दाङ,१० असोज । परिवार नियोजन सेवा विस्तारका लागि नेपाल स्थित जापानीज दुतावासले नेपाल परिवार नियोजन संघ दाङ शाखालाई एक करोड रुपैया आर्थिक सहयोग गर्ने भएको छ ।
परिवार नियोजन दाङ शाखाले प्रदान गर्दै आएको प्रजनन स्वास्थ सेवालाई गुणस्तरिय र प्रभावकारी बनाउन परिवार नियोजन सेवालाई एकद्वार प्रणालीबाट उपलब्ध गराउनेदेखि ग्रामीण भेगका महिलाहरुमा प्रजनन स्वास्थको सहज सेवाको लागि भिडियो एक्सरे मेसिन पाठेघर क्यान्सर रोक्नका लागि करायो थेरापी मेसिन राख्नकालागि दुताबासले आर्थिक सहयोग गर्ने भएको नेपाल परिवार नियोजन दाङ शाखाका प्रवन्धक बसन्त खनालले जानकारी दिएका छन ।
उनका अनुसार त्यसका लागि शाखाको प्रयोगशालालाई गुणस्तरीय बनाउन आबश्यक सामग्रीलगायत शाखा क्लिनिकबाट निकट भविश्य मै प्रसुित सेवा प्रदान गर्नका लागि नौ कोठे भबन समेत निर्माण गरिने गरि आज शुक्रवार दूतावासमा परियोजना सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो ।
उक्त परियोजना हस्ताक्षर कार्यक्रममा नेपालका लागि जापानी राजदुत मासामिची साइगो र नेपाल परिवार नियोजन संघका महानिर्देशक के.पि. बिष्टले सम्झौता पत्रमा हस्तान्तरण गरेका छन । उक्त कार्यक्रममा महानिर्देशक बिष्टले संघले प्रदान गर्ने सेवा बिस्तारका लागि जापान सरकारले गरेको सहयोगका लागि धन्यवाद दिएका थिए । साथै संघका अन्य क्षेत्रमा समेत सहयोगका लागि अनुरोध गरेका थिए । त्यस अवसरमा जापानी राजदुत मासामिची साइगोले जापान सरकारको सहयोगलाई सदुपयोग गरि परियोजना प्रभावकारी बनाउन आग्रह गरेका थिए । साथै उनले जापान सरकार नेपालका सीमान्तकृत तथा सेवाको पहुच नभएको समुदायका लागि सहयोग गर्न पाउँदा खुशी व्यक्त गरेका थिए ।
कार्यक्रममा नेपाल परिवार नियोजन संघ दाङ शाखाका शाखा प्रबन्धक बसन्त खनाल, नेपाल परिवार नियोजन संघ केन्द्रिय कार्यलयका अर्थ निर्देशक मोहमद सफिक, स्रोत परिचालन निर्देशक पि.बि. राना, जापानी राजदुतावासका फस्ट सेक्रेटरी युमिको योसिनो, आजवा म्यारी र नराउओ कट्टेको उपस्थीति रहेको थियो । दाङ शाखा प्रबन्धक बसन्त खनालले दाङलाई परियोजनाका लागि छनौट गरेकोमा नेपाल परिवार नियोजन संघ केन्द्रिय कार्यलय र जापानी दुतावासलाई धन्यवाद ज्ञापन गरेका छन ।
RaptiSandesh RaptiSandesh