभिव्यक्ति दिए । साथै उनले थप सहयोगका लागि पनि आश्वासन दिए । ‘हामी वन उद्यम र वन पर्यटनको सम्भावनामा सहयोग गर्न आतुर छौँ, त्यसैले पनि वनबाट आय आर्जन गर्न उपभोक्ताहरुलाई आग्रह गर्दछु’– सचिव ठाकुरले भने ।

यसै सन्दर्भमा अभिमुखीकरण समेत सम्पन्न भएको छ । कुलपानी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष नवराज शर्माको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि तथा प्रदेश सभा सदस्य अमर डाँगीले सामुदायिक वनले वन जोगाएकाले वनको उपभोग गर्न पनि वन जोगाउनेहरुलाई नै दिनुपर्ने बताए । यसका लागि समूहगत रुपमा सबै वन समूहले उद्यमीको कार्यक्रम ल्याएमा आफूहरुले सहयोग गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।

‘बिग टक नो वर्क, अहिलेको सरकारले गरिरहेको मैले देखेको छु, त्यसमा तपाईंहरु कत्ति पनि विचलित नहुनुहोला, हामीले उद्यमशीलताका विषयमा प्रदेशका सबै सभासदहरुले सामूहिक बल र दायित्व वन उद्यममा प्रयोग गर्ने छौँ । कार्यक्रममा विशिष्ट अतिथि एवं प्रदेश सभा सदस्य अर्जुन श्रेष्ठले वन पैदावारको उपयोग र संरक्षणको दायित्व पनि उनीहरुकै भएको बताए ।

‘जसले वन जोगाएको छ, त्यसैले उपयोग र सदुपयोग गर्न पाउनुपर्छ तर अहिले राज्यले वन संरक्षणकर्ताहरुलाई अधिकार विमुख बनाउनु दुर्भाग्यको कुरा हो’–सभासद श्रेष्ठले भने । त्यसै अवसरमा अर्का प्रदेश सभा सदस्य इन्द्रजित चौधरीले यो क्षेत्रलाई पर्यापर्यटकीय क्षेत्र बनाउन आफूहरु आतुर रहेको बताए । प्रदेश पर्यटन मन्त्रालयले आफ्नो क्षेत्रमा पठाएको बजेट पनि यही संग्रहालयमा उपयोग गर्ने गरी आफूले पहल गर्ने पनि उनले प्रतिबद्धता जनाए ।

कार्यक्रममा राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले अहिले कोरोनाको लाडाइँका विषयमा बजेट नभए पनि अर्को वर्ष आवश्यक प्रोटोकल लिएर आए सहयोगका सम्झौता गरिने बताएका थिए ।

त्यसैगरी गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले पनि वन उद्यमलाई आफूले सहयोग गर्ने बताउँदै स्थानीय उपभोक्तालगायतको आय आर्जन र पर्यापर्यटनको समृद्धिका लागि आफूले कार्यपालिकाबाट बजेट विनियोजन गर्ने आश्वासन दिए । कार्यक्रममा सामुदायिक वन महासंघ दाङका अध्यक्ष भूपेन्द्र वलीले धन्यवाद ज्ञापन गरेका थिए भने सहजीकरण चित्रले गरेका थिए ।

यसैबीच वन समूहले आय आर्जनका लागि गरेको योजना काष्ठजन्य उद्योग र माटोका भाडा बनाउने उद्योगको समेत स्थलगत अनुगमन गरिएको थियो । माटोका भाडा बनाउनेहरुले गमला बनाएका थिए भने खुत्रुके पनि बनाएकोमा वन महासंघले प्रशंसा गरेको थियो ।

पछिल्लो समयमा माटाका भाँडाकुडाको संस्कृतिलाई बचाउन आम नागरिक समेत सचेत बन्नुपर्ने आम माटा व्यवसायीले बताएका थिए । त्यसमा सामुदायिक वन महासंघले आवश्यक सहयोग गर्ने पनि आश्वासन दिएका छन् । ‘वन उद्यामीहरुलाई सहयाग गर्न हामी तयार छौँ तर प्रतिफलको पनि अपेक्षा गर्दछौँ’–वन महासंघका केन्द्रीय सचिव ठाकुर भण्डारीले भने ।

त्यसै अवसरमा संविधानसभाका सदस्य एवं देउखुरीका नेता रश्मि नेपालीले देउखुरीको समृद्धिका सवालमा तीनै तहका सरकारले सहकार्य गरेर अघि बढ्नुपर्ने बताएका छन् । देउखुरीको कला संस्कृतिलाई सबै तहले सहकार्य गरेर राज्यले समेत सहयोग गर्नुपर्ने उनको सुझाव थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*