Home / Feature Breaking news / पर्यटकीयस्थलमा बढ्दै चहल–पहल

पर्यटकीयस्थलमा बढ्दै चहल–पहल

दाङ, १५ मंसिर । लामो समयसम्म कोरोना संक्रमणका कारण सुनसान बनेका जिल्लाका धार्मिक तथा पर्यटकीय स्थलहरुमा चहल–पहल बढ्न थालेको छ । कोरोना संक्रमणदर घटेसँगै स्वास्थ्य सावधानी अपनाएर मन्दिरहरुमा पूजापाठसँगै पर्यटकीय स्थलहरुमा घुमफिर तथा पिकनिकका लागि मानिसको चहल–पहल बढ्न थालेको हो ।

जिल्लाका मठ, मन्दिर, कृत्रिम जलाशयसँगै पर्यटकीय स्थलहरुमा पुग्ने मानिसहरुको संख्यामा बढ्दै जान थालेको छ । जसमध्ये पछिल्लो समय घोराही उपमहानगरपालिका–१३ मा रहेको ज्यामिरे दहमा पुग्ने मानिसहरुको संख्यामा समेत वृद्धि भएको डुंगा चालक बिरजन पुनले बताए ।

कोरोना संक्रमणको जोखिमका लामो समयसम्म चल्न नसकेका डुंगा अहिले चल्न थालेको उनले बताए । ‘कोरोनाको जोखिमका कारण मानिसहरु घुम्न आउन छोडेपछि करिव ६÷७ महिना जति दहमा डुंगा चलेन’, उनले भने– ‘तर अहिले कोरोना जोखिम कम भएसँगै मानिसहरु फेरि घुम्न आउने क्रम बढेको छ ।’

उनका अनुसार आजभोलि दैनिक करिब २ सयको संख्यामा मानिसहरु दहमा घुमफिर तथा डुंगा चढ्न आउने गरेको समेत बताए । ज्यामिरे दह सामुदायिक वन उपभोक्ता समूहको जंगलको बीचमा रहेको दल आकर्षक रहेको छ । वडा नं. १३ कै बाह्रकुने दहसँग जोडिएको ज्यामिरे दहलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नका लागि करिब तीन बर्ष पहिले तालको चौडाई, लम्वाई र गहिराई बढाइएको थियो । ‘पहिले सानो ताल रहेको थियो ।

त्यही ताललाई पछि डोजरको साहेताले तालको लम्वाई, चौडाई र गहिराई बढाएपछि दह चर्चामा आएको हो’, डुंगा चालक बिरमानले भने– ‘अहिले दाङसँगै जिल्ला बाहिरबाट समेत घुम्न मानिसहरु आउने गरेका छन् ।’ करिब १२ बिगाहा क्षेत्रफलमा फैलिएको दलको लम्वाई १ हजार १५ मिटर, चौडाई ४५ मिटर र गहिराई ३० मिटर रहेको ज्यामिरे दह सामुदायिक वन उपभोक्ता समूहले जनाएको छ ।

बाह्रकुने दहबाट ज्यामिरे दह पुग्नका लागि ग्रीलसहितको सिडीहरु निर्माण गरिएको छ । प्रदेश सरकारको सहयोगमा डिभिजन वन कार्यालय दाङले पर्यटकीय क्षेत्रको विकासका लागि ग्रीलसहितको डिसीहरु निर्माण गरिदिएपछि बाह्रकुने दहबाट ज्यामिरे दह मानिसहरुलाई आउन सहज भएको कमल पुनले बताए ।

‘पहिले सानो तालसँगै जंगलको बाटो पनि साँघुरो भएका कारण मानिसहरु खास्सै आउने गरेका थिइनन्’, उनले भने– ‘तर करिब तीन बर्ष तालसँगै बाह्रकुने दहबाट ज्यामिरे दहलाई जोड्ने बाटोलाई राम्रो बनाएपछि बाह्रकुने दह आउने मानिसहरु ज्यामिरेसम्म आउने गरेका छन् ।’ यसले बन समूहको आम्दानीमा समेत वृद्धि भएको छ । बाह्रकुने दहदेखि ज्यामिरे जोड्नका लागि सिडीसहितको रेलिङ निर्माणको कामलाई छिट्टै पूरा गर्ने डिभिजन वन कार्यालय दाङले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*