Home / Feature Breaking news / दाङमा कोइलावास नाकासहित २६ नाकाहरु अनिश्चितकालका लागि बन्द

दाङमा कोइलावास नाकासहित २६ नाकाहरु अनिश्चितकालका लागि बन्द

दाङ,९ चैत । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमण रोक्न भारतसँग सिमा जोडिएका दाङका नाकाहरु अनिश्चितकालका लागि बन्द गरिएको छ । भारतसँग सिमा जोडिएको मुख्य कोइलावास नाकासहित ८३ किलोमिटर क्षेत्रमा रहेका २६ वटा नाकाहरु अनिश्चितकालका लागि बन्द गरिएको हो ।

भारतमा कोरोना भाइरसको संक्रमण बढ्न थालेसँगै दुवै देशका अधिकारीहरुको सहमतिमा नाकाहरु पूर्ण रुपमा बन्द गरिएको प्रमुख जिल्ला अधिकारी गोविन्द्रप्रसाद रिजालले जानकारी दिएका छन । उनका अनुसार नेपाल–भारत सिमा जोडिएका मुख्य नाकाहरु कोइलावास नाका, भौवा नाका, खंग्रा नाका, पटौली नाका, गुङखोला नाका, भौरीसाल नाका, सुनपथरी नाकालगायत साना तथा ठूला २६ नाकाहरु बन्द गरिएको छ । ‘कोरोना भाइरसको संक्रमण पैmलन नदिन नेपाल आउने र भारत जाने दुवैतर्फका नाका बन्द गरिएको छ’,प्रमुख जिल्ला अधिकारी रिजालले भने,‘संक्रमणको अवस्था सामान्य नहुँदासम्म सिमा बन्द गरिने छ ।’ बन्द गरिएका सिमा नाकाहरुमा सशस्त्र प्रहरी, नेपाल प्रहरीलगायतको सुरक्षाफोर्स राखिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

जिल्लाका २६ नाकाहरु मध्य बढि मानिसहरुको चहलपहल हुने नाका कोइलावास नाका हो । मुख्य नाकाका रुपमा रहेको कोइलावास नाकामा यसअघि हेल्थ डेक्स स्थापना गरेर दुवैतर्फ आउने जानेहरुको स्वास्थ्य परिक्षण गरिदै आइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*