Home / Feature Breaking news / बिपी प्रतिष्ठानमा तस्बिर विवाद

बिपी प्रतिष्ठानमा तस्बिर विवाद

काठमाडौँ, १२ साउन

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिपी कोइरालाको  तस्बिरबारे अहिले विवाद छ।

बिपी कोइरालाको तस्बिर उपकुलपति कार्यालयबाट हटाइएको भन्दै कांग्रेसले विरोध गरिरहेको छ।

बिपी प्रतिष्ठानमा गत चैतदेखि डाक्टर ज्ञानेन्द्र गिरी उपकुलपति छन्।

कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले चैत २७ मा गिरीलाई उपकुलपति नियुक्त गरेपछि भोलिपल्टदेखि उनले कार्यभार सम्हालेका थिए।

प्रदेश नम्बर १ का विपक्षी दलका नेतासमेत रहेका कांग्रेस नेता केदार कार्कीले बिपी प्रतिष्ठानबाट बिपीकै फोटो हटाइएको बताए।

‘नयाँ भिसीले कार्यकक्षमा बिपीको फोटो हटाएर राष्ट्रपति र प्रधानमन्त्रीको फोटो राखे। राष्ट्रपति र प्रधानमन्त्रीको फोटो राख्नुमा कांग्रेसलाई कुनै आपत्ति छैन। तर बिपीको फोटो हटाउन जरूरी त थिएन,’ कार्कीले सेतोपाटीसँग भने, ‘बिपीको तस्बिर हटाएकोमा घोर भर्त्सना गर्दछु।’

उनले बिपीको तस्बिर यथास्थानमा राख्न र क्षमा माग्न पनि आग्रह गरेका छन्।

उपकुलपति गिरी पहिले कांग्रेसनिकट रहेको र पछि नेकपा निकट भएपछि बिपीको तस्बिर कार्यकक्षबाट हटाएको उनको आरोप छ।

‘सफा गर्ने क्रममा बिपीको तस्बिर अन्यत्र राखेको भन्ने गैरजिम्मेवार अभिव्यक्ति पनि दिएका छन् रे, बिपीको तस्बिर यथास्थानमा राखेरनराखेको बुझ्न हाम्रा साथीहरूलाई प्रतिष्ठानमा पठाएका छौं,’ उनले भने।

नेपाल तरूण दलले पनि बिपी प्रतिष्ठानबाट तस्बिर हटाइनु बिपीप्रति अपमान भएको बताएको छ। अध्यक्ष जितजंग बस्नेतले आइतबार विज्ञप्ति निकालेर बिपीको अपमान हुने र अस्तित्व नै मेटाउने प्रयत्न कतैबाट भए तरूण दललाई सैह्यै नहुने उल्लेख गरेका हुन्।

‘बिपीको अस्तित्व स्वीकार गर्न नसक्ने यस्ता घृणित मानसिकताप्रति तरूण दलको गम्भीर ध्यानाकर्षण भएको छ। उक्त तस्बिर सोही स्थानमा अबिलम्ब नराखे तरूण दल आन्दोलनमा उत्रिन बाध्य हुनेछ,’ उनले भनेका छन्।

प्रतिष्ठानमा भइरहेको तस्बिर विवादबारे उपकुलपतिका प्रशासनिक सल्लाहकार दीलिप भट्टराईले राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर पहिलो पटक राख्दा विरोधीहरूले हल्लाखल्ला गरेको तर्क गरे।

‘कसैलाई केपी ओलीको फोटो राखेको चित्त नबुझ्न सक्छ। व्यक्ति केपी ओलीको फोटो राखेको होइन हाम्रो कुलपतिको फोटो राखिएको हो। राष्ट्रप्रमुखकको पनि फोटो राखेका छौं। त्यो पनि गलत जस्तो लाग्दैन। कांग्रेसकै प्रधानमन्त्री र राष्ट्रप्रमुख भए पनि फोटो राखिन्छ। त्यहि नीतिअनुसार तस्बिर राखेका हौं,’ उनले सेतोपाटीसँग भने।

प्रधानमन्त्री र राष्ट्रपतिको फोटो राख्ने प्रतिष्ठानमा चलन नभए पनि आफूहरूले अहिले सुरूवात गरेको उनले बताए। ‘पहिले बिपीको मात्रै फोटो राखिन्थ्यो। अहिले राष्ट्रपति, प्रधानमन्त्रीको पनि राखिएको छ,’ उनले भने, ‘बिपीको फोटो हटाएको छैन।’

प्रतिष्ठानमा रहेको बिपीको फोटो कांग्रेस नेताहरूलाई पनि पठाइएको उनले बताए।

‘कांग्रेसका नेता तथा सांसदहरू पनि प्रतिष्ठानमा अवलोकन गर्न आउँदै हुनुहुन्छ,’ उनले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*