काठमाडौ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा तीन महिनाको अवधिमा कोरोनाको आशंकामा ९१७ जनाको नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंखया मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले आइतबार गरेको पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले आजसम्म कोरोनाको आशंकामा ९ सय १७ जनाको नमुना संकलन गरेर परीक्षण गरिएको बताए ।
“९ सय १७ नमुना परीक्षणमा ९ सय १२ कोरोना नेगेटिभ र ५ जनामा पोजेटिभ देखिएको छ,” उनले भने, “आज कोरोनाको आशंकामा विभिन्न अस्पतालको आइसोलेसनमा भर्ना १२ जना रहेका छन् । टेकु अस्पतालमा पाँचजना छन् । जसमा दुईजना कोरोना पोजेटिभ छन् ।”
उनले पाटन अस्पतालमा ६ जना र कान्ति बाल अस्पतालमा एकजना भर्ना गरिएको उनले जानकारी दिए ।
चीनको वुहानमा २०१९ डिसेम्बर अन्तिममा देखिएको कोरोना भाइरसको पहिलो बिरामी नेपालमा जनवरी मध्यतिर देखिएको थियो । चीनबाट फर्किएका ती विद्यार्थीको अवस्था अहिले सामान्य रहेको बताइएको छ ।