दाङ,१५ कार्तिक । कोरोना भाइरसको जोखिम बढ्दै गएपछि बन्द भएका घोराहीका विद्यालयहरु कार्तिक १६ गते आइतवारदेखि खुल्ने भएका छन् ।
जिल्लामा कोरोना संक्रमितसँगै मृत्युको संख्यासमेत बढ्न थालेपछि घोराही उपमहानगरपालिकाले असोजको २५ गतेदेखि कार्तिकको १५ गतेसम्मलाई पालिकाभित्रका सम्पूर्ण विद्यालयहरूको पठनपाठन बन्द गर्ने निर्णय गरेको थियो ।
घोराही उपमहानगरपालिका शिक्षा समितिको पहिलेकै निर्णय अनुसार कार्तिक १६ गते आइतवारदेखि पालिकाभित्रका सम्पूर्ण विद्यालयहरु सञ्चालनमा आउने घोराही उपमहानगरपालिका शिक्षा महाशाखाका प्रमुख विनोद गौतमले जानकारी दिएका छन् ।
उनले सम्पूर्ण विद्यालयहरुले अनिवार्य रुपमा स्वास्थ्य मापदण्ड पालना गरेर विद्यालयहरु सञ्चालन गर्न सक्ने समेत बताए ।
‘कोरोना भाइरसको बढ्दो जोखिमसँगै नजिकिदै गरेको दशै पर्वका कारण कार्तिक १५ गतेसम्म विद्यालयहरुमा पठनपाठन रोक्ने निर्णय गरेका थियौ’–शिक्षा महाशाखा प्रमुख गौतमले भने–‘पहिलेकै निर्णय अनुसार अव भोलीदेखि विद्यालयहरुले नियमित शिक्षण सिकाईका कार्यहरु सञ्चालन गर्ने छन् ।’
यसैगरी बबई गाउँपालिकाले पनि भोलीदेखि नै शिक्षण सिकाईका क्रियाकलापहरु सञ्चालन गर्ने निर्णय गरेको छ ।
विद्यार्थी,शिक्षक र अभिभावकको माग र चाहना अनुसार लामोसमयदेखि बन्द रहेको शिक्षण सिकाईको कार्यलाई पुन सञ्चालन गर्ने निर्णय गरेको बबई गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा अधिकृत मोहन दाहालले जानकारी दिएका छन् । त्यसैगरी अन्य पालिकाहरुमा पनि विद्यालय सञ्चालनको तयारी गरिएको छ ।