Home / Feature Breaking news / एक हप्तामै थपिए १३ सय कोरोना संक्रमित

एक हप्तामै थपिए १३ सय कोरोना संक्रमित

गत साता नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ७८३ रहेकोमा सो संख्या आज अपरान्हसम्म २ हजार ९९ पुगको छ । यो हेर्दा संक्रमित संख्या एक हप्तामै एक हजार ३ सय १६ जना बढेको छ। अर्थात एक हप्तामै संक्रमितको संख्या दोब्बर बढी छ।

आज मात्र २८८ जना संक्रमित थपिएका छन्। यो अहिलेसम्मकै उच्च वृद्धिदर हो। नेपालमा पहिलोपटक माघ ९ गते चीनबाट आएका एक युवकमा संक्रमण पुष्टि भएको थियो।

त्यसपछि चैतको १० गते फ्रान्सबाट आएकी एक १९ वर्षीया युवतीमा दोस्रो संक्रमण देखियो। त्यसलगत्तै लकडाउनमा गएको नेपालमा विस्तारै फाट्टफुट्ट संक्रमण फेला पर्दै गयो।

पछिल्लो समय भने भारतबाट ठूलो संख्यामा मानिस आएको र परीक्षण दायरा पनि बढाउँदा संक्रमित संख्या ह्वात्तै बढेको छ। पहिले दैनिक औसत ५ सयको परीक्षण हुँदै आएकोमा अहिले एकै दिन ३ हजार बढीको परीक्षण हुँदै आएको छ ।

गत सातायता दैनिक २ सय बढीले संक्रमित संख्या थपिँदै गएको छ। यो संख्या अझैं बढ्ने अनुमान गरिएको छ। अझैं पनि धेरै मानिसहरूको स्वाब परीक्षण गर्न बाँकी छ।

देशभर रहेका २० वटा प्रयोगशालाले समेत नमूना समयमै परीक्षण गर्न भ्याएका छैनन्। अहिले पनि ५ हजार बढी स्वाबहरू परीक्षणका लागि लाइनमा छन्।

भारतबाट आएका सुदूरपश्चिमका ४० हजार बढी मानिसको पिसिआर परीक्षण गरिएको छैन। उनीहरूको आरडिटी गरेर घर पठाउने तयारी गरिएको छ। परीक्षण चाप बढिरहेको बेला सरकारले आवश्यक किट र पिसिआर मेसिनको अभाव झेलिरहेको छ।

आज संक्रमित संख्या २ हजार नाघेसँगै सरकारले थप नयाँ संक्रमितलाई लक्षणका आधारमा अस्पताल भर्ना गर्ने तयारी गरेको छ। कार्यदिशा अनुसार सरकारले संक्रमित संख्या ५ हजार नाघेमा सामान्य लक्षण देखिएकालाई समेत घरमै आइसोलेसनमा राख्ने तयारी गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*