जीवन न्यौपाने
हापुरे २३ ,फागुन । बबई गाउँपालिकाको हापुरे बजारका बासिन्दाहरूको दैनिकी सडकमा उड्ने धुलोका कारण प्रभावित भएको छ । सडक कालोपत्रेको काम समेत सुरु भएको छ । कालोपत्रे गर्ने कार्य पूर्ण रूपले सम्पन्न भइनसकेको हुँदा सडकमा गूड्ने यात्रुबहाक तथा मालबाहक सवारीसाधन हरु टिप्पर,ट्रक, बस,ट्याक्सी, ट्याक्टर लगायतका साना तथा ठुला सवारीसाधनहरू को कारण उड्ने धुलो तथा धुवाँ हापुरेको आकाशमा दिनहुँ जसो मडारिरहेको हुन्छ ।
जसको कारणले त्यहाँका स्थानीय बासिन्दा लगायत बिभिन्न कामको सिलसिलामा हापुरे आउने नागरिकहरूको स्वास्थ्यमा प्रत्यक्ष रूपमा प्रतिकूल असर पारिरहेको छ ।
गाउँपालिकाको वडा नं ४ र ५ वडा कार्यालय हापुरे बजारमै पर्दछ । गाउँपालिकाको कार्यालय पनि हापुरे बजारमा नै पर्दछ । गाउँपालिकाका र सबै जसो वडाका जनप्रतिनिधिहरू पनि हापुरेमाआवात जावत गरिरहन्छन । प्रमुख राजनीतिक दलका पार्टी कार्यालयहरू स्थानीय तहका कार्यकर्ता देखि लिएर उच्च तहका नेताहरु बिभिन्न पेशागत सङ्घ, संगठनका पदाधिकारीहरूको पनि यस क्षेत्रमा छन् ।
तरपनि सार्वजनिक सरोकारको बिषयमा पनि कसैलाई चासो छैन । वातावरण प्रदूषणबाट स्वास्थ्यमा पर्ने असरप्रति स्थानिय सरकार जनप्रतिनिहरू र राजनीतिक दलहरू पनि सम्बेदनसिल नभएको स्थानीय बासिन्दाले गुनासो गरेका छन ।
संविधानमा पनि स्वस्थ वातावरणमा बाँच्न पाउने कुरालाई मौलिक हक को रूपमा उल्लेख गरिएको छ । नेपालको संविधान २०७२ को धारा ३० को उपधारा १ मा ’प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हक हुनेछ ’ भन्ने कुरा उल्लेख गरिएको छ ।