जनकपुर । प्रदेश २ का मन्त्री, मेयर तथा सांसदहरूलाई कोरोना संक्रमण देखिएको छ । जनकपुरस्थित प्रादेशिक अस्पताल र वीरगन्जको नारायणी अस्पतालमा पनि दिनहुँजसो कोरोना संक्रमणका बिरामी आउने क्रम रोकिएको छैन । प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवलाई कोरोना संक्रमण भएको छ । उनीसँगै उनले सम्हालेको मन्त्रालयका आठ कर्मचारीमा समेत कोरोना संक्रमण देखिएको छ ।
मन्त्री यादवका अनुसार मुख्यमन्त्री कार्यालयका चारजनामा पनि कोरोना संक्रमण देखिएको छ । “मुख्यमन्त्री कार्यालयका एक अधिकृत, दुई सवारी चालक र एकजना कार्यालय सहयोगीमा पनि कोरोना संक्रमण देखिएको छ,” उनले भने । साथै प्रदेशमा कोरोना संक्रमण नियन्त्रण र रोकथाम कार्यको नेतृत्व सम्हालिरहेको सामाजिक विकास मन्त्रालयकै चारजना कर्मचारीसमेत संक्रमित भइसकेका छन् ।
मन्त्री यादव भन्छन्, “मलाई अहिलेसम्म कुनै अप्ठ्यारो महसुस भएको छैन । म स्वस्थ छु । तर, आफूबाट अरूमा संक्रमण नहोस् र आफ्नो स्वास्थ्यमा नकारात्मक प्रभाव नपरोस् भनेर निवासमै आइसोलेट भएको हुँ ।”
अहिलेसम्मको अवस्था विश्लेषण गर्ने हो भने नागरिकको प्रत्यक्ष सम्पर्कमा रहेर काम गर्ने राजनीतिक व्यक्तिहरू कोरोनाको अत्यन्तै जोखिममा छन् । वीरगन्ज महानगरका प्रमुख सरावगी, त्यहाँका सांसद यादव र प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादव बन्दाबन्दीका बेला पनि पहिले जस्तै सक्रिय भएर काममा खटिएका थिए । साथै स्थानीय तहका जनप्रतिनिधिहरू अझै बढी जोखिममा रहेको देखिन्छ ।
प्रदेश २ मा हालसम्म कोरोना संक्रमितको संख्या पाँच हजार नाघिसकेको छ । पाँच हजार दुई सय ७२ संक्रमितमध्ये निको भएर अस्पतालबाट तीन हजार दुई सय ३२ जना घर फर्किएका छन् ।