Home / Feature Breaking news / बोलीमा चिप्लिइरहने ओली

बोलीमा चिप्लिइरहने ओली

काठमाडौं ।

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटीमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाको विषयले प्रवेश नै पाउँदैनथ्यो । छलफल नै हुँदैनथ्यो । वैशाख ८ गते अमुक दल विभाजनका खातिर ल्याएको अध्यादेशको तरङ्ग सेलाइसकेको थियो ।

पार्टीमा राजीनामा माग गर्दै हस्ताक्षर गरेर स्थायी कमिटी बैठकको माग गर्नेहरू सेलाइसकेका थिए । तर, प्रधानमन्त्री ओलीले बैठकलाई विषयान्तर गरिदिए । नयाँ एजेन्डा थमाइदिए । असार १४ गते मदन भण्डारीको ६९ औं जन्मदिनका सन्दर्भमा आयोजित कार्यक्रममा भारतले सरकार ढाल्न लागेको र त्यसमा पार्टीका नेताहरूले साथ दिएको अभिव्यक्ति दिएपछि बैठकमा हङ्गामा भयो ।

प्रधानमन्त्री ओलीलाई नैतिक सङ्कट आइपर्‍यो । सचिवालयका नेतासहित ११ जना स्थायी कमिटी सदस्यले बैठकमा राजीनामा माग गरे । पार्टी कमिटीमा राजीनामा प्रखर रूपमा आएपछि ओली अहिले बैठकबाट भाग्दै हिँडेका छन् । स्थायी कमिटी बैठक असार १६ गतेपछि अवरूद्ध छ ।
साउन २ गतेपछि पनि बस्ने, नबस्ने यकिन छैन ।

असार १४ गते प्रधानमन्त्रीले कूटनीतिक मर्यादाविपरीत बोलेका थिए । दुई तिहाइको बहुमतधारी सरकार सत्तारूढ दलबाहेक अरू कारणले ढल्नै सक्दैन । तर, ओलीले भारतीय दूतावास खुलम्खुला लागिपरेको र त्यहाँ सञ्चारमाध्यममा यो कुरा प्रतिविम्बित भइरहेको तर्क गरे ।

त्यसले भारतीय दूतावासलाई चिढ्याउँथ्यो नै, आफ्नै पार्टीका नेताहरूमा पनि आक्रोशको ज्वाला दन्कायो ।

प्रधानमन्त्री ओलीले आफ्नै पार्टीका नेता प्रयोग भइरहेको भन्नु घातक अभिव्यक्ति थियो । उनले दूतावासले होटलहोटल गतिविधि गरिरहेको र त्यसमा पार्टीका नेता प्रयोग भइरहेको बताउँदै घुमाउरो भाषामा आफ्नै सांसदहरूलाई बिक्न सक्ने विषाक्त टिप्पणी गरेका थिए । र, आफूलाई अब्बल दर्जाको राष्ट्रवादी र पार्टीका नेताहरूलाई ‘दलाल’ करार गर्न खोजेका थिए ।

असार १४ गतेको अभिव्यक्तिले निम्त्याएको विवाद मत्थर हुन र सेलाउन नपाउँदै प्रधानमन्त्री ओलीले साउन २९ गते अर्को विवादास्पद विषय बोलेका छन् ।

नेपाल– भारतसम्बन्ध उसै त राम्रो छैन । नक्सा प्रकरणपछि नेपाल–भारत मैत्रीसम्बन्ध तनाव र तिक्तताको तहमा पुगेको छ । वार्ता र संवादको पहलमार्फत भूमि फिर्ता ल्याउने काम सिंगै बाँकी छ । तर, भानुजयन्तीका सन्दर्भमा सरकारी निवास बालुवाटारमा आयोजना गरेको कार्यक्रममा झन् चिढ्याउने काम गरे ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले हिन्दू धर्मावलम्वीहरूले मान्दै र पुज्दै आएका भगवान रामको जन्म नेपालमै भएको दाबी मात्र गरेनन्, भारतले नक्कली अयोध्या नै खडा गरेको जिरह गरे ।

प्रधानमन्त्रीको तर्क थियो– भारतले दाबी गरिरहेको अयोध्या पश्चिमी पर्साको ठोरीमा पर्छ । प्रधानमन्त्रीले आफूसँग प्रमाण भएझैँ गरेर अप्रमाणित कुरा बोलेपछि भारतमा हङ्गामा भएको छ । त्यहाँका धर्मभिरूहरू, बाबाहरू क्षुब्ध र आक्रोशित भएका छन् ।

सत्तारूढ दल भारतीय जनता पार्टीले विज्ञप्ति नै निकालेर भत्र्सना गरिसक्यो ।

सीमा जोडिएको मात्रै नभएर सांस्कृति सम्बन्ध रहेको दुई देशबीच पुनः तनाव झाँगिने र लिपुलेकको मुद्दा सेलाउने आशङ्का सर्वत्र हुन थालको छ ।

प्रधानमन्त्रीको बोली चिप्लिएका उदाहरण बग्रेल्ती छन् । वाकपटु, प्रत्युत्पन्नमति दाबी गरे पनि प्रधानमन्त्रीको बोलीमा लगाम लाग्न छाडेको छ । यसकारण, सरकार र सत्तारूढ पार्टीले मूल्य चुकाउनु परिराखेको छ ।

योभन्दा अघि प्रधानमन्त्रीले बेसारपानीले कोरोनाभाइरस कमजोर पार्ने भन्दै अप्रमाणित कुरा बोलेका थिए । असार ४ गते राष्ट्रियसभामा बोल्दै प्रधानमन्त्रीले बेसारपानी खाने र हाच्छिउँ, साच्छिउँ गरेर कोरोना उडाइदिनुपर्ने अभिव्यक्ति दिएपछि उनको आलोचना चुलिएको थियो । प्रधानमन्त्रीलै नै कोरोनालाई हल्का लिएपछि देशको हालत के हुने होला भनेर चिन्ता हुन स्वाभाविकै पनि थियो ।

त्योभन्दा अघि उनले भारतबाट आएको कोरोनाभाइरस अन्यत्रको भन्दा कडा रहेछ भनेर दिएको अभिव्यक्तिको पनि टिप्पणी भएको थियो । राम जन्मिएको अयोध्या नेपालमै पर्छ भन्ने पछिल्लो अभिव्यक्ति त टिप्पणीको लायक पनि नरहेको भन्दै प्रधानमन्त्रीको आलोचना भइरहेको छ । विशेषतः सामाजिक सञ्जालमा उनको अभिव्यक्तिको चर्को टिप्पणी भइरहेको छ ।

जनता समाजवादी पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले अति गरे खति हुन्छ भन्दै प्रधानमन्त्रीको उपचार खोज्न आग्रह गरेका छन् । “ अति गरे खति हुन्छ भन्छन् । प्रम केपी ओलीका वचन–कर्मले सीमा नाघ्दैछन् । संसदमा ‘सिंहमेव जयते’र बेसार पुराणदेखि अयोध्या पुराणसम्म आउँदा उहाँको चिन्तनप्रणाली स्वस्थ देखिन्न । संसद स्थगन गरेर अध्यादेश र संकटकालको ‘खड्ग’समेत उहाँको हातमा छ ! अब उहाँलाई छाडा छोड्नु खतरनाक हुनेछ । उपचार खोजौं,” उनले प्रधानमन्त्री ओलीको पछिल्लो अभिव्यक्तिको कडा शब्दमा आलोचना गरेका छन् ।

सत्तारूढ दल नेकपाका नेता पनि आलोचनामा उत्रिएका छन् । विदेश मामिला विभागका उपप्रमुख विष्णु रिजालले प्रधानमन्त्री ओलीले ‘बेतुकका कुरा गरेको’ भन्दै टिप्पणी गरेका छन् । माइक्रो ब्लगिङ साइट ट्विटरमा उनले लेखेका छन्, “ पदमा बसेर बेतुकका र असान्दर्भिक कुरा बोल्दा राष्ट्रकै शीर झुक्छ । अप्रमाणित, पौराणिक र विवादास्पद कुरा बोलेर विद्वान भइन्छ भन्नु ठूलो भ्रम हो । फुकीफुकी पाइला चालेर भूमि फिर्ता ल्याउनुपर्ने बेलामा विरोध र उत्तेजनाका लागि एकपछि अर्को मसला दिइनु दुर्भाग्यपूर्ण मात्र होइन, रहस्यमय छ !”

अर्का ट्विटर प्रयोगकर्ता केदार शर्माले पनि उनको अभिव्यक्तिमाथि तीखो व्यंग्य गरेका छन् । “भारतले नक्कली दिल्ली खडा गरेर राजधानी बनाएको हो । असली दिल्ली त काठमाडौँमा छ, जसलाई सानो देखाउनका लागि ‘दिल्ली बजार’ भन्दाभन्दै ‘डिल्ली बजार’ भएको हो,” उनले खिल्ली उडाएका छन् ।

ट्विटरमै सागर घिमिरे पनि प्रधानमन्त्री ओलीको अभिव्यक्तिको निन्दा गरेका छन् ।  उनले प्रधानमन्त्रीको सोमबारको अभिव्यक्तिलाई बकमफुसे अभिव्यक्तिको संज्ञा दिएका छन् ।

“अयोध्या नेपालमा, राम नेपाली जस्ता बकमफुसे कुराले केहीलाई क्षणिक मनोरञ्जन त देला । तर ओली प्रम हुन् र त्यस्ता मजाकले नेपाल–भारत सम्बन्धमा असर त छ नै, कालापानी, लिम्पियाधुरा र लिपुलेकमाथिको हाम्रो न्यायोचित दाबीलाई कमजोर पार्नेछ ।  प्रधानमन्त्री भएको २ वर्ष भयो सिरियस कहिले हुने हो ?,” उनले प्रश्न गरेका छन् ।

बाह्रखरीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*