दाङ,९ माघ । दाङमा ससुराको चक्कु प्रहारबाट घाइते भएकी बुहारीको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको छ । देउखुरीको गढवा गाउँपालिका वडा नं. ४ रामनगर निवासी ६५ बर्षीय ससुरा कुलमान कुँवरको चक्कु प्रहारबाट बुधवार राती घाइते भएकी २७ बर्षीया बुहारी बसन्ता कुँवरको उपचारका क्रममा बाँकेको कोहलपुर मेडिकल कजेलमा मृत्यु भएको हो ।
नातीलाई सुताउने विषयमा ससुरा–बुहारी विच विवाद हुदाँ ससुराले बुहारीलाई चक्कु प्रहार गरेको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख भरतसिंह राठोरले जानकारी दिएका छन । चक्कु प्रहारबाट बुहारीको पेट,ढाड, खुट्टा,छाती र हातमा गम्भीर चोट लागेको थियो । बाजे (हजुरबुबा)सँग सुत्दै आएका नातीले बाजेले सिरानीमा चक्कु राखेको देखेपछि सुत्न छोडेका थिए ।
नाती सुत्न छोेडेपछि बाजले बुहारीकै कारण नाती सुत्न छोडेको भन्दै गाली गरेपछि विवाद भएको थियो । विवादका क्रममा ससुराले चक्कु प्रहार गरेका थिए । चक्कु प्रहार गर्ने ससुरा कुलमान कुँवरलाई प्रहरीले नियन्त्रणमा लिएर घट्ना बारे आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।