डा.शेरबहादुर पुन
पहिलो लहरभन्दा दोस्रो लहरमा कोरोना संक्रमितको संख्या लगभग दोब्बर देखियो। मृत्युदर पनि झन्डै पाँच गुणाले बढेको देखिन्छ। तर पछिल्लो समय संक्रमण दर घट्दै गएकाले अबको केही हप्तामा कोरोना संक्रमितको संख्या ओरालो लाग्नेछ।
यद्यपि गाउँघरतिर भने संक्रमण फैलिरहेको खबरहरू आइरहेका छन्। संक्रमितमध्ये केहीमा उपचारपश्चात् पनि हप्तौ वा महिनौसम्म स्वास्थ्य समस्या देखिने गर्दछ। कोरोनाको पहिलो लहरमा कोभिड-१९ को उपचारपश्चात् निको भएकाहरूमा यस्ता समस्या देखिएको थियो।
केही दिनयता फेरि यस्तै समस्या भएकाहरू सम्पर्कमा आउन थालेका छन्। उपचारपश्चात पनि स्वास्थ्यमा देखिने समस्या चार हप्ताभन्दा बढी लम्बिए। यसलाई ‘पोस्ट एक्युट कोभिड-१९ सिन्ड्रोम’ भनिने गरिन्छ। यद्यपि वैज्ञानिकहरूले यसको परिभाषालाई एकरूपता दिन भने बाँकी नै छ।
सर्वसाधारणले भने यसलाई ‘पोस्ट कोभिड वा लङ कोभिड’ भन्ने गर्दछन्।
कोरोना भाइरसको लहरलाई पोस्ट कोभिडको लहरले पनि सँगसँगै पछ्याउने गर्दछ।
नेचर जर्नलमा प्रकाशित लेखमा जनाइएअनुसार अमेरिकामा लगभग ३२ प्रतिशतको हाराहारीमा पोस्ट कोभिडका बिरामी देखिएका छन्।
बेलायतमा पनि केही महिना अगाडि गरेको अनुसन्धानले १० प्रतिशतमा उपचारपश्चात् पोस्ट कोभिडको समस्या हुने देखाएको थियो। इटालीमा झन्डै ८७ प्रतिशतमा उपचारपश्चात् यस्ता समस्या देखिएका थिए।
नेपालमा भने हालसम्म पोस्ट कोभिडका समस्याका बारेमा यकिन तथ्यांक छैन। पोस्ट कोभिडका यी प्रतिशतहरू अनुसन्धानको ढाँचा तथा देश अनुसार फरक-फरक देखिएको भएता पनि यसको व्यापकता कोरोनाको लहरसँगै हुँदो रहेछ भनेर सहजै अनुमान गर्न सकिन्छ।
नेपालमा पनि कोरोना संक्रमितको तथ्यांक ओरालो लाग्दै गर्दा पोस्ट कोभिडले भने उकालो बाटो लिनेछ। यसर्थ आगामी दिनहरूमा पोस्ट कोभिडको सही पहिचान र परामर्शको तयारी अति आवश्यक देखिन्छ। हाल यस्ता समस्या भएकाहरू के गर्ने, कहाँ जाने र कोसँग सम्पर्क गर्ने भन्नेमा अन्यौल रहन सक्छ।
अत्यधिक थकान महसुस हुनु, मांसपेशी कमजोर हुनु, जोर्नी दुख्नु, जिउ तातो महशुस हुनु, लगातार हल्का खोकी लागिरहनु, छाती दुख्नु, मुटुको धड्कन बढ्नु वा अनियमित हुनु, सुत्न नसक्नु डर/त्रास उत्पन्न हुनु, डिप्रेसन, छिनछिनमा बिर्सने बानी हुनु, टाउको दुख्नु, कानमा कृतिम आवाज सुनिनु, पेट अपच/गडबडी हुनु, छालामा बिबिरा देखिनु, कपाल झर्नु, मधुमेह नियन्त्रण गर्न कठिनाइ हुनु, रगत जम्न, मिर्गौलामा समस्या देखिनेजस्ता लक्षण पोस्ट कोभिडमा बढी देखिने गर्दछ।
कोभिड-१९ ले फोक्सोलाई मात्र समस्या दिन्छ भन्ने सोचाइमा हामीले परिवर्तन ल्याउनु पर्दछ। अर्थात् कोरोना भाइरसको प्रभाव एकभन्दा बढी अंगमा पनि हुनसक्छ भनेर बुझ्नुपर्छ। पहिलोपटक पोस्ट कोभिडको समस्या लिएर आएका एक महिलालाई कोरोनाको पहिलो लहरको मध्यतिर भेट्दा ती महिलाले कोभिड-१९ को उपचार गरेको छ हप्तापछि पनि छाती भारी हुने, सास फेर्न अप्ठ्यारो हुने जस्ता समस्याहरू लिएर आएकी थिइन्।
हाल दोस्रो लहर ओरालो लाग्दै गर्दा उपचार गरी फर्केकाहरूमा पोस्ट कोभिडको समस्या देखिने क्रम सुरू भैसकेको छ। उनीहरूमा अत्यधिक थकान हुने समस्या देखिएको छ भने सास फेर्नमा कठिनाइ, हल्का खोकी लागिरहने, जिउ तातिएको महशुस हुने, निन्द्रा नलाग्ने, घरिघरि कुराहरू बिर्सिए जस्तो हुने, काममा मन एकिकृत नहुने, मुटुको ढुकढुकी बढ्ने वा अनियमित हुने, कानमा कृतिम आवाज सुनिने जस्ता थप समस्याहरू पनि देखिँदै आइरहेको छ।
कतिले त अस्पताल डिस्चार्जपछि पनि घरमा अक्सिजनको सहायता लिने गरेका छन्। पोस्ट कोभिड तीनदेखि छ महिना अथवा कसैकसैमा त छ महिनापछि पनि देखिने गरेको विभिन्न अध्ययनहरूले देखाएका छन्।
दोस्रो लहरमा बालबालिकाहरू पनि संक्रमित भए। यही लहरमा ‘मल्टी-सिस्टम इन्फ्लामेटरी सिन्ड्रोम इन चिल्ड्रेन’ जस्ता बालबालिकामा देखिने पोस्ट कोभिड समस्या पनि देखिएका छन्। तर नेपालमा यस्तो समस्या भएका बालबालिका कति छन् भन्ने यकिन तथ्यांक छैन।
पोस्ट कोभिड समस्या देखिए सबभन्दा पहिले चिकित्सकबाट परामर्श लिनुपर्छ। पोस्ट कोभिड समस्या विभिन्न अंगहरूसँग सम्बन्धित हुने हुँदा विषय विशेषज्ञहरूसँग जानकारी लिनुपर्ने हुन्छ। तर संक्रमित वा उपचार गरिएका सबैले उपचार लिनैपर्ने अवस्था हुन्छ भन्ने हुँदैन।
बेलायतमा गरिएको अनुसन्धानबाट अस्पताल भर्ना हुनु नपरेका धेरैजसो कोरोना संक्रमितहरूलाई पोस्ट कोभिड देखिए पनि विशेषज्ञ चिकित्सककोमा पठाउनु नपरेको नतिजा देखिएका थिए। उनीहरूमा चारदेखि छ हप्तासम्म हल्का शारीरिक व्यायाम गर्दा पोस्ट कोभिडमा सुधार हुँदै गएका थिए। तर स्वास्थ्यमा थप समस्या देखिए विशेषज्ञहरूसँग छलफल गरी आवश्यक परीक्षण, उपचार वा परामर्श लिनु भने पर्नेछ।
पहिलोभन्दा दोस्रो लहरमा कोरोना संक्रमित बढी अस्पताल भर्ना भएकाले पोस्ट कोभिडको समस्या पनि दोस्रो लहरमा बढ्न सक्ने अनुमान गर्न सकिन्छ।
पहिलो लहरमा नै पोस्ट कोभिडसँग सम्बन्धित समस्याहरू देखिन सुरू भए पनि हालसम्म सरकारी स्तरमा पोस्ट कोभिड परामर्श वा उपचार केन्द्रहरू खोलिएको छैन।
टेकु अस्पतालमा पोस्ट कोभिड सम्बन्धित परामर्श पहिलो लहरदेखि नै दिन सुरू गरिए पनि कोरोनाभाइरस नेपालभरि फैलिसकेको अवस्थामा यसको आवश्यकता सबै प्रदेशमा देखिन्छ।
सबै विशेषज्ञहरू भएका अस्पतालमा यस्तो सेवा सुरू गर्दा पोस्ट कोभिडका बिरामीहरूले सहज रूपमा सेवा पाउनेछन्। किनभने पोस्ट कोभिडका समस्या विभिन्न अंगहरूसँग सम्बन्धित हुने गर्दछ।
नेपाल सरकारले हालसम्म पनि यसलाई समस्याको रूपमा पहिचान नगरेकाले पोस्ट कोभिड सम्बन्धित जानकारीमूलक कार्यक्रम वा निर्देशिकाहरू बनाएको देखिँदैन।
कोरोनाभाइरसको महामारीले कुनै बिन्दुमा गएर विश्राम त लेला तर पोस्ट कोभिडको महामारीले भने निरन्तरता पाउनेछ।
विभिन्न देशमा कोरोनाका लहर कम देखिएको भएता पनि पोस्ट कोभिडका समस्यासँग भने जुधिरहेका छन्।
दोस्रो लहरमा कोरोनाले नेपालको गाउँ/सहरमा परिवारका धेरै सदस्यलाई संक्रमण गरिसकेको छ, भने कोभिडको जटिल अवस्था धेरैमा देखिसकेको छ।
यसबाट पनि पोस्ट कोभिडको समस्या पहिलो लहरमा भन्दा बढ्न सक्ने आकलन गर्न सकिन्छ।
पोस्ट कोभिडले मृत्यु गराइ त हाल्दैन तर स्वास्थ्यमा देखिने समस्याले निरन्तर गाँजिराख्दा दैनिकी भने उपलब्धिपूर्ण हुने छैन। अर्थात् क्षमता अनुसार काम गर्न असमर्थ भइनेछ।
तसर्थ, पोस्ट कोभिड भएकाहरूलाई परामर्श तथा आवश्यकता अनुसार उपचारको ठूलो खाँचो छ। यो कोभिड महामारीपछिको आवश्यकता पनि हो।
(संयोजक, क्लिनिकल रिसर्च युनिट, शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल।)
सेतोपाटीबाट