Home / Feature Breaking news / शितल निवासमा राष्ट्रपति भण्डारी र सीबीच झन्डै ४० मिनेट कुराकानी, रेलदेखि भ्रमण वर्षबारे छलफल

शितल निवासमा राष्ट्रपति भण्डारी र सीबीच झन्डै ४० मिनेट कुराकानी, रेलदेखि भ्रमण वर्षबारे छलफल

काठमाडाैँ, २५ असाेज

नेपालको दुई दिने राजकीय भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी चिनफिङले समकक्षी विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन्।

दुई राष्ट्रपतिबीच साँझ सात बजेपछि राष्ट्रपति भवन शितल निवासमा भेट भएको हो। भेटका क्रममा दुई राष्ट्रपतिले दुई पक्षीय सम्बन्ध, आपसी हित र सहकार्यबारे छलफल गरे।

राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले झन्डै ४० मिनेट भएको कुराकानीका क्रममा राष्ट्रपति भण्डारीले नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध भएको र नेपाली भूमिबाट चीनविरोधी गतिविधि हुन नदिने प्रतिवद्धता व्यक्त गरिन्।

‘उहाँले नेपालमा धेरैपछि स्थायी सरकार आएको र सरकारले विकासलाई प्राथमिकतामा राखेको बताउनुभयो,’ अधिकारीले भने,‘केरूङ-काठमाडौं रेलमार्गलाई पोखरा र लुम्बिनीसम्म पुर्‍याउने, नेपाल भ्रमण वर्ष २०२० मा धेरैभन्दा धेरै चिनियाँ पर्यटक ल्याउने विषयमा पनि उहाँले कुरा राख्नुभयो।’

भेटका क्रममा राष्ट्रपति भण्डारीले भूकम्पपछिको पुनर्निर्माणमा चीनले गरेको सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा पनि नेपालले चिनियाँ लगानी र सहयोगलाई सहज बनाउने प्रतिवद्धता व्यक्त गरिन्।

जवाफमा राष्ट्रपति सीले नेपाल-चीन सम्बन्ध अटल रहेको उल्लेख गर्दै नेपालको विकासमा सहयोग गर्न चीनले तयार रहेको बताए।

सीले ट्रान्सहिमालयन कनेक्टिभिटीले दुबै देशबीचको सहकार्यलाई थप बलियो बनाउने विश्वास व्यक्त गरे।

सीले नेपाल भ्रमण वर्षमा चिनियाँ नागरिकलाई नेपाल घुम्न प्रेरित गर्ने पनि बताए।

दुई राष्ट्रपतिको भेटवार्ता पौने ८ बजेतिर सकिएको थियो। भेटवार्ता सकिएपछि दुबै राष्ट्रपति सीको सम्मानमा भण्डारीले सोल्टी होटलमा आयोजना गरेको रात्रीभोजमा सहभागी भएका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*