काठमाडौं । नोभेल कोरोना भाइरसका ४७३ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ४७३ संक्रमित थपिएका हुन् ।
जसमा १०९ महिला र ३६४ पुरुष रहेका छन् ।
नेपालमा अहिलेसम्मकै उच्च एकदिनमा ६७१ कोरोना संक्रमित देखिएका थिए । आइतबार देशभर ४६३, सोमबार ४७६, मंगलबार ३१६ र बुधबार ४८२ कोरोना संक्रमित फेला परेका थिए ।
देशभरका ७७ वटै जिल्लामा कोरोना भारसको संक्रमण फैलिएको छ ।
कुल कोरोना संक्रमितको संख्या १४ हजार ५१९ पुगेको छ ।
हालसम्म देशभर कोरोना संक्रमणको उपचारपछि पाँच हजार ३२० जना डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा ६६४ जना डिस्चार्ज भएका छन् ।
हालसम्म देशभरका २५ प्रयोगशालाबाट पीसीआर परीक्षण भइरहेको छ ।
देशभर हालसम्म दुई लाख ३७ हजार ७६४ जनाको पीसीआर परीक्षण गरिएको छ भने तीन लाख ६२० जनाको आरडीटी परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा चार हजार ५३७ जनाको पीसीआर परीक्षण गरिएको छ ।
देशभरका विभिन्न क्वारेन्टिनमा ३८ हजार १०९ मानिसहरु रहेका छन् भने आइसोलसनमा १० हजार १३७ कोरोना संक्रमितहरु रहेका छन् ।