दाङ, १९ असोज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेताहरुले प्रदेश नं. ५ सरकारले प्रस्ताव गरेको प्रदेशको नाम र राजधानीको समर्थन गरेका छन् ।
सोमवार कांग्रेसका १० जना नेता तथा सांसदहरुले संयुक्त विज्ञप्ति निकालेर प्रदेश नं. ५ को सरकारले प्रदेशको नाम लुम्बिनी र केन्द्र दाङ देउखुरीको भालुवाङ तोक्ने निर्णयको स्वागत तथा समर्थन गरेका हुन् ।
कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दीपक गिरी, केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य किशोरसिंह राठोर, पार्वती डिसी चौधरी, गोपाल दहित, मंगलप्रसाद थारु, योगेन्द्र चौधरी, शिला खड्का, कृष्णकिशोर घिमिरे, नेपाली कांग्रेस बर्दिया जिल्ला सभापति तथा प्रतिनिधिसभा सदस्य सञ्जय गौतम र तथा रोल्पा सभापति तथा पूर्व राज्यमन्त्री अमरसिंह पुनले विज्ञप्ति निकालेर संघीयताको मर्म र भावना अनुसार प्रदेश नं. ५ ले सबैलाई सुविधाजनक र दूरीको हिसावले समेत उपयुक्त स्थान छनोट गरेकाले त्यो प्रस्तावप्रति आफूहरुको पूर्ण समर्थन रहेको उल्लेख गरेका छन् ।
विज्ञप्तिमा यस विषयलाई कुनै पनि राजनीतिक दल तथा नेताहरुले व्यक्तिगत प्रतिष्ठाको विषय नबनाई जनतालाई उत्तेजित बनाउने कार्य नगर्न समेत आग्रह गरेका छन् ।
RaptiSandesh RaptiSandesh