Home / Feature Breaking news / लैंगिक हिंसाविरुद्ध संगीतिक सचेतना अभियान

लैंगिक हिंसाविरुद्ध संगीतिक सचेतना अभियान

दाङ, १२ मंसिर । दाङ प्रहरीले लैगिंक हिंसाविरुद्ध सचेतना फैलाउने उद्देश्यले सांगीतिक अभियान शुरु गरेको छ ।

लैगिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत जिल्ला प्रहरी कार्यालय दाङ महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र,सामुदायिक प्रहरी सेवा केन्द्रलगायतले लैंगिक हिंसा अन्तको प्रतिवद्धता : व्यक्ति, समाज र सबैको ऐक्यबद्धता भन्ने नाराका साथ कार्यक्रम सुरु गरिएको हो ।

लैंगिक हिंसाविरुद्धको अभियानमा सबैलाई लग्न प्रेरित गर्ने उद्देश्यले गीत संगीतका माध्यमबाट चेतना फैलाउने गरी कार्यक्रम गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी गणेश चन्दले जानकारी दिए ।

अभियानका क्रममा जिल्ला प्रहरी कार्यालयसँगै जिल्लाका सबै प्रहरी युनिटहरुले कार्यक्रम गर्ने समेत बताए । महिला तथा बालिकाहरुसम्वन्धी विभिन्न खाले हिंसा बढिरहेका बेला १६ दिने अभियानका क्रममा महिला हिंसा, बालविवाह, बलात्कार, बहुविवाहलगायतका बारेमा सचेतना फैलाउने गरी कार्यक्रम गरिएको प्रहरीले जनाएको छ ।

गाउँ समाजमा हुने सबै खाले हिंसाका विरुद्ध सचेतना फैलाउने उद्देश्यले आफूहरुले सचेतना फैलाउने उद्देश्यले सन्देशमूलक गीत गाउने गरेको बरिष्ठ सारंगी बाधक हेमराज गन्धर्वले बताए । ‘शिष्ट सेवा, नरम व्यवहार ः प्रहरी सेवाका मुख्य आधार’ भन्ने सन्देशसहित आफूहरुले गीत तयार गरेको समेत बताए ।

उनका अनुसार यो अभियानमा उनीसँगै बाद्यवाधक तथा गायक राजेश गन्धर्व र भरत गन्धर्व पनि रहेका छन् । घोराही उपमहानगरपालिका–११ संगीत टोल निवासी उनीहरु तीनैजना लैंगिक हिंसाविरुद्धको अभियानमा सहभागी भएका छन् । कार्यक्रममा सहभागी भएका हेमराजले लैंगिक हिंसाविरुद्धको सन्देशमूलक कार्यक्रममा सहभागी हुन पाउँदा खुशी लागेको बताए ।

‘कोरोना भाइरसका कारण काठमाडौंमा स्टूडियोहरु बन्द भएपछि घर आएका थियौं’, हेमराजले भने– ‘यही मौकामा हामीलाई बोलाएर सचेतनामूलक गीत गाउन पठाउँदा खुशी लागेको छ ।’ उनले जिल्ला प्रहरी कार्यालयका अनुसार जिल्लाका विभिन्न ठाउँमा गाएर गीत गाउने कार्यक्रम रहेको समेत बताए ।

लैंगिक हिंसाको विरुद्धको १६ दिने सचेतना अभियानसँगै अपराधमुक्त समाज निर्माणका लागि तीन गन्धर्वहरुले जिल्लाका विभिन्न स्थानमा गाउने कार्यक्रम रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*