Home / समाचार / नेपालमा निको भए ४ जना कोरोना संक्रमित

नेपालमा निको भए ४ जना कोरोना संक्रमित

काठमाडौं

कोरोना भाइरसबाट संक्रमित कैलालीका २१ बर्षीय राज विक १६ दिनको अस्पताल बसाईपछि आइतबार घर फर्किएका छन् ।

कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ९ प्रतापपुरका २१ वर्षीय विकलाई कोरोना भाइरसको संक्रमण देखिएपछि गत चैत २२ गते धनगढीस्थित सेती प्रादेशिक अस्पताल भर्ना गरिएको थियो ।

दुई पटक पिसिआर परीक्षण गर्दा उनमा नेगेटिभ देखिएपछि उनलाई आइतबार डिस्चार्ज गरिएको छ । अस्पतालकै गाडीमा राखेर उनलाई घर पठाइएको छ।

उनलाई डिस्चार्ज गरिएसँगै नेपालमा ४ जना कोरोना भाइरसको उपचारपछि निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो पटक गरिएको दोस्रो र तेस्रो परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गरिएको सेती प्रादेशिक अस्तपालले जानकारी दिएको छ । यसअघि शनिबार मात्रै २ जना कोरोना संक्रमित बिरामी उपचारपछि निको भएर घर फर्किएका थिए ।

काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत काठमाडौंकी १९ वर्षीया किशोरी प्रसिद्धि श्रेष्ठ शनिबार अस्पतालबाट डिस्चार्ज भएकी थिइन् । यस्तै, बाग्लुङ ६५ वर्षीया मनकुमारी पौडेल पनि उपचारपछि निको भएर शनिबार साँझ नै धौलागिरी अञ्चल अस्पतालबाट डिस्चार्ज भएकी थिइन् ।

नेपालमा पहिलोपटक गत माघ ९ गते एक जनामा कोरोना संक्रमण देखिएको थियो । उनी पनि करिब २ हप्ता अस्पताल बसेपछि निको भएर घर गएका थिए ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार नेपालमा पछिल्लो १८ घण्टामा कुनै पनि कोरोना संक्रमित भेटिएका छैनन् । शनिबार साँझ उदयपुरमा १ जना ६५ वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको थियो । योसँगै नेपालमा संक्रमितको संख्या ३१ पुगे पनि २७ जना उपचाररत अवस्थामा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*