Home / Feature Breaking news / राजनीतिक दल भन्छन्- लकडाउनले काम गरेन, स्थानीय तहको जोड लकडाउनमै

राजनीतिक दल भन्छन्- लकडाउनले काम गरेन, स्थानीय तहको जोड लकडाउनमै

मोरङका राजनीतिक दलले ‘लकडाउनले मात्र कोरोना नियन्त्रण हुन नसक्ने’ भन्दै यसको ‘मोडालिटी र विकल्पको विषयमा योजना बनाउन’ सबै स्थानीय तहलाई आह्‍वान गरे । आर्थिक गतिविधि र गरिखाने वर्गको जीवनयापनमै समस्या भएको निष्कर्षसहित मोरङका पाँच राजनीतिक दलले संयुक्त विज्ञप्ति प्रकाशित गरी प्रदेश तथा स्थानीय सरकारको ध्यानाकर्षण नै गरेका हुन् । तर, राजनीतिक दलले दिएको सुझाव मान्‍नु र कार्यान्वयनमा जानुको साटो स्थानीय सरकारहरुले भने लकडाउनलाई नै प्राथमिकता दिएका छन् । अनि धमाधम लकडाउन घोषणा गरिरहेका छन् ।

उर्लाबारी नगरपालिकाले आइतबार बेलुकाबाट साउन ३२ गतेसम्म लकडाउन हुने भन्दै नगरवासीलाई सूचित गरिसकेको छ । उर्लाबारीजस्तै प्रदेश १ मा धेरै स्थानीय तहले ‘कोरोना नियन्त्रणको उपाय मान्दै’ लकडाउनकै बाटो रोजिसकेका छन् ।
प्रदेश १ को राजधानी विराटनगरमा १५ दिने लकडाउन जारी छ । महानगरले माइकिङ गरेर लकडाउन पालना गर्न महानगरवासीलाई आह्‍वान गरिरहेको छ । विराटनगरमा कोरोना संक्रमितको आँकडा दुई सयभन्दा माथि पुगिसकेको छ ।

नेकपा मोरङका अध्यक्ष ऋषिकेश पोखरेलले राजनीतिक दलको बैठकले लकडाउन होइन बरु आ-आफ्नो पालिकाको विशेषताअनुसारको कार्ययोजना बनाउन सुझाव दिइएको बताएका छन् । भन्छन्, “पूर्ण लकडाउनमा जाँदा त्यसले जनजीविका नै ठप्प हुने अवस्था आएकाले सावधानी अपनाएर भौतिक दूरी कायम गर्दा उचित हुन्छ भन्ने हाम्रो ठहर हो ।”

राजनीतिक दलले बरु सीमाक्षेत्रमा कडाइ गर्न र आउजाउमा सावधानी अपनाउन सुझावसमेत दिएका छन् ।

राजनीतिक दलले लकडाउन सहज हुने गरी तर अस्पतालहरुमा क्षमता विस्तार गर्न सुझाव दिएको बताउँदै राजपा मोरङका अध्यक्ष मो. कादिरले बताएका छन् । “निरन्तरको लकडाउनले आर्थिक क्षेत्र तहसनहस हुने अवस्था भएको छ,” उनले भने, “अब कोरोनासँगै हामीले जिउनुपर्ने अवस्था भएकाले यसलाई फैलन नदिन सावधानी अपनाउने गर्नुपर्छ तर लकडाउनले मात्र समस्या समाधान हुन सक्ने देखिएको छैन ।”

समुदाय स्तरमै कोरोना भाइरसको संक्रमण फैलिएको भन्दै प्रदेश १ को राजधानी सहर विराटनगर महानगरले सुरु गरेको पुनः लकडाउनको श्रृंखला प्रदेशभरका स्थानीय तहसम्म फैलिएको छ । विराटनगरपछि इटहरी र धरान उपमहानगरपालिकाले पनि भाइरस नियन्त्रणको माध्यम लकडाउनलाई नै बनाएका छन् । धरानमा संक्रमित बढ्न थालेपछि लकडाउन छ । दुहबीमा जथाभावी हिँडडुल गर्नेलाई जरिवाना नै लगाउने नियम लगाइएको छ । संघीय सरकारले चैत ११ पछि लगाएको लकडाउन खुलेपछि संक्रमण झन् तीव्र रुपमा बढेको पाइएको छ । यसलाई नियन्त्रण गर्नेभन्दै स्थानीय तहहरुले लकडाउन घोषणा गरेका हुन ।

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले एक भिडियो सन्देशमार्फत घरमै रहन, कलडाउनको पालना गर्न र भौतिक दूरी कायम गर्न महानगरवासीलाई अपिल गरेका छन् । “समुदायस्तरमा कोरोना फैलिसकेको छ, पहिलेको जस्तो सहज अवस्था छैन,” पराजुलीले सन्देशमा भनेका छन्, “महानगर एक्लैले यो महामारी नियन्त्रण गर्न नसक्ने भएकाले नगरवासीले पनि सावधानी अपनाउँदै महानगरको प्रयासमा साथ दिनुपर्छ ।” पराजुलीका अनुसार विराटनगरमा परीक्षणको दर र दायरासमेत फराकिलो बनाइएसंगै संक्रमित पहिचान हुने संख्या बढेको हो ।

स्थानीय तहले संक्रमण रोक्न र फैलन नदिन प्रदेश  र संघीय सरकारबाट पर्याप्त मात्रामा सहयोग नगरको भन्दै आफैं निर्णय गरी लकडाउनमा जानुपरेको जनाएका छन् । साउन ३० गतेसम्म जारी विराटनगरको लकडाउनमा खाद्यान्‍न, तरकारी, फलफूल, औषधि पसल, दूध, पानी, ग्यास-इन्धन, अक्सिजन, वारुणयन्त्र, एम्बुलेन्स, भन्सार जाँच चौकी (आईसीपी) बाट आउने सवारी, सरसफाइ, सञ्चारबाहेकका अन्य सम्पूर्ण सेवामा रोक लगाइएको महानगरले जनाएको छ ।

वडादेखि तहसम्म लकडाउन

रंगेलीमा पनि चारवटा वडामा कडाइ गरिएको छ । त्यहाँ बजार क्षेत्रमा समुदायस्तरमै कोरोना फैलिएको बताउँदै मेयर दिलीप बगडियाले भने, “लकडाउनसँगै जनचेतना, परीक्षण र उपचारमा पनि हामीले काम गरिरहेका छौं ।” मोरङको रतुवामाई नगरपालिका १० दिने लकडाउनमा छ । रक्त सञ्चार केन्द्रका कर्मचारीमा कोरोना पुष्टि भएपछि नगरका सबै वडा कार्यालयहरु, संघ-संस्था, सहकारी, वित्तीय संस्थाहरु सबै बन्द भएका छन् । यसैगरी सुन्दरहरैचा नगरपालिकामा नौदिने लकडाउन जारी छ ।

सुनसरी प्रशासनले जिल्लामा रिक्सा, टेम्पो, म्याजिक, माइक्रोलगायत भाडाका साधन सञ्‍चालनमा पूर्ण रोक लगाउने निर्णय गरेको छ । धरान उपमहानगरमा ७ दिन लकडाउन जारी छ । जनस्वास्थ्यविद्हरुसँगको छलफलपछि ‘लकडाउनको निर्णय गरिएको’ उपमेयर मञ्जु भण्डारी सुवेदीले बताइन् । इटहरीमा ५ दिनदेखि लकडाउन छ । इनरुवमा २६ गतेसम्म बैंक तथा वित्तीय संस्थासहित पूर्ण लकडाउन छ । सुनसरीको बराहक्षेत्र नगरपालिकामा तीनवटा वडा सिल भएका छन् । सुनसरीकै रामधुनी, भोक्राहा, हरिनगरा र कोसीमा पनि लकडाउन छ ।

झापाको बिर्तामोडमा अनिश्चितकालीन लकडाउन गरिएको छ । नगर प्रमुख ध्रुवकुमार सिवाकोटीका अनुसार थप संक्रमण समुदायस्तरमा फैलन नदिन लकडाउनको बाटो रोजिएको हो । औषधि पसलबाहेक अन्य पसल र सवारीसाधन ठप्प छन् । बैंक तथा वित्तीय संस्थाहरूको कारोबार सञ्‍चालन गरिएको छैन । झापाको अर्जुनधारा नगरपालिकाले आइतबारदेखि ५ दिनका लागि नगर क्षेत्रमा बन्दाबन्दी (लकडाउन) गर्ने निर्णय लिएको छ ।

प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले औपचारिक कार्यक्रममा लकडाउनको विकल्प खोज्‍नुपर्ने र जनजीवनलाई कोरोनासँगै जुध्दै सामान्य बनाउनेतर्फ ध्यान दिने विषयमा स्थानीय तहलेसमेत तयारी थाल्नु र्ने भन्दै सुझाव दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*