Home / Feature Breaking news / दशै खर्च जुटाउन राउटेका प्रतिनिधि दाङमा

दशै खर्च जुटाउन राउटेका प्रतिनिधि दाङमा

दाङ,१० असोज । नेपालको लोपउन्मुख समुदायका रुपमा रहेको राउटे समुदायका प्रतिनिधि दशै खर्च जुटाउन दाङ आएका छन । दशै पर्व नजिकिदै गर्दा राउटे समुदायका सहायक मुखिया नारायण शाहीको नेतृत्वमा बिर्खे शाही र दले शाही गरि तीन सदस्य टोली दाङको घोराही आईपुगेको हो ।

दशैका लागि आवश्यक नयाँ कपडा र खसी–बोका किन्नका लागि पैसा उठाउन दाङ आएको राउटे समुदायका सहायक मुखिया शाहीले बताए । ‘दशैमा नयाँ कपडा लगाउनुपर्छ, मासु खानलाई खसी–बोका किन्न पैसा छैन’,सहायक मुखिया शाहीले भने,‘आफुसँग पैसा नभएपछि पैसा उठाउन हिडेका छौँ ।’ बर्षमा एक पटक आउने दशै पर्वलाई रमाइलो गरि मनाउनकालागि खर्च जुटाउन हिडेको बताए ।

‘दशैका लागि आवश्यक सामग्री किन्ने पैसा छैन, परिवारका सदस्यलाई नयाँ कपडा फेर्नका लागि पनि पैसा छैन’,उनले भने,‘त्यसैले हामी सरकारसँग पैसा उठाउन हिडेका छौँ ।’ उनका अनुसार राउटे समुदायका मुखिया सहितको एउटा टोली दशै मनाउने पैसा उठाउन काठमाडाँै गएको समेत बताए । ‘दशै मनाउने पैसा उठाउन म पहिले पनि दाङ आउने गरेको थिए’,उनले भने,‘दाङमा हामी राउँटेलाई सहयोग मिल्ने भएकाले अहिले पनि आएका हौँ, अरु टोली काठमाडौँ गएको छ ।’ दाङमा आफुहरु सिडिओ कार्यालयसँगै अन्य सरकारी कार्यालय, व्यवसायीलगायतलाई भेटेर सहयोग उठाउने बताएका छन । दशै खर्च उठाउनकालागि दश हजार रुपैया संकलन भएको समेत बताए ।

दैलेखको कान्छीबजारको नजिकै जंगलमा बस्दै आएका उनीहरु सुर्खेत हुदँै दाङसम्म आईपुगेको बताए । शाहीका अनुसार अहिले राउटे समुदाय करिव दुई सयको संख्यामा रहेको छ । फिरन्ते जातीका रुपमा रहेको राउँटे समुदाय सुरुका दिनहरुमा पैसा छोए पाप लाग्छ भन्ने मान्यता भएपनि पछिल्लो समय आवश्यक सामग्री जुटाउन पैसा भाग्दै हिड्ने गरेका छन । आज घोराही आईपुगेका उनीहरु केही दिन दाङमै बसेर सहयोग उठाउने समेत बताए ।

उनीहरुलाई घोराही उपमहानगरपालिकाले २० हजार रुपैया सहयोग गरेको छ । घोराही उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ऋषिराम केसीले राउटेका सहायक मुखिया नारायण शाहीलाई उक्त रकम हस्तान्तरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*