Home / Feature Breaking news / कांग्रेसले भन्यो- नेकपाभित्र झगडाको शिकार संसद

कांग्रेसले भन्यो- नेकपाभित्र झगडाको शिकार संसद

काठमाडौँ,  १८ असार

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद अधिवेशन अन्त्य गर्ने प्रधानमन्त्री केपीशर्मा ओलीको कदम गैरजिम्मेवार रहेको प्रतिक्रिया दिएको छ।

पार्टीभित्रको झगडा सामना गर्न नसकेर प्रधानमन्त्रीले सबैभन्दा पहिले संघीय संसदको अधिवेशन अन्त्य गर्ने निर्णय गर्नु जनताप्रतिको विश्वास र भरोसामाथि प्रहार भएको कांग्रेसले बताएको हो।

कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले मन्त्रिपरिषदको सिफारिसमा अधिवेशन अन्त्य गर्ने निर्णयले सरकार, नेकपा र स्वयम् प्रधानमन्त्रीलाई भलो नहुने बताएका हुन्।

‘आफ्नो पार्टीभित्रको आन्तरिक झगडाको व्यवस्थापन गर्न नसकेर प्रधानमन्त्रीले सबैभन्दा पहिलो सिकारका रूपमा संघीय सदनलाई बनाउनुभयो। यसले उहाँलाई मात्र होइन सत्तारूढ नेकपा र सरकारलाई फाइदा गर्दैन,’ खाँणले सेतोपाटीसँग भने।

मन्त्रिपरिषदको बिहीबारको बैठकले संसद अधिवेशन आजै बेलुकी ५ बजेदेखि अन्त्य गर्ने निर्णय गरेको थियो। सरकारको सिफारिसमा राष्ट्रपति कार्यालयले अधिवेशन अन्त्य गरिसकेको छ।

मन्त्रिपरिषद बैठकले संसदमा बिजनेश पनि नभएको र कोरोना महामारी रहेको भन्दै अधिवेशन अन्त्य गर्ने सिफारिस राष्ट्रपति समक्ष गरेको थियो।

तर कांग्रेस सचेतक खाँणले संसदमा बिजनेशको हर्न नभएको बताए।

‘विभिन्न विधेयक पारित गर्नुपर्ने थियो। छलफल गर्नुपर्ने थियो। कोरोना नियन्त्रणका लागि जनताका कुरा राख्नुपर्ने थियो। जरूरी सार्वजनिक महत्वका प्रस्ताव दर्ता थिए। जनताका पीडालाई जनप्रतिनिधिले राख्नुपर्ने थियो। सरकारलाई काम गर्न दवाव दिनुपर्ने थियो,’ उनले भने, ‘यी समग्र विषयमा छलफल गरी धारणा बनाउन सकिन्थ्यो।’

प्रधानमन्त्री ओलीले नेकपाभित्रको आन्तरिक रडाको व्यवस्थापन गर्न नसकेको खाँणको टिप्पणी छ।

‘प्रधानमन्त्रीजीले नेकपाको आन्तरिक रडाको व्यवस्थापन गर्न सक्नु भएन। त्यसैकारण उहाँले आकस्मिक रूपमा सदनको अधिवेशनको अन्त्य गर्नुभयो,’ उनले थपे, ‘प्रधानमन्त्रीजीको यो अत्यन्त गैरजिम्मेवार कदम हो।’

प्रधानमन्त्रीले जनताका विश्वास र भरोसामाथि प्रहार गर्न खोजेको खाँणको भनाइ छ।

‘प्रधानमन्त्रीले आफ्नो पार्टीको बैठक सामना गर्न नसकेर हतास मनस्थितिमा आक्रामक र अस्वभाविक ढंगले संसद अधिवेशन अन्त्य गर्नुभयो,’ उनले भने, ‘यस्ता निर्णयले कसैलाई भलो गर्दैन।’

उनले सरकारका यस्ता कदमबारे केन्द्रीय समिति बैठकबाटै पार्टीले छलफल गरी संस्थागत धारणा बनाउने बताए। ‘प्रधानमन्त्रीको आजको कदमले संसदीय अभ्यासप्रति पनि नेकपा, प्रधानमन्त्री र सरकार संवेदनशील छैन भन्ने देखाउँछ,’ उनले भने।

कांग्रेसका सांसद मीनेन्द्र रिजालले नेकपाभित्रको आन्तरिक झगडाले संसद अधिवेशन अन्त्य गर्नु राम्रो नभएको बताए।

‘पार्टीभित्रको आन्तरिक द्वन्द्वको कारण सदनको अधिवेशन अन्त्य गर्ने कुरा सरकारले गरेको सुनियो, यो राम्रो होइन,’ सांसद रिजालले सेतोपाटीसँग भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*