Home / Feature Breaking news / कृषकलाई मल उपलब्ध नगराइएको भन्दै दाङ कांग्रेसको ध्यानाकर्षण

कृषकलाई मल उपलब्ध नगराइएको भन्दै दाङ कांग्रेसको ध्यानाकर्षण

घोराही,१४ असार । असार १५ गत मानो फालेर मुरी फलाउने भनिएपनि किसानको आशामा भने तुसारापात हुँदै गएको नेपाली कांग्रेस दाङले ठहर गरेको छ । रोप्ने धान छिप्पिदासम्म पनि सरकारले किसानलाई आवश्यक पर्ने रासायनिक मल उपलव्ध गराउन नसकेको बताउँदै काग्रेसले कृषकको कुनैपनि विषयलाई महत्व नदिएको आरोप लगाएको छ ।

पार्टी सभापति किर्तिबहादुर खड्का र सचिव शंकर डाँगीले आज एक विज्ञप्ति निकालेर मध्य असारसम्म पनि कृषि सामग्रि कम्पनीका गोदाम रित्तो हुनुले जगत हँसाएको र कृषि प्रधान देश भनिए पनि लज्जास्पद विषय बनेको उल्लेख गर्नु भएको छ । यस्तै, कृषिलाई आधुनिकरण, यान्त्रिकरण र अनुदानका नाममा सरकारले अरबौं रुपैया कृषि क्षेत्रमा विनियोजन गरे पनि किसानलाई खेतीपातीको मौसममा मल समेत दिन नसक्ने हो भने कृषिको आधुनिकरण सफल हुनै नसक्ने जिकिर गर्नु भएको छ । कृषकलाई समयमा मल समेत उपलव्ध गराउन नसक्नुले वर्तमान सरकार किसानमारा बन्दै गएको उहाँको आरोप छ ।

जिल्ला पार्टी सभापति खड्का र सचिव डाँगीले किसानलाई खेतीको समयमा आवश्यक सहयोग गर्न सरकारसँग माग गर्नु भएको छ । अन्यथा कृषकका कुरालाई नजरअन्दाज गरिए राज्य विरुद्ध आन्दोलन पनि हुन सक्ने र यसका लागि आम कृषकहरुको मैदान उत्रिन तयार रहेकाले समयमै ध्यान दिन चेतावनी दिनु भएको छ । किसानहरु संघर्षमा उत्रनु अगावै समस्याको समाधान गर्न उहाँहरुले विज्ञप्तिमार्फत ध्यानाकर्षण गराउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*