Home / Feature Breaking news / संकटका बेला सरकारलाई सहयोग गर्छौं : कांग्रेस

संकटका बेला सरकारलाई सहयोग गर्छौं : कांग्रेस

काठमाडौं ।

प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसले सरकारमा नरहेर पनि संकटको बेला सँगै लडन सरकारलाई सहयोग गर्ने बताएको छ ।

कोरोना भाइरस (कोभिड–१९) को महामारीसँग लडन सरकारलाई प्रयाप्त समय हुँदा पनि तयारी गर्न नसकेको अवस्थामा कांग्रेसले पूर्ण सहयोग गर्ने निर्णय गरेको हो । पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा मंगलबार बसेको केन्द्रीय पदाधिकारीहरूको बैठकले मानवीय भावनाले सरकारलाई सहयोग गर्ने निर्णय गरेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।

बैठकले कोरोना भाइरस संक्रमण दोस्रो चरणमा प्रवेश गरेको अवस्थामा व्यापक रूपमा परीक्षणको दायरा बढाएर जानसमेत सरकारलाई आग्रह गरेको छ । त्यस्तै बैठकले पीपीई, भेन्टिलेटर, परीक्षण किटलगायतका अपरिहार्य सामग्रीको व्यवस्था छिटो गर्न आग्रह गरेको प्रवक्ता शर्माले बताए । “नेपाली कांग्रेस पार्टीको तर्फबाट सरकारलाई सम्पूर्ण रुपले घचघच्याउने सरकारले परीक्षणको दायरा व्यापक रुपमा बर्ढाएर जानुपर्ने बैठकले आवश्यकता महसुस गरेको छ । सरकारलाई त्यसका लागि अपिल गरेको छ । पीपीई, परीक्षण किट, भेन्टिलेटर जस्ता अत्यावश्यक सामग्रीहरूको अप्रयाप्तता जे छ त्यसलाई चाँडोभन्दा चाँडो सरकारले जुन प्रक्रियाले हुन्छ व्यवस्थापन गर्नलाई आजको बैठकले अपिल गरेको छ,” उनले भने, “सरकारको कमी–कमजोरीहरूको सन्दर्भमा औंल्याउने तर अहिलेको बेलामा सरकारमा सँगै नरहेर पनि सरकारलाई संकटमा साथ दिन सकिन्छ सँगै नरहेर पनि संकटमा सँगै लडन सकिन्छ भन्ने भावनाका साथ नेपाली कांग्रेस पार्टीले सरकारलाई हरसम्भवले सघाउने भन्ने निर्णय पनि आजको बैठकले गरेको छ ।”

स्वास्थ्यकर्मीहरूलाई आवश्यक पर्ने स्वास्थ्य सामग्रीहरू सरकारले उपलब्ध गराउनुपर्ने र स्वास्थ्यकर्मीहरूलाई पनि मानविय भावनाले काम गर्न बैठकले आग्रह गरेको उनले बताए । बैठकले लकडाउन ठूलो जोखिमबाट बच्नका लागि भएकाले सबैलाई ढाडसका साथ उभिन आग्रह समेत गरेको छ ।

कोरोना भाइरस संक्रमणको नियन्त्रणका लागि गरिएको स्वास्थ्य समग्री खरिदमा भएको अनियमितता र भ्रष्टाचारको विषयमाथि छानबिन गर्न बैठकले माग गरेको समेत प्रवक्ता शर्माले बताए । पीपीई, परीक्षण किटलगायत सामग्री ल्याउन ढिलो गर्ने र बजार मूल्यभन्दा बढी रकम खर्च गरेर राज्य कोषमा भ्रष्टाचार भएको ठहर गरिएको उनले बताए ।

ल्याइएका स्वास्थ्य सामग्रीहरू प्रयोग गर्न उचित नहुने स्वास्थ्यकर्मीहरूले बताएको उल्लेख गर्दै गम्भीरतापूर्वक लिएको शर्माको भनाइ छ । “स्वास्थ्य सामग्री खरिदमा भएको जे अनियमितता छ, जे भ्रष्टाचार छ, त्यसलाई छानबिन गर्ने र कारबाही गर्ने भन्ने कुरा पनि नेपाली कांग्रेस पार्टीले सरकारलाई, सम्बन्धित निकायलाई अपिल गर्ने भन्ने पनि निर्णय गरेका छौं,” शर्माले भने, “सँगसँगै यहाँ दोहो¥याउन चाहन्छु सरकारबाट हुने यस बिचमा कुनैपनि अनियमिततामा औंला ठड्याउने तर फेरि पनि सबैलाई सरकारलाई सम्पूर्ण रुपले साथ दिएर हरसम्बत प्रतिपक्षले सघाउने र हरेक नागरिकले सरकारले निर्माण गरेका रणनीतिहरूलाई, सम्बन्धित निकायले बनाएका रणनीतिहरूलाई साथ दिएर संकटमा सबै एकठाउँ उभिने भन्ने निर्णय पनि यो बैठकले गरेको छ ।”

कांग्रेसले देशभन्दा बाहिर रहेर अप्ठ्यारोमा परेका नेपालीहरूलाई व्यवस्थित रुपमा क्वारेन्टाइनमा राख्ने व्यवस्था गरी उद्धार गर्न सरकारको ध्यानाकर्षणसमेत गराएको छ । त्यस्तै ज्यालादारी श्रमिकहरूलाई राहत प्रयाप्त नभएको, सहरी क्षेत्रमा डेरा गरेर बस्ने विद्यार्थीहरूलाई राहतको व्यवस्था गर्नुपर्ने माग समेत कांग्रेसले गरेको छ ।

बैंकबाट २० लाख रुपैयाँसम्म ऋण लिएर व्यवसाय गर्नेहरूलाई कम्तीमा तीन महिनाको ब्याज मिनाहा गर्नुपर्ने, त्यसपछिको ब्याजदर घटाइनुपर्ने, २० लाखभन्दा माथिको ऋण लिएकाहरू, पर्यटन व्यवसायीहरूको ब्याजदरमा छुट दिनुपर्नेलगायतको व्यवस्था गर्नसमेत कांग्रेसले माग गरेको छ । कृषि क्षेत्रमा काम गरेकाहरूलाई ढाडस दिने विषयमा समेत बैठकले सरकारलाई आग्रह गरेको प्रवक्ता शर्माले बताए ।
कांग्रेसले कोरोना भाइरसका विषयमा पार्टीले गर्नुपर्ने कार्यमा सुझाव लिन विज्ञ समूह गठन गर्ने निर्णयसमेत गरेको छ । पार्टीले गर्दै आएको सचेतनाको काममा विज्ञ समुहले परामर्श दिएको आधारमा निर्णय गर्दै जाने समेत प्रवक्ता शर्माले बताए । “पदाधिकारीको बैठकले एउटा विज्ञ समूह निर्माण गर्ने, यो समन्र्भमा विषयगत रुपले एउटा विज्ञहरूको समूह निर्माण गर्ने र र पार्टीले अहिलेसम्म जुन रुपमा सचेतनाको सन्दर्भमा कार्य गरिरहेको छ सरकारलाई सुझाव दिने दवाव दिने सरकारलाई सघाउने सन्दर्भमा जे कार्य गरिरहेको यो सन्दर्भमा अव विज्ञ समुह निर्माण गरेर विज्ञ समूहहरूको परामर्शमा थप यसलाई आफ्नो कार्यलाई व्यवस्थित बनाउने भन्ने पनि बैठकले निर्णय गरेको छ,” शर्माले भने ।

पार्टीका केन्द्रीय सदस्य, संघीय सांसद, गाउँनगर क्षेत्रमा निर्वाचित भएका र उमेदवार भएकाहरू, पार्टीको जिल्ला कार्य समितिको नेतृत्वदेखि टोलसम्मको नेतृत्वमा रहेका सबैलाई आ–आफ्नो ठाउँबाट उच्च मानवीय भावनाका साथ काम गर्न निर्देशन दिएकोसमेत उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*