Home / समाचार / ‘नेकपाको विवाद चीनले मिलाएर मिल्दैन’

‘नेकपाको विवाद चीनले मिलाएर मिल्दैन’

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीमा देखिएको आन्तरिक विवादमा विदेशी शक्तिले चासो देखाएर भेटघाटलाई तीव्र बनाएपछि अहिलेको विवादमा सामसुम भएर जाने हो कि भन्ने चासोलाई स्थायी कमिटी सदस्य रघुजी पन्तले अस्वीकार गरेका छन् ।

नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छीले आइतबार सरकारसँग रुष्ट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र विदेश विभाग प्रमुख वरिष्ठ नेता माधव नेपाल दुवैसँग करिब दुई–दुई घण्टा भेटघाट गरेपछि नेकपाभित्रको विवाद फेरि पनि चीनले मिलाउन लागिपरेको हल्ला चलेको थियो ।

पालको आन्तरिक विवाद नेपालीहरूलेनै मिलाउनु पर्छ भन्ने अडान लिने चीनले २०६३ सालको आन्दोलनसम्म पनि खुलेर नेपालको राजनीतिमा हात हालेको देखिँदैन थियो । तर, चीनले बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) को महत्वाकांक्षी योजना अघि सारेर दक्षिण एशियामा आफ्नो प्रभाव बढाउने रणनीति अवलम्बन गरेपश्चात नेपालको आन्तरिक मामलामा आफ्नो प्रभाव क्रमशः बढाउँदै लगेको तथ्य विज्ञहरूले धेरै स्थानमा व्यक्त गरेका छन् ।

तर, यसपल्टको विवाद चीनले मिलाएर मिल्दैछ भन्ने कुरा केवल हल्ला भएको र यस्तो हुन नसक्ने पन्तले स्पष्ट शब्दमा बताएका छन् ।

“नेपालले आफ्ना छिमेकी राष्ट्रसँग समुधुर सम्बन्ध राख्दछ, तर त्यसको अर्थ उनीहरूले हाम्रो आन्तरिक मामलामा हस्तक्षेप गर्न सक्छन् भन्ने होइन,” उनले भने । पन्तका अनुसार नेकपा आफ्नो विवाद आफै समाधान गर्न सक्षम रहेको छ, र यसका लागि कुनै पनि शक्तिले हस्तक्षेप गरेमा अमान्य हुनेछ ।

नेपालका दुई छिमेकी चीन र भारत मिलेर नेपालको सरकार ढलाउन वा बचाउन लागेको भन्ने चर्चा राजनीतिक वृत्तमा चलिरहेको अवस्थामा पन्तको स्पष्टोक्ति आएको हो । बाह्रखरीसँग कुरा गर्दै उनले भने, “यदी चीनले मिलाएर मिल्ने भए र मिडियामा भनेजस्तै केही महिनाअघि पनि चीनले मिलाएको हो भने अहिले कसरी फेरि विवाद आयो ?”

पन्तका अनुसार प्रधानमन्त्रीको मिचाहा कार्यशैली र गैरजिम्मेवार अभिव्यक्ति र हेपाहा प्रवृत्तिका कारण अहिलेको परिस्थिति जन्मिएको र अहिलेको विरोधको पुनरावृत्ति केही महिनाअघिदेखिनै भएको पनि बताए ।

देशको राजनीतिक अवस्था र महामारीले केहीमहिना विरोधको स्वरलाई मुखरित नगरिएको तर सरकारले आफ्नो कार्यशैली झनै अधिनायकवादी बनाएको कारणले फेरि नेतृत्व परिवर्तनको कुरा उठेको पनि उनले बताए ।

अहिले स्थायी समितिको बैठक केही दिन पर सार्नुमा पनि समितिका सदस्यको यो विवादलाई मिलाएर जाने चाहना अनुरुप भएको र वर्तमान अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले दलको सोच अनुरुपको निर्णय नलिए नराम्रो परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् ।

बाह्रखरीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*