Home / Feature Breaking news / ७ हजार मेट्रिकटन तरकारी बाहिरवाट आयात

७ हजार मेट्रिकटन तरकारी बाहिरवाट आयात

निता चौधरी

तुलसीपुर, ९ साउन । दाङमा अहिले तरकारीको मूल्यमा वृद्धि भएको छ । यसको प्रभाव विशेष गरी सर्वसाधारण उपभोक्तालाई परेको छ । विगत एक सातादेखि तरकारीको मूल्यमा दोब्बरले वृद्धि हुँदा उपभोक्ताहरु मर्कामा परेका छन् । भारतबाट आयात हुने तरकारी विषादी परिक्षणको नाममा नाकामै रोकिने र स्थानीय तरकारीको उत्पादनमा भएका कारण भाउ बढेको तरकारी वजार व्यवस्थापन समिति तुलसीपुरले जनाएको छ ।

गतसातादेखि तरकारीको मूल्य दोब्बरले वृद्धि हुँदा आफू र आफू जस्ता सर्वसाधारण उपभोक्ता मारमा परेको तुलसीपुर उपमहानगरपालिका ६ गाइडहरका देवप्रसाद सुवेदीले बताए । उनले भने,‘यसरी एकाएक तरकारीको भाउ बढेपछि हामी उपभोक्ता मर्कामा परेका छौँ । अव सरोकार वाला निकाय तथा सरकारले नै यसमा विशेष ध्यान दिनुपर्छ ।’ त्यस्तै तुलसीपुर उपमहानगरपालिका–६ रजौराकी गृहणी प्रमिला चौधरी पनि तरकारीको मूल्य बढेदेखि आफू चिन्तित भएको बताइन् ।

उनले भनिन्,‘यसरी नै तरकारीको मृल्य बढि रहने हो भने खान नसकिने दिन आउँछ ?’ अहिले तरकारीको मूल्यमा ५० प्रतिशत वृद्धि भएको तरकारी वजार व्यवस्थापन समिति तुलसीपुरका अध्यक्ष झुपलाल खड्काले बताए । उनका अनुसार तुलसीपुर वजारमा दैनिक लगभग १० टन तरकारीको आवश्यकता पर्छ तर अहिले जिल्लामा आवश्यकता अनुसार तरकारीको उत्पादन छैन ।

उनका अनुसार विशेष गरी पछिल्लो समय वर्षाको समय भएकाले स्थानिय तरकारी उत्पादनमा कमी भएको हुँदा तरकारीको मूल्य एक्कासी आकाशिएको हो । विगतका वर्षहरुमा प्रति केजी ३० देखि ४० रुपैया पर्ने तरकारी अहिले एक सयदेखि २०० सम्म पर्ने गरेको छ । ‘म पनि तरकारी व्यावसायी गर्छु , मलाई पनि खरिद गर्नुपर्छ त्यही अनुसार विक्री गर्नुपर्ने बाध्यता रहेको छ’,व्यवसायी खड्काले भने,‘ खरिद मुल्य नै बढेपछि बेच्दा झन महगीने नै भयो ।’

बजारमा प्रति केजि ५० रुपैयाँ पर्ने काउलीको मूल्य खुद्रामा १ सय २० र होलसेलमा १०० भएको छ । यस्तै बोडीको मूल्यमा पनि एक्कासी आकाशिएको छ । प्रतिकेजि १०० पर्ने बोडीको मूल्य रु २०० भएको छ । खुर्सानी प्रतिकेजि १ सय ५०, करेला प्रतिकेजि १ सय ५०, प्याज प्रतिकेजि रु ५०, अदुवा प्रतिकेजी २ सय ५०, सिमी प्रतिकेजि १ सय ५० देखि १ सय ७० रुपैयाँ भएको बताए ।

तुलसीपुरमा सल्यानको कपुरकोट ,रोल्पालगायतका जिल्लासँगै बाहिरवाट समेत तरकारी आउने गरेको छ । दाङमा वर्षात सुरु भयो बेमौसमी तरकारीहरु रोपेको ठाउँमा धान रोप्नु पर्ने भएकाले पनि तरकारीको कमी भएको व्यवसायीहरु बताउँछन । तरकारी खानैपर्ने र नभईनहुने भएकाले तरकारीको आवश्यकता वढी छ तर उत्पादनमा कमी भएकाले यस्तोे समस्या सिर्जना भएको व्यवसायी खड्काले बताए ।

जिल्लाको आवश्यकता अनुसार तरकारी उत्पादन हुन नसकिएको कृषि ज्ञान केन्द्र दाङका प्रमुख कृष्ण बहादुर बस्नेतले बताए । उनका अनुसार जिल्लामा बार्षिक रुपमा ६३ हजार मेट्रिकटन तरकारी आवश्यक पर्नेमा ५६ हजार मेट्रिकटन तरकारी मात्र उत्पादन हुन्छ । ७ हजार मेट्रिकटन तरकारी वाहिर जिल्लाबाट आउने गरेको प्रमुख बस्नेतले बताए । स्वास्थ्यको हिसावमा प्रतिव्यक्ति दैनिक २ सय ७५ ग्राम तरकारी आवश्यक पर्ने हुनाले जिल्लाको जनसंख्याको आधारमा स्थानिय तरकारी उत्पादनमा कमी भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*